रासस / नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीले आफ्नो स्वर्गिय बुबा गेगनाथ नहर्कीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ । अध्यक्ष नहर्कीले शनिबार एक कार्यक्रममा ‘गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कार’ अक्षय कोष स्थापना गर्न रकम हस्तान्तरण गर्नुभएको हो । अक्षय कोषका लागि रु ५१ हजार १५१ नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेलाई अध्यक्ष नहर्की, नहर्कीकी धर्मपत्नी प्रभा नहर्की, दिदी सान्नानी पाण्डे र भाई दिनेशराज नहर्कीले प्रदान गर्नुभयो ।

प्रवक्ता महेश्वर भट्टराईले पार्टीको कुरालाई चलायमान गराउन प्रेस युनियनकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गरेको र भावी दिनमा पनि सशक्तरूपमा अघि बढ्न आग्रह गर्नुभयो । सो अवसरमा नेपाल प्रेस युनियनको गतिविधिका बारेमा समीक्षा गरिएको थियो । समीक्षा कार्यक्रममा पश्चिमाञ्चल संयोजक प्रदीप काफ्ले, पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारी, निवर्तमान अध्यक्ष ओमकार आचार्य, महिला विकास सदस्य सोनी शर्मा, पार्षद्हरु वसन्त कँडेल, मदन वाग्ले, शङ्करराज नहर्की, शैलेश मिश्र, सल्लाहकार गोरा मिया, सदस्य आशबहादुर घिमिरेलगायतले एकता नै बल भएकाले एकताबद्ध भएर अघि बढ्न जरुरी रहेको कुरामा जोड दिनुभएको थियो ।