रासस मनाङ / यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमि जस्ता भएका छन् । हिउँले ढाकिएका जमीनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्नाले बाली फस्टाउने यहाँका किसान बताउँछन् ।

हिमाली जिल्ला मनाङमा गत वर्ष मङ्सिर पहिलो साता भारी हिमपात भएको थियो । बाक्लो हिउँ परेकाले धेरै समयसम्म हिमाल सेता देखिएका थिए । यस वर्ष खास याममा समेत हिमपात भएको छैन । हिमपातमा कमी आउन थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।
पिसाङका रामबहादुर गुरुङ जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको बताउनुहुन्छ । उहाँका अनुसार जाडो याममा हिउँले डाँडाहरू सबैतिर सेताम्मे देखिन्थ्यो, हिजोआज हिमालमा समेत हिउँ छैन, सेता हिमाल काला हुँदै गएका छन् ।
पहिले सात फिटसम्म हिउँ परे पनि हिजोआज एक फिट हिउँ पनि नपरेको रामबहादुर बताउनुहुन्छ । मनाङका अन्नपूर्ण, गङ्गापूर्ण, लमजुङलगायत हिमाल आधाभन्दा बढी भाग कालापत्थरमा रूपान्तरण भइसकेका छन् । हिउँ पर्न छाडेपछि यहाँको तापक्रमसमेत बढ्न थालेको छ । यहाँका हिमनदी पग्लने क्रम बढेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा गत पुस २१ मा केही मात्रामा हिमपात भए पनि तल्लो क्षेत्रमा भने अहिलेसम्म भएको छैन । हिमपात नहुँदा चिस्यान नहुने आलु, उवा र फापर छर्ने ठाउँमा जोत्नसमेत कठिन भएको चामे गाउँपालिका–२ कोतोका किसान विनोद लामाले बताउनुभयो ।
उहाँका अनुसार गत वर्ष मङ्सिर २८ देखि नै माथिल्लो र तल्लो क्षेत्रमा भारी हिमपात भएको थियो । “हिउँ परेमा खेती गर्न सहज हुन्छ । उत्पादन पनि बढ्छ । हिउँले गर्दा, स्याउ, आलु, गहुँ, फापरलगायत बालीलाई फाइदा पुग्छ । किसानले सिँचाइको छुट्टै व्यवस्था गर्नुपर्दैैन”, उहाँले भन्नुभयो । हिउँ पर्न छाडेपछि जिल्लाका लेक र खर्कमा पाइने यार्सागुम्बा, नीरमसी, जटामसी, वनलसुन, कुट्कीलगायत बहुमूल्य जडीबुटी उत्पादनमा समेत कमी आउन थालेको छ । याममा परेको हिउँले बाली सप्रने भए पनि माघ लागिसक्दा समेत हिउँ नपर्दा किसान चिन्तित भएका हुन् ।