साइनो समाचारदाता । गण्डकी प्रदेशको नवलपुर जिल्लाअन्तर्गत विनयी त्रिवेणी नगरपालिका वडा नं ६ स्थित गजेन्द्रमोक्ष धाम धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।
श्रीगजेन्द्रमोक्ष दिव्य धामका रुपमा चासो र चर्चा कमाएको सो स्थलको दर्शन एवं अवलोकनका लागि पछिल्लो समयमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेका छन् । विभिन्न कला, ंसंस्कृति, आगमशिल्प, तन्त्रशिल्पको विधिबाट निर्मित गजेन्द्रमोक्ष नारायण मन्दिर, अष्टकोणात्मक प्यागोडा शैलीमा निर्मित शीशमहल आदिले यहाँको गरिमा र महत्व अझै बढाएको छ । स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको सङ्गमस्थलमा रहेको यो धामको विशिष्ट धार्मिक महत्व रहेको स्वामी कृष्ण प्रपन्नाचार्यले बताउनुभयो ।

गजेन्द्रमोक्ष धामसहित यस आसपासमा माता सीताको पाताल प्रवेश भूमि, महर्षी वाल्मिकीले आदि काब्य वाल्मिकी रामायण लेखेको स्थान, लव र कुशको जन्मभूमि, केउलानी मन्दिर, स्वयं प्रकट नागस्थान, बालपुरी, नागाबाबा कुटी, लक्ष्मीवेंकटेश मन्दिर, लक्ष्मीनारायण मन्दिर, रामजानकी मन्दिर, कठवाँ गुफा, विष्णुधाम, गडीमाई आदि रहेका छन् । प्राचीन धर्मग्रन्थ श्रीमद्भागवत, स्कन्दपुराण, पद्यपुराण, वामनपुराण, बराहपुराण आदिमा गजेन्द्रमोक्ष धामका सम्बन्धमा रोचक उक्ति पाइन्छ ।
प्राचीनकालमा नारायणी नदीको किनारस्थित यस स्थलमा सुन्दर वन थियो । वनमा मृग, बँदेल, जरायो, गैँडा, वनगाई, दुम्सी, सिंह, बाघ, बाँदर आदि बस्दथे । आफ्ना परिवारका साथ बनको राजाका रुपमा गजेन्द्र(हात्ती) बस्दथ्यो । गजेन्द्रसँग वनका साना ठूला सबै जनावर डराउँथे । मदमत्त गजेन्द्र कुनै दिन जलविहारका लागि आफ्नो झुण्डका साथ नारायणी किनारामा पुग्यो । नदीमा पुगी सुँडका माध्यमले पानीको फोहोरा फाल्दै खेल्ने क्रममा नदीमा रहेको ग्राह(गोही) ले गजेन्द्रको खुट्टा बेसरी समात्यो । गोहीले खुट्टा समातेपछि गजेन्द्र र गोहीका बीच तानातान भयो । गजेन्द्रलाई गोहीदेखि छुटाउन अन्य हात्ती तथा छावाले धेरै प्रयास गर्दा पनि सम्भव भएन । अन्ततः गजेन्द्रको शक्ति कमजोर बन्दै गयो । केही सीप नलागेपछि अन्ततः पूर्वजन्ममा गरेको भगवद् भक्तिको स्मृतिद्वारा भगवान नारायणले नै आफ्नो रक्षा गर्ने कुरामा निश्चित बन्दै गजेन्द्रले नारायणको स्तुति गर्दछ । गोहीले तान्दै गर्दा सुँड मात्रै बचेका अवस्थामा भगवान नारायण गरुढमा चढी आएको देखी सुँडले कमलको फूल टिपी चढाउँछ । गजेन्द्रको स्तुति एवम् भक्तिभावबाट प्रशन्न भएका नारायणले सुदर्शन चक्रद्वारा गोहीको शिर काटेर गजेन्द्रको उद्धार गरेको धर्मग्रन्थहरूमा उल्लेख छ ।
धर्मग्रन्थकै अनुसार गजेन्द्र पूर्वजन्ममा पाण्ड्यवंशी ‘इन्द्रद्युम्न’ नामक राजा थिए । उनी अगस्त्य ऋषिको श्रापका कारण हात्ती बन्न पुगे । त्यस्तै ग्राह(गोही) हूहू नामक गन्धर्व थिए । उनी देवल ऋषिको श्रापका कारण गोही बनेका थिए । दुवै ऋषिले हात्ती र गोही भए पनि भगवान् श्रीहरिबाट हात्ती र गोहीको शरीर त्यागी मोक्ष प्राप्त हुने आशिर्वाद दिएका थिए । त्यही आशिर्वादले ग्राह र गजेन्द्र दुवैले मोक्ष पाएको स्थल रहेका कारण यस धामलाई गजेन्द्रमोक्ष धामका रुपमा लिइएको किंवदन्ती छ ।
गजेन्द्र मोक्षधाममा आएका पर्यटकलाई वैदिककालीन कला र सभ्यता झल्कने किसिमले निर्मित मन्दिर परिसरमा विभिन्न दृश्यले लोभ्याउने गरेको छ । गजेन्द्रमोक्ष नारायण मन्दिरको बाहिरी दृश्य प्यागोडा शैलीको छ भने भित्री दृश्य दक्षिण भारतीय शैलीमा पाउन सकिन्छ । धेरै सङ्ख्यामा रहेका देवी देवताका मूर्तिले यहाँ आउने जो कोही मोहित हुने गरेका छन् । धाम परिसरकै शीशमहल यहाँको अर्को आकर्षण हो । शीशमहलभित्र राधाकृष्ण भगवानको युगलस्वरुप हेर्न लायक छ । शीशमहलमा जाने दर्शनार्थी जता हे¥यो उतै देखिने आफ्ना प्रतिविम्बले मोहित बन्दै फर्कने गरेका छन् ।
नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्डको सहकार्यमा नवलपुर क्षेत्रमा हालै गरिएको धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमणका क्रममा गजेन्द्रमोक्ष धाम क्षेत्रको स्थलगत अवलोकन गरिएको छ । अवलोकनका क्रममा गण्डकी प्रदेशका भ्रमण वर्ष २०१९–२२ का संयोजक जुद्धबहादुर गुरुङले गजेन्द्रमोक्ष धामलाई प्रदेशको आकर्षक धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताउनुभयो । गजेन्द्रमोक्ष धामदेखि मुक्तिनाथ, दामोदरकुण्डलगायतका स्थानलाई समेट्दै यिनीहरूको प्रवद्र्धन र विकास गर्नु अपरिहार्य भएको उहाँले बताउनुभयो ।
गजेन्द्रमोक्ष धामको विकासलाई गण्डकी प्रदेश सरकारले प्राथमिकताका राख्दै पूर्वाधार विकासका लागि बजेटसमेत विनियोजन गर्ने गरेको जानकारी दिँदै उहाँले धार्मिक पर्यटन पनि एउटा महत्वपूर्ण पक्ष भएको बताउनुभयो । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङले नवलपुर क्षेत्रमा रहेका धार्मिक पर्यटकीय गन्तव्यको उजागर गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष डम्बरबहादुर केसी, सोम थापा र चिरञ्जीवी पोखरेलले नवलपुर क्षेत्रका पर्यटकीय गन्तव्य प्रवद्र्धनको पर्खाईमा रहेको बताउँदै गजेन्द्रमोक्ष धाम, वाल्मिकी आश्रम, त्रिवेणी धामलगायतका स्थलको गरिमा र महत्वलाई जोगाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पूर्वाधार विकासका क्रममा पनि ऐतिहासिकस्थलको प्राचीन मौलिकता कायम हुनेगरी गर्नुपर्ने उल्लेख गर्दै उहाँहरूले नवलपुर क्षेत्रसँग पोखराको पर्यटकीय साझेदारीमा जोड दिनुभयो ।
रासस