साइनो समाचारदाता । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधारका साथ प्रभावकारी योजना अघि बढाइने बताउनुभएको छ ।
शुक्रबार पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्री ढकालले सिंहदरबारमा आज पदभार ग्रहण गर्दै मन्त्रालयको कानूनी समस्या सुल्झाउन तत्काल गरिनुपर्ने निर्णय र मन्त्रिपरिषद्मा रोकिएका तथा सरोकारवाला मन्त्रालयसँग गर्नुपर्ने समन्वय सहजीकरणका लागि पहल गर्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “मन्त्री फेरिँदा झस्किनु पर्दैन, अनुशासनमा रहेर काम गर्नुस् सबैको अभिभावकत्व ग्रहण गर्नेछु, म सपना देखाउँदिन परिणाममा विश्वास गर्छु त्यसैले सपनामा रङ्गिनेभन्दा व्यावहारिक हुनेगरी योजना निर्माण र कार्यान्वयन हुनुपर्छ ।”

मन्त्री बद्लिएर पनि सरकार र कार्यनीति बद्लिएको छैन भन्दै मन्त्री ढकालले योजना समयमै सम्पन्न गर्ने परिपार्टीको विकास गर्न मातहत निकायलाई निर्देशन दिनुभयो । उहाँले मुलुक चुनावी माहोलमा गएकाले राजनीतिक रङ्गले मन्त्रालयलाई असर नगरोस् भन्नेतर्फ सजक रहेर सेवा प्रवाहलाई चुस्त र पारदर्शी बनाइनुपर्नेमा जोड दिनुभयो । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीमा रहनुभएका मन्त्री ढकाल पर्यटनमन्त्री बन्नुभएको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा नौ सदस्य नयाँ थप गर्दै केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको थियो ।
मन्त्री ढकालको यो तेस्रो मन्त्रालयको जिम्मेवारी हो । यसअघि करीब १४ महीना न्याय, कानून तथा संसदीय मामिला मन्त्रालय र पछिल्लोपटक १३ महिना स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बन्नुभएको थियो । कोभिड–१९ महामारीको सामना गर्ने अप्ठ्यारो अवस्थामा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाउँदा शक्तिशाली विकसित ठूला राष्ट्रले दिन नसकेको स्वास्थ्य सेवा जनतालाई दिलाउन सफल भएको र पछिल्लो पटक देशका सबै गाउँपालिकामा स्वास्थ्य सेवा विस्तार गर्नेजस्ता स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति ल्याउनेगरी काम भएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले कोभिडपछि नेपालमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउनसक्ने भएकाले सोहीअनुरुप पर्यटकीय पूर्वाधार विकास, उनीहरुको बसाई लम्ब्याउनेजस्ता काममा मन्त्रालयले सहजीकरणको भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारिताका लागि विशेष ध्यान दिइने पनि उहाँको भनाइ छ । आयोजनाअन्तर्गत, निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल र बारामा प्रस्थावित निजगढ अन्तरराष्ट्रिय विमानस्थल छन् ।
सो अवसरमा मन्त्रालय मातहतका पर्यटन विभाग, पुरातत्व विभाग, क्यान, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), नेपाल पर्यटन बोर्डलगायत संस्थाका प्रमुख एवं प्रतिनिधिले मन्त्री ढकाललाई बधाई ज्ञापन गर्दै आफ्ना गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
रासस