‘मन्त्रालयका कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने’ - Sainokhabar
  • मङ्गलबार, असोज ०५, २०७८

‘मन्त्रालयका कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने’

साइनो समाचारदाता । खानेपानीमन्त्री मणिचन्द्र थापाले आफू मन्त्रालयमा रहँदासम्म कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ । मन्त्रालयमा कुनै पनि समस्या आउँदा दबाब नगरी समन्वयमार्फत समाधान खोजिने उहाँको भनाइ छ ।

उहाँले मन्त्रालयलाई नेतृत्व दिने जिम्मेवारी कर्मचारीको नै भएको उल्लेख गर्नुभयो । राजनीतिक नेतृत्व आउने/जाने भए पनि कर्मचारीले स्थायीरुपमा काम गर्ने उहाँको भनाइ छ । आफू लामो राजनीतिक जीवनपछि पहिलोपटक मन्त्रीका रुपमा जिम्मेवारीमा आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको हाम्रो मुख्य जिम्मेवारी निर्वाचन गराउने नै हो ।”मन्त्रालयका सचिव माधव बेल्वासेले खानेपानी मन्त्रालय संरचनागतरुपमा सानो भए पनि मौलिक हकमा उल्लेख भएका अधिकारको कार्यान्वयन गराउने जिम्मेवारी भएको बताउनुभयो । खानेपानी र स्वच्छ वातावरणको हक कार्यान्वयन गराउने जिम्मेवारी भए पनि अहिले धेरै ठाउँमा पानीको स्रोत सुक्दै जानु चुनौतीका रुपमा देखा परेको उहाँको भनाइ छ ।

मन्त्रालयको जिम्मेवारीका रुपमा रहेको ढल व्यवस्थापनमा समन्वयको समस्या रहेको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “समन्वयकै अभावमा कतिपय स्थानमा ढल निर्माण भइरहेकामा समेत त्यो रोकिएको छ ।” मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले मन्त्रालयको जिम्मेवारी ठूलो भए पनि संरचना र जनशक्ति कम रहेको बताउनुभयो । खानेपानी एउटा निकाय मात्रै संलग्न भए पनि ढल निर्माण, मर्मत र व्यवस्थापनको जिम्मेवारी धेरै निकायले लिएकाले समस्या आउने गरेको उहाँको भनाइ छ ।

मन्त्री थापाले आज नै खानेपानी तथा सरसफाइसम्बन्धीको गुरुयोजना (वास प्लान) प्रदेश सरकार र स्थानीय तहसँगको समन्वयमा अघि बढाउनेसम्बन्धी फाइलमा हस्ताक्षर गर्नुभएको छ । आज मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उहाँले मन्त्रालयले यसअघि कतिपय प्रदेश र पालिकासँगको समन्वयमा ‘वास प्लान’ शुरु गरेकामा बाँकी पालिकामा समेत अघि बढाउने निर्णय गर्नुभएको हो ।

रासस

सम्बन्धित खवर