एमालेको महाधिवेशन सर्ने पक्का - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

एमालेको महाधिवेशन सर्ने पक्का

सरकारले प्रतिनिधि सभा विघटन र मध्यावधि चुनाव घोषणा गरेसँगै साविक सत्तारुढ नेकपा (एमाले) को १० औँ महाधिवेशन सर्ने पक्कापक्की भएको छ।
सरकारको सिफारिसमा राष्ट्रपतिले आगामी कात्तिक २६ र मंसिर ३ गते गर्नेगरी मध्यावधि चुनाव तोकेकी छिन्‌।पार्टीभित्र विवाद चर्किरहँदा अध्यक्ष केपी शर्मा ओली समूहले गत फागुन २८ गते पार्टीको १० औँ महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने एकतर्फी निर्णय लिएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा ओली पक्षमात्रै सहभागी थियो।
कात्तिक र मंसिरमा चुनाव तोकिएकाले त्यतिखेरै पार्टी महाधिवेशन आयोजना हुने सम्भावना क्षीण बनेको नाम उल्लेख नगर्ने शर्तमा एमालेका एक नेताले बताए।
‘बालुवाटारमा हामीमात्रै सहभागी भएर महाधिवेशन मिति घोषणा गर्यौँ, माधव र झलनाथजीहरू अनुपस्थित हुनुहुन्थ्यो,’ ती नेताले भने, ‘महाधिवेशनका लागि तोकिएको मितिमा विवाद छँदैथियो, अब त्यसैको छेकोमा चुनाव गर्ने भनेपछि कांग्रेसकै हालत हुने भयो।’ नेपाली कांग्रेसले पनि १४ औँ महाधिवेशन मिति पटक-पटक सार्दै आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा आयोजना गर्ने जनाएको छ।

सम्बन्धित खवर