खेल गतिविधि शुरु भएसँगै नवौँ राष्ट्रिय खेलकूदको तयारी - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

खेल गतिविधि शुरु भएसँगै नवौँ राष्ट्रिय खेलकूदको तयारी

कृष्ण दवाडी
पोखरा / कोरोनाको कहर नहुँदो हो त यति बेला गण्डकी प्रदेशमा राष्ट्रिय खेलकूदको भव्य तयारी भइरहेको हुन्थ्यो । खेल र खेलाडीको महाकुम्भ मेला राष्ट्रिय खेलकूदको चर्चा देशभरि चुलिन्थ्यो । तर कोरोनाले गर्दा खेलकूद क्षेत्र लामो समय ठप्प रहेपछि प्रतियोगिताको तयारी हुन पाएन र यस वर्ष फागुन अन्तिम साता तय गरिएको राष्ट्रिय खेलकूद प्रभावित बन्यो ।

विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय प्रतियोगिताको समापन समारोहमा गण्डकीको टोलीले विसं २०७७ फागुनमा नवौँ संस्करण गर्ने जिम्मेवारीसहित झण्डा बोकेर आए पनि कोरोनाकै कारण निर्धारित मितिमा राष्ट्रिय खेलकूद नहुने निश्चित भएको छ । कोरोनाको असर हरेक दुई÷दुई वर्षमा आयोजना हुने प्रतियोगितामा परेकोे छ । राष्ट्रिय खेलकूद पूर्व निर्धारित मितिमा सञ्चालन हुन सक्ने अवस्था नरहेपछि नेपाली खेलकूदको सर्वोच्च संस्था राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले आगामी विसं २०७८ मा राष्ट्रिय खेलकूद सञ्चालन गर्ने योजना बनाएको छ ।

प्रतियोगिताको मिति अहिलेसम्म नतोकिए पनि अर्को वर्ष प्रतियोगिता हुने निश्चित भएकाले ‘होस्ट’ प्रदेश गण्डकीले कोरोनाको प्रभाव र त्रास कम हुँदै गएपछि तयारी शुरु गरेको छ । अहिलेदेखि नै प्रतियोगिता तयारी शुरु गरेर यहाँ हुने राष्ट्रिय खेलकूद भव्य बनाउने लक्ष्य गण्डकी प्रदेशको छ । पछिल्लो समय कोरोना सङ्क्रमणको प्रभाव कम भएसँगै पोखरासहित देशभर खेलकूद गतिविधि चलायमान हुन थालेका छन् । खेलाडी प्रशिक्षण, पूर्वाधार निर्माण तथा खेलकूदका केही प्रतियोगिता भइरहेकाले खेलकूद माहोल शुरु भएको छ । राजधानी बाहिरसमेत फुटबल, भलिबल खेलका प्रतियोगिताका मिति तय गरिएका छन् ।

खेल पूर्वाधार निर्माण, स्तरोन्नतिसहित खेलसंग आवद्ध सङ्घहरुले प्रतियोगिता आयोजना, खेलाडी छनोट र प्रशिक्षणको थालेसँगै राष्ट्रिय खेलकूदको तयारी शुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले कोरोनाको त्रास कम हुँदै गएको र खेलकूदको चहलपहल बढ्न शुरु भएसँगैै राष्ट्रिय खेलकूदका लागि तयारी शुरु गरिएको बताउनुभयो ।
प्रतियोगिता तयारीका लागि हाल निर्माणाधीन खेल पूर्वाधार सम्पन्न गर्ने, आवश्यक नयाँ पूर्वाधार तयार गर्ने, भइरहेकाको स्तरोन्नति तथा प्रतियोगिताका लागि क्षमतावान् खेलाडीको खोजी, नयाँ खेलाडी उत्पादन र उनीहरूलाई प्रशिक्षण दिने गरी योजना निर्माण गरिएको उहाँले बताउनुभयो ।

आयोजक प्रदेश भएकाले समेत प्रतियोगिताका लागि क्षमतावान् खेलाडी तयारी गरी राम्रो नतिजा ल्याउनुपर्ने दबाब गण्डकीलाई छ । प्रतियोगिताको अबको पहिलो प्राथमिकता राम्रा खेलाडी उत्पादन र उनीहरूलाई प्रतियोगिताका लागि तयार बनाउनु छ । “पूर्वाधारका कारणले रोकिने अवस्था नभए पनि खेलकूद गतिविधि लामो समय ठप्प रहेकाले फागुनमा आयोजना हुने अवस्था रहेन”, कार्यालय प्रमुख योगीले भन्नुभयो, “आगामी वर्ष राष्ट्रिय खेलकूद हुने निश्चित रहेकाले सो प्रतियोगितालाई भव्य बनाउन पूर्वाधार, खेलाडी प्रशिक्षणलगायत पूर्वतयारीका काम अहिलेबाट नै शुरु गरेका छौँ ।”

राष्ट्रिय खेलकूदमा ३५ खेल विधा समावेश हुनेछन् । प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गर्ने तयारी आयोजकको छ । फुटबल, क्रिकेट, भलिबल, ह्यान्डबललगायत मुख्य मुख्य खेलसहित अधिकांश खेल प्रदेशको राजधानी शहर पोखरामा सञ्चालन हुनेछन् । खेल पूर्वाधारका हिसाबले गण्डकी अब्बल प्रदेश छ । यसअघिका संस्करणमा जस्तो रातारात पूर्वाधार बनाएर प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता यहाँ छैन तर एक÷दुई खेलका पूर्वाधारका बारेमा भने अझै अन्योल छ ।

राष्ट्रिय खेलकूदको मुख्य आयोजनास्थल पोखरा रङ्गशालाभित्र ‘इन्डोर’ र ‘आउटडोर’ खेलका पूर्वाधार तयारी छन् । फुटबलको अन्तर्राष्ट्रिस्तरको रङ्गशाला, सुविधासम्पन्न बहुउद्देश्यीय कभर्डहल, ब्याडमिन्टन कोर्ट, भलिबल कोर्ट, टेनिस कोर्ट, क्रिकेट मैदानलगायत अधिकांश खेलका पूर्वाधार तयारी अवस्थामा छन् भने केहीको मर्मत र सुधार गर्नुपर्ने अवस्था छ ।

नवाँैका लागि रङ्गशालाभित्र ‘सुटिङ रेन्ज’, पौडी पोखरी, हक्कीबाहेकका अन्य पूर्वाधार तयार छन्, केहीको स्तरोन्नति आवश्यक छ । बन्न बाँकी खेलका पूर्वाधार निर्माण गर्ने योजना रहे पनि हालसम्म काम अघि बढेको छैन । प्रदेशका सबै जिल्लामा कम्तीमा एक खेल खेलाउने योजनापछि जिल्लामा रहेका खेल पूर्वाधारको अवस्थाबारे केही दिनमा अनुगमनमा जाने तयारीमा रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकूदका कार्यालय प्रमुख योगीले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय खेलकूदका लागि पूर्वाधार नभएको सुटिङ र स्वीमिङ मात्र हो, अन्यको पूर्वाधारको समस्या छैन, केहीको सुधार गर्नुपर्नेछ, सबै जिल्लामा खेल सञ्चालन गर्ने भएपछि जिल्लामा रहेका संरचना खेलका लागि उपयुक्त छ÷छैन भनेर अनुगमनमा जाने तयारी गरेका छौँ, पोखराबाहिर पनि कुनै जिल्लामा तीन÷चारवटा खेल सञ्चालन गर्ने योजना छ ।”

राखेपबाट चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट जिल्लाहरूमा खेल पूर्वाधार निर्माण तथा स्तरोन्नति शुरु भएकामा त्यसबाट अपुग हुने भएकाले प्रतियोगिताका लागि रु ४६ करोड बजेट माग गरिएको प्रमुख योगीले जानकारी दिनुभयो । प्रतियोगिता आयोजनाको खर्च राखेपको भए पनि निर्माणाधीन पूर्वाधार सम्पन्न गर्न राखेपसँग रु ४१ करोड तथा गण्डकी प्रदेश सरकारसँग प्रदेशको टोली तयार र खेल प्रशिक्षकका लागि रु पाँच करोड बजेट माग गरिएको जनाइएको छ । भलिबल, एथलेटिक्स, कराँते, शारीरिक सुुगठन, तेक्वान्दो, उसु गरी नौ खेलका प्रशिक्षक रहे पनि बाँकी १६ वटा खेलका लागि प्रशिक्षक तत्काल आवश्यक रहेको समितिले जनाएको छ ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले कोरोनाका कारण यस वर्ष राष्ट्रिय खेलकूदमा असर परे पनि आगामी वर्ष हुने निश्चित रहेकाले पूर्वाधार नभएका खेलका समेत पूर्वाधार निर्माण तयारी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वाधार नभएका खेलका पूर्वाधारसमेत यस अवधिमा निर्माण गरेर प्रतियोगिता ऐतिहासिक बनाउन राखेप प्रतिबद्ध छ । त्यसका लागि हामीले तयारी शुरु गरिसकेका छौँ ।”

राष्ट्रिय खेलकूदलाई लक्ष्य गरी खेलाडी तयार गर्न खेल सङ्घ तथा विभिन्न क्लबले पनि अग्रसरता देखाएका छन् । जिल्ला भलिबल सङ्घले आसन्न राष्ट्रिय खेलकूदलाई लक्ष्य गरी अन्तर ‘मुख्यमन्त्री कप अन्तर जिल्ला भलिबल’ प्रतियोगिताको तयारी गरेको छ भने टाइगर ग्रुपले माघ २७ देखि राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्दैछ । यही फागुन ४ देखि ८ गतेसम्म पोखरा रङ्गशालाभित्रको भलिबल कोर्टमा आयोजना हुने मुख्यमन्त्री कप प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधित्व हुनेछ ।

सङ्घ अध्यक्ष भीमप्रसाद पराजुलीले मुख्यमन्त्री कप भलिबलले राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोटमा मद्दत पुग्ने र खेलाडीलाई मानसिकरुपमा तयार पार्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगितालार्ई लक्ष्य गरी गाउँगाउँमा लुकेका प्रतिभा प्रस्फुटन गरी प्रतिभावान् भलिबल खेलाडी उत्पादन गर्न प्रतियोगिता गर्न लागेका हौँ ।” खेलाडीहरूलाई खेल सामग्री, आवश्यक ‘डाइट’, आधारभूत स्वास्थ्य सुविधाको प्रबन्ध नभएकाले आधारभूत आवश्यकता पूरा गरी राष्ट्रिय प्रतियोगिता खेल्ने वातावरण तयार गर्न राखेप तथा खेलकूदमा काम गर्ने संस्थाहरुले ध्यान दिनुपर्ने पराजुलीको भनाइ छ ।

रासस

सम्बन्धित खवर