ऐतिहासिक पालुङ्वा दरबार जीर्ण बन्दै - Sainokhabar
  • शुक्रबार, बैशाख १०, २०७८

ऐतिहासिक पालुङ्वा दरबार जीर्ण बन्दै

रासस / ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा रहेको प्राचीन ऐतिहासिक पालुङ्वा दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सदरमुकाम नजिक फुङ्लिङ नगरपालिका–३ पालुङ्वा चोकमा रहेको पालुङ्वा दरबारको संरक्षणमा तथा प्रवद्धर्नमा राज्यका निकाय तथा सम्बन्धित पक्षबाट पनि समेत चासो नदिइएको स्थानीयवासीको गुनासो छ ।

संरक्षणकै अभावमा १५० वर्षअघि निर्माण भएको सो दरबारको संरचना दिन प्रतिदिन भत्किँदै गएको उनीहरुले बताएका छन् । दरबारको संरक्षण साथै प्रवद्र्धन गरिएमा पर्यटकीय गन्तव्यसमेत बन्नसक्ने उनीहरुको बुझाइ रहेको छ । आजभन्दा १६१ वर्षअघि अर्थात् विसं १९१६ मा धर्मजीत पालुङ्वाले सो दरबार निर्माण गर्नुभएको हो ।

हुकुमी शासन चल्ने त्यसबेलाको समयमा धर्मजीतले आफ्ना भाइभारदारमा शासन चलाउन उक्त दरबार बनाउनुभएको बताइन्छ । हाल झिङ्गटी (घर छाउने इँटा) ले छाएको छाना भत्किँदै गएको छ । छाना भत्किएका कारण वर्षात्मा पानी चुहिएर काठ मक्किन थालेको छ । अहिले सामान्य सरसफाइभन्दा अन्य संरक्षणसम्बन्धी कुनै काम नभएको स्थानीयवासी सूर्यबहादुर पालङ्वाले बताउनुभयो ।

सूर्यबहादुर सोही दरबार निर्माणकर्ता धर्मजीतका पाँचौँ पुस्ताका सन्तति हुनुहुन्छ । उहाँका पिता–पुर्खाले नै दरबारको संरक्षणमा ध्यान नदिँदा संरचना थप जीर्ण बन्दै गएको हो । एउटा जेलघर कोठा (हिरासत), छ ढोका, पाँच झ्याल र १४ वटाभन्दा बढी खोपी रहेको दुईतले दरबारको संरचना धराप बन्दै गएको उहाँको भनाइ छ ।

संरचना धराप बन्दै गएपछि जस्तापाताको छाना र बारबेरासहित छाल्की बनाएर त्यहीँ बस्दै आएको पनि उहाँले बताउनुभयो । उहाँले आफ्नो पुर्खाले बनाएको संरचनालाई पछिल्लो समयमा मात्र ‘पालुङ्वा दरबार’ का रुपमा चर्चा हुन थालेको पनि बताउनुभयो । उहाँका अनुसार पालुङ्वा दरबारको चर्चा हुन थालेपछि भने संरक्षण गर्नुपर्ने प्रसङ्ग उठ्न थालेको हो । पछाडि स्थापना भएको फुरुम्बो पालङ्वा वंश प्रतिष्ठानले दरबारको संरक्षणमा अहिले चासो दिँदै आएको बुझिएको छ । दरबारको स्वामित्व प्रतिष्ठानलाई हुने गरी पहल भइरहेको पनि बताइएको छ ।

प्राचीन इतिहास बोकेको पालुङ्वा दरबारको संरक्षणका लागि चालू आर्थिक वर्ष २०७७/७८ मा भने रकम विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागबाट दरबारको संरक्षण योजनामा रु २० लाख रकम विनियोजन भएको बताइएको छ । विभागबाट विनियोजित सो रकमको कार्यान्वयन गर्न भने अझै कुनै काम शुरु भएको छैन ।

दरबार संरचना भएको जमीन व्यक्तिका नाममा भएकाले बजेट कार्यान्वयनमा समस्या रहेको फुरुम्बो पालङ्वा वंश प्रतिष्ठानका सदस्य हर्कराज पालुङ्वाले बताउनुभयो । दरबार संरक्षणका लागि सरकारी निकायबाट प्राप्त भएको रकम कार्यान्वयन गर्नलाई प्रतिष्ठानका लागि जग्गा उपलब्ध गराउन एक समिति नै निर्माण गरेर लागिपरेको पालुङ्वाले बताउनुभयो । पालुङ्वा समुदायको इतिहास बोकेको दरबारको संरक्षण भएमा आफ्नो समुदायको प्रतिष्ठासँगै ऐतिहासिक स्थलका रुपमा स्थापित हुने उहाँको बुझाइ छ ।

सम्बन्धित खवर