रासस
मोरङ / ‘योग गरौँ डटेर, कोभिड जान्छ हटेर’ प्रमुख नाराका साथ छैटौँ राष्ट्रिय योग दिवस–२०७७ आज यहाँ मनाइएको छ । मानिसको जीवन शैलीलाई व्यवस्थापन गर्न महत्वपूर्ण योग नियमित गर्नुपर्ने योगगुरुहरु बताउँछन् । योगले मानिसलाई निरोग मात्र नभई दीर्घजीवी पनि बनाउने योग गुरुको भनाइ छ । सम्पूर्ण ब्रह्माण्डको ऊर्जा पृथ्वीतिर केन्द्रित भएका समयमा योग गर्न सकेमा मानिसको जीवन पद्धतिमा परिवर्तन आउने र यसका माध्यमबाट धेरै कुरामा सुधार आउने बताइएको छ ।

सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख भिलानन्द यादवले व्यस्त मानिसका लागि योग निकै लाभदायी हुने बताउनुभयो । जिल्ला आयुर्वेद केन्द्र मोरङका प्रमुख नेत्रबहादुर बस्नेतले योग र आयुर्वेद आपसमा जोडिएको र योगबाट धेरै बिरामीको उपचार हुने जानकारी दिनुभयो । जिल्ला आयुर्वेद केन्द्र सुनसरीका डा मुकेशकुमार सिंहले योगले क्रोध शान्त बनाउने बताउनुभयो । योगाभ्यासमा सहभागी चन्द्रकिशोर विश्वास र विनिता रेग्मीले योग गर्दा शुरुमा अप्ठ्यारो भए पनि पछि सहज हुने र यसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने अनुभव सुनाउनुभयोे ।