रासस
विराटनगर / प्रदेश नं १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यको शुरुआत गर्नुभएको । कोशी अस्पताल विराटनगका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दास र वरिष्ठ फिजिसियन चिकित्सक डा दीपक सिग्देललाई खोप लगाएर शुरुवात गरिएको छ ।

मन्त्री कार्कीले खोप कार्यक्रमको उद्घाटन गर्दै जनताको स्वास्थ्य सुरक्षाप्रति सरकार सचेत रहेको छ भन्दै आगामी केही दिनभित्र थप जनताका लागि खोप उपलब्ध गराउने विश्वास दिलाउनुभयो । उहाँले प्रदेश सरकारले कोभिड नियन्त्रणमा गरेका कार्य अनुकरणीय रहेकामा अन्य प्रदेशले अनुशरण गरेको स्मरण गर्नुभयो । उहाँले कोरोनाबाट प्रदेशमा अत्यन्त कम मानवीय क्षति कम गर्नका लागि यस क्षेत्रका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको योगदानको प्रशंसा गर्नुभयो ।
मन्त्री कार्कीले कोभिडविरुद्ध विजयी प्राप्त गर्ने कामको शुरुवात भएको चर्चा गर्दै जनताको स्वास्थ्य समाधानका लागि तीनै तहको सरकार सक्षम रहेको बताउनुभयो । कोभिड विरुद्धको खोप लगाइसकेपछि कोशी अस्पतालका वरिष्ठ फिजिसिजन डा दीपक सिग्देलले खोप सुरक्षित रहेकाले डराउनु नपर्ने बताउनुभयो । उहाँले कोभिसिल्ड ७० प्रतिशत प्रभावकारी रहेको बताउनुभयो । पहिलो खोप लगाएको २८ दिनपछि दोस्रो खोप लगाए पाँच महिनासम्म सुरक्षित रहन सकिने उहाँले जानकारी दिनुभयो । प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाइकर्मीसहित ३५ हजार ५७६ लाई खोप लगाइँदैछ ।