अस्तित्व हराउँदै कटाक्षे हाटबजार - Sainokhabar
  • बिहिबार, बैशाख ०९, २०७८

अस्तित्व हराउँदै कटाक्षे हाटबजार

रासस / कैलालीको जानकी गाउँपालिका–९ को कटाक्षे बजारको उत्साह बेग्लै थियो । पहाडी जिल्ला अछाम, दैलेख, कालिकोट, जुम्लालगायतका ठाउँबाट मानिस हाट भर्नका लागि सो बजार पुग्ने गरेका थिए । तत्कालीन बेलाको हाट ल्याउने कुरा निकै साहसी पनि मानिन्थ्यो । बजारबाट सामान लिएर अछाममा व्यापार गरिन्थ्यो । जुम्लामा कटाक्षेकै नुन पुग्थ्यो ।

समाजसेवी भक्तप्रसाद खनाल सयौँ किलोमिटरको पैदलयात्रा, हप्ता दिन लगाएर पिठ्युँमा सामानको भारी बोक्नुपर्ने, जङ्गलमा बाँस बस्नुपर्ने, त्यही जङ्गलमै खाना खानुपर्नेजस्ता कष्टकर यात्राका बारेमा अहिलेको पुस्तालाई सुनाए कहानीजस्तो लाग्ने गरेको बताउनुहुन्छ । “मैले राजापुर, कटाक्षेबाट धेरैपटक हाट लाएको छु । त्यहाँबाट सामान ल्याएर अछाममा व्यापार गरिन्थ्यो ।” उहाँले भन्नुभयो, “अहिलेकालाई त्यो कुरा सुनाउँदा कहानी सुनाएजस्तो लाग्छ ।” उहाँले गाउँभरिका मानिस एकैपटक हाट ल्याउन जाँदा रमाइलो पनि हुने र बाटो कटेको पनि थाहै नभई हाट ल्याएर घर पुग्ने गरेको बताउनुहुन्छ ।

अहिले पनि बूढापाका कटाक्षे, राजापुरको हाट बोकेको कुरा सुनाउँदा अहिलेको पुस्तालाई कहानीजस्तो लाग्ने गरेको छ । पहाडी जिल्लाबाट एक हप्ताभन्दा लामो पैदलयात्रासहित मानिस कटाक्षे बजार पुग्ने गर्थे । तत्कालीन बेला कटाक्षे बजारको मुहार चम्किलो ताराजस्तै भएको विसं २०२९ देखि बस्दै आएका स्थानीयवासी दलबहादुर रावल बताउनुहुन्छ । उहाँले विसं २०३२ मा समिति गठन भई बजार व्यवस्थापन गर्नुपर्ने भन्दै बजार बसेको भए पनि विसं २०५० नपुग्दै बजार तितरवितर भएको बताउनुभयो ।

“कटाक्षे बजारको अवस्था यस्तो होला भन्ने कसैले कल्पना पनि गरेका थिएनन् । दैनिक त्यो बेलाकै लाखौँको व्यापार कटाक्षेमा हुन्थ्यो”, रावलले भन्नुभयो, “बजारभरि पहाडबाट ल्याएको घ्यूको सुगन्ध आउँथ्यो । मान्छेको भीडभाड मात्र देखिन्थ्यो । कटाक्षेबाट हटेरुले नून, मट्टितेल, फलामलगायतका सामान लिएर जाने गर्थे ।” उहाँले कैलालीको पूर्वी क्षेत्रमा रहेका अधिकांश व्यापारीलाई कटाक्षे बजारले नै स्थापित गरेको बताउनुभयो । “अहिले बजार उजाड भइसकेको छ । एक/दुई पसलबाहेक केही छैन”, रावलले भन्नुभयो, “अहिले बजार टुहुरो बनेको छ । कटाक्षेबाट व्यापारीले चाहिने जति पैसा कामाए । अहिले कटाक्षे बिर्सेर गए ।”

तत्कालीन समयमा कटाक्षे बजारमा एक हजारभन्दा बढी पसल रहेको स्थानीयवासी बताउँछन् । दशभन्दा बढी गल्लीमा पसल थिए । बजार क्षेत्रमा मानिसको चहलपहल हुन्थ्यो भने छेउछाउमा जुम्लीहरुका भेडाको बथान हुने गरेको स्थानीय व्यापारी रञ्जन थापा बताउनुहुन्छ । जुम्ला, कालिकोटलगायतका जिल्लाबाट सामान ढुवानीका लागि जुम्लीले भेडाको प्रयोग गर्थे । छेउछाउका जङ्गल सेता भेडाले सेताम्य हुन्थे । विसं २०२८ मा अछामको दर्नाबाट बसाइँ सरी कटाक्षे पुग्नुभएका थापाको परिवारले त्यहाँ होटल व्यवसाय शुरु गरेको जानकारी दिनुभयो । “हामी पनि व्यापार गर्ने उद्देश्यले कटाक्षे आएका थियाँै । पैसा पनि कमाइयो तर लगानी पनि यतै गरियो”, उहाँले भन्नुभयो, “अहिले चाहेर पनि छाडेर जाने अवस्था छैन । जे जति सम्पत्ति जोडियो कटाक्षेमै जोडियो । अहिले बिक्री गर्न चाहेर पनि बिक्री हुने अवस्था छैन ।”

कटाक्षे बजार स्थापनाका लागि तत्कालीन समयमा टीकाराम भाट, गगनसिंह थापा, रङ्गनाथ ढकाल, टेकबहादुर थापाको भूमिका महत्वपूर्ण रहेको स्थानीयवासी बताउँछन् । साना–साना बजारलाई एकै ठाउँमा ल्याएर कटाक्षे बजार बनेको थियो । पूर्व–पश्चिम राजमार्ग बनी नसकेको बेला कटाक्षेको भविष्य सबैले उज्ज्वल देखेका थिए । कर्णाली चिसापानीमा पुल निर्माण बनेपछि कटाक्षेका व्यापारी राजमार्ग केन्द्रित हुन थाले । कटाक्षे बजार सबैका लागि बिरानो लाग्न थालेपछि अहिले बजार उजाडिन पुगेको स्थानीय गङ्गाराम भाट बताउनुहुन्छ । “पहिले मानिसको आवागमन चापले एकातर्फ चोरी, डकैतीको त्रास बढाउँथ्यो भने अहिले आँगनसँगै जङ्गल जोडिँदा जङ्गली जनावरको त्रास बढ्नै गएको छ”, उहाँले भन्नुभयो, “अझै पनि विकास भयो भने कटाक्षेको मुहार फेरिन्छ कि ? भन्ने आशामा त्यही व्यापार कुरेर बसिरहेका छौँ ।”

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत निर्माण भइरहेको विद्युत्गृह कटाक्षे बजारबाट करिब एक किलोमीटर टाढा छ । त्यस्तै सती भन्सारबाट चिसापानी हुँदै सुर्खेत अछाम जोड्ने सडक निर्माण हुन सके बजारको चहलपहल बढ्न सक्ने भाटले बताउनुभयो । कटाक्षे बजारमै रहेको प्रहरी चौकी बजार बिस्थापित भएसँगै लम्की सरेको छ भने त्यही भएको हुलाक कार्यालय जानकी गाउँपालिका–८ को पथरैयामा सरेको छ । त्यसबेला स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको शाखा पनि अहिले लम्की स्थानान्तरण भएको स्थानीय व्यापारीहरु बताउँछन् ।

विसं २०४७ देखि किराना व्यवसाय गर्दै आएका सूर्यप्रसाद शर्मा भने उधारोकै कारण त्यहाँबाट स्थानान्तरण हुन नसकेको बताउनुहुन्छ । “विसं २०४७ मा मैले व्यवसाय शुरु गरेँ, २०५० मा बजार खाली हुन थाल्यो”, उहाँले भन्नुभयो, “बजार खाली हुँदा मेरो रु एक लाखजति उधारो उठ्न बाँकी थियो । त्यही उधारो उठाउने आसमा बसियो । अहिले त्यो उधारो रु ३० देखि ४० लाखभन्दा बढी पुगिसकेको छ । अब उठेर जाने कुनै ठाउँ पनि छैन ।” केही आशाहरु जीवितै रहँदा आफूहरु त्यहाँ बस्न बाध्य भएको बताउँदै अब कटाक्षेबाट अन्यत्र सर्ने कुनै योजना नभएको उहाँ बताउनुहुन्छ । त्यहाँ भएका अधिकांश घरहरुसमेत उठिसकेका छन । केहीले सस्तोमा त्यहीका स्थानीयवासीलाई घर जग्गा बिक्री पनि गरेका छन् । कटाक्षे बजार विस्थापित हुनुको अर्को कारण विसं २०४० को बाढी पनि भएको स्थानीयवासीको भनाइ छ । विसं २०४० को बाढीले केही व्यवसायीलाई विस्थापित गर्नुका साथै कयौँका सपना त्यही बाढीले बगाएर लगेको स्थानीयवासी बताउँदछन् ।

त्यहाँ स्थापित भएर बसेकाहरु टीकापुर, लम्की, चिसापानी, नेपाललगञ्जलगायतका क्षेत्रमा बसाइँ सरी जाँदा अहिले कटाक्षे बजार सुनसान बनेको छ । पहिले त्यहाँ लाखौँको व्यापार गर्ने व्यापारीलाई अहिले एक गिलास चिया बिक्री गर्न पनि मुस्किल हुने गरेको छ । कटाक्षे हाटबजारको तत्कालीन अवस्थाका बारेमा स्व गगनसिंह थापाको ‘कर्णालीको छेउछाउ’ र बुद्धिसागरको ‘कर्णाली बुलुज’मा उपन्यासमा समेत उल्लेख गरिएको छ ।

सम्बन्धित खवर