ताप्लेजुङ आगलागी - थप अपडेट - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

ताप्लेजुङ आगलागी – थप अपडेट

ताप्लेजुङ – ताप्लेजुङको दोभान बजारमा मङ्गलवार भएको आगलागीका कारण गाँसबास गुमाएका परिवारलाई राहत वितरण गर्न थालिएकाे छ ।

मेरिङदेन गाउँपालिकाले आगलागी पीडितका प्रति परिवारलाई १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको छ । त्यस्तै नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले विभिन्न भाडाकुँडासहितका सामग्री र उद्योग वाणिज्य सङ्घले २० केजी चामल, नुन, तेललगायतका सामग्री वितरण गरेको छ ।

ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा कम्तीमा ४९ घर जलेका छन् । ५६ परिवार पूर्ण र थप २२ परिवार गरी ७८ घर परिवार विस्थापित भएका निमित्त प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिनुभयो ।

मेरिङदेन गाउँपालिका ३ दोभान बजारमा जलेका घरमा सयभन्दा धेरै पसल रहेका थिए । आगोले घर तथा पसलमा क्षति गरेको छ । बजार क्षेत्रमा बीचबीचका घरहरु हटाएर दमकल, स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख बालनरसिंह राणाले बताउनुभयो ।

आगलागीपछि भएको क्षतिको विवरण सङ्कलनको काम सुरु गरिएको प्रहरी प्रमुख राणाले जानकारी दिनुभयो । बस्तीबाट सुरु भएको आगो साक्फारा सामुदायिक वनमा पनि सल्किएको छ ।बिहान नौ बजेतिर स्थानीय भोला पौडेलको घरबाट विद्युत् शर्ट भएर आगलागी सुुरु भएको अनुमान गरिएको गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बुले जानकारी दिनुभयो ।

सम्बन्धित खवर