रामेछापमा आमहड्तालको नयाँशैली : बन्दकर्ताले गरे बजार सरसफाई - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

रामेछापमा आमहड्तालको नयाँशैली : बन्दकर्ताले गरे बजार सरसफाई

साइनो समाचारदाता
मन्थली / आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड(माधव समूहले आमहड्ताल सफल बनाउन मन्थलीमा नयाँ शैली अपनाएका छन् । प्रचण्ड(नेपाल समूहले सरकारको विरोधमा आम हड्ताल सफल पार्न आग्रह गर्दै बिहीबार बिहान मन्थली बजारको सडक सफाई गरेका हुन् । प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधिन भएको अवस्थामा सरकारले संवैधानिक नियुक्ति र जिम्मेवारी दिएपछि यो समूह आन्दोलित बनेको छ ।

नेकपाका रामेछाप जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य देवशंकर पौडेल, सह ईञ्चार्ज श्यामकुमार श्रेष्ठ, जिल्ला अध्यक्ष मैन कुरमार मोक्तान, पूर्वसांसद तारानाराण श्रेष्ठसहितका जिल्लाका शीर्ष नेता तथा कार्यकर्ताहरुले बजार सरसफाई गरेका हुन् । उनीहरुले झाडु, कुचो लिएर सडक सफाईमा लागेपछि स्थानीयले पनि सहयोग गरेका थिए। बन्दकर्ताहरुले बजार सरसफाई पश्चात सडकको बीचमा बसेर नाचगान र प्रदर्शन गरिरहेका छन् ।

प्रदेश १ को राजधानी विराटनगरमा पसल सञ्चालन गरेको भन्दै बन्द गर्न पुगेको दाहाल–नेपाल समूहका कार्यकर्ताले चियानास्ता पसलमा काम गरिरहेका माथि उम्लिइरहेको तातो तेल खन्यादिएका छन् । दाहाल–नेपाल समूहका नाममा घटाइएको क्रुरतापूर्ण घटनामा परेर दुई महिला घाइते भएका छन् । भने बन्दको अवज्ञा गरेको भन्दै बिहानै काठमाडौं गोंगबुमा ट्याक्सी जलाइएको छ । तर रामेछापमा बन्दले जनजीवन प्रभावित बनेपनि सरसफाई गरेर रचनात्मक रुपमा विरोध गरिएकोमा प्रशंसा गरिएको छ।

जिल्लामा आज सवारी साधन ठप्प हुँदा सरकारी कार्यालयहरु खुलेपनि बन्दका कारण सेवाग्राहीको उपस्थिति न्यून रहेको छ । बजारका पसलहरु बन्द रहेका छन् । बजारका मुख्य स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ। पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपाको एउटा समूह सडकमा पुगेको छ । अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले संसद विघटनको विरोधमा सडक आन्दोलन चर्काएको हो।

अन्नपूर्ण पोष्टबाट

सम्बन्धित खवर