सिन्धुलीमा प्रचण्ड–नेपाल र ओली समूहबीच झडप - Sainokhabar
  • शनिबार, जेठ २९, २०७८

सिन्धुलीमा प्रचण्ड–नेपाल र ओली समूहबीच झडप

साइनो समाचारदाता
सिन्धली / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समूह र ओली समूहबीच सिन्धुलीमा झडप भएको छ । बिहीबार प्रचण्ड – नेपाल समूहले आह्वान गरेको बन्दमा सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित शान्तिनगरचोकमा दुई समूहबीच झडप भएको हो ।

प्रधानमन्त्री केपी ओली समूहका केन्द्रीय सदस्य शान्तिमान कार्कीलगायतले बन्दको उल्लंघन गरेको भन्दै प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले रोक्न खोज्दा झडप भएको हो । ओली समूहका नेता कार्यकर्ता मोटरसाइकलमा कमलामाई नगरपालिका ६, २ नम्बर बजारदेखि ढुङ्गेबास जाँदै गर्दा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज कमलजंग राईलगायतका नेता कार्यकर्ताबीच शान्निगरमा झडप भएको हो ।

तर, नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष राजन दाहालले झडप नभएको बरु बन्दको अबज्ञा गर्नेहरुलाई संझाई बुझाई गरिएको बताए । उता झडपमा संलग्न नेता कार्यकर्तालाई तत्काल पक्राउ गरी कारबाही गर्न ओली समूहले माग गरेको छ । बन्दका कारण सिन्धुली बजार, विपी राजमार्ग, मदन भण्डारी लोकमार्ग, मध्यपहाडी लोकमार्ग पूर्णरुपमा ठप्प छन् । केहीमात्रमा विद्यालय संचालन भएपनि अधिकांश विद्यालय बन्द गरिएको छ ।

बन्द सफल बनाउन भन्दै प्रचण्डनेपाल समूहका गणेश पहाडि, राजन दाहाल, कमलजंग राईलगायत सयौं नेता कार्यकर्ता बिहानैदेखि सडकमा उत्रिएका छन् । थप संभावित झडपलाई मध्यनजर गर्दै सिन्धुली सदरमुकामलगायत राजमार्गमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सिन्धुलीका प्रहरी प्रवक्ता श्यामकुमार खत्रीले बताए ।

 

अन्नपूर्ण पोष्टबाट

सम्बन्धित खवर