रासस / नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप लगाउन शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखी दुई दिनभित्र कोभिड खोप दिइने बताउनुभयो ।

प्रजिअ ढुण्डीप्रसाद निरौलाले करागारका मानिसको स्वास्थ्य अवस्था बुझेर मात्र खोप लगाउन अनुरोध गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट खोपका लागि ललितपुर खटिनुभएका डा प्रकाश बुढाथोकीले खोप लगाएपछि देखिने असरबाट नडराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “खोप लगाएको आठदेखि १२ घण्टामा देखिने असरलाई सकारात्मक मान्नुपर्छ, जो व्यक्तिमा खोपको असर देखिन्छ, उहाँहरुलाई खोपले काम गरेको बुझिन्छ ।” कोभिड खोप लगाउँदा देखिएको असर कम गर्न प्यारासिटामोल प्रयोग गर्न सकिने डा बुढाथोकीले सुझाव दिनुभयो ।