रासस / कलाकार मिलन शेरचनले नयाँपुस्तालाई शालिग्रामको महत्व चिनाउनका लागि कलात्मक रूपबाट कृत्रिम शालिग्राम तयार गर्नुभएको छ । जापानी भाषा हानानो ओशिबाना अर्थात् झारपातबाट विभिन्न चित्राकृति बनाउँदै आउनुभएकी शेरचनले पछिल्लो समय शालिग्राम महत्वलाई कलामा उतार्नुभएको हो ।

हिन्दू धर्मशास्त्रमा शालिग्राम धार्मिक र आध्यात्मिक गुण रहने भएकाले विशेष खालको शिलाको रूपमा लिइन्छ । यो मुक्तिनाथ क्षेत्रअन्तर्गत कालिगण्डकीमा पाइने विशेष खालको शिला हो । पौराणिक धर्मग्रन्थमा उल्लेख भएअनुसार कुनै समय देवता र राक्षसबीच समुद्र मन्थन हुँदा समुद्रमा १४ रत्न प्राप्त भएका थिए, तीमध्ये एक शालिग्राम गङ्गाजीमा पाइने विशेष रत्न हो । शालिकग्राम स्पर्श गरेर वा बगेको जल नियमित सेवनले पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । सनातन वैदिक हिन्दू धर्मावलम्बीले शालिग्राम घरमा राखेर पूजा गर्दै आएको पाइन्छ ।
जापानी कला ‘हानानो ओशिबाना’ अर्थात् झारपातबाट कलात्मक चित्र बनाउने कलाकारका रूपमा परिचित शेरचनले धर्म, संस्कृतिका विभिन्न पक्षलाई कलामा उतार्दै आउनुभएको छ । उहाँका कलाले दर्जन बढी सम्मान तथा पुरस्कारसमेत पाइसकेको छ । पछिल्लो समय शेरचनले तयार गरेको लिपुलेकको कलाकृतिले राष्ट्रिय ललितकला पुरस्कारसमेत प्राप्त गर्न सफल भएको थियो ।