‘सरकारकै कारण व्यवस्थामाथि खतरा’-काङग्रेस - Sainokhabar
  • बिहिबार, माघ ०८, २०७७

‘सरकारकै कारण व्यवस्थामाथि खतरा’-काङग्रेस

साइनो समाचारदाता

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारकै कारण वर्तमान व्यवस्थामाथि प्रहार हुन थालेको बताएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा कांग्रेस नेताहरूले सरकार नसच्चिए गणतन्त्रमाथि नै खतरा पैदा हुने चेतावनी समेत दिए।उनीहरूले सरकारले शासन गर्ने अधिकारसमेत गुमाइसकेको पनि बताए। नेताहरूले सरकारले आफूभन्दा फरक विचार राख्नेलाई दुःख दिने, प्रहरी परिचालन गर्ने गरेको आरोप लगाए।

प्रहरी समेत निष्पक्ष नभएको कांग्रेस नेताहरूको भनाइ छ। यसको पछिल्लो उदाहरणका रूपमा तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहारलाई लिन सकिने नेताहरूले धारणा राखे। सरकारले जनहितमा काम गर्न नसकेको समेत नेताहरूको टिप्पणी छ। “वर्तमान सरकार र प्रधानमन्त्रीको कार्यशैलीकै कारण व्यवस्थामाथि अनेक ढंगबाट प्रहार भइरहेको छ। सरकारको काम गर्ने शैली नै राम्रो छैन। भ्रष्टाचार घट्नुको साटो झन् झन् बढ्दै गएको छ”, बैठकमा राखेका कुरा सुनाउँदै कांग्रेस नेता कृष्ण सिटौलाले भने, “भ्रष्टाचारमा मुछिएकालाई सरकारले संरक्षण गरेको छ। भ्रष्टाचारका घटनालाई ढाकछोप गरेको छ।”

कोरोना नियन्त्रणमा पनि सरकारले प्रभावकारी काम गर्न नसकेको नेताहरूले बताए। उनीहरूले प्रधानमन्त्रीले आत्मालोचना गर्दै सच्चिएर अघि बढ्नुको विकल्प नरहेको समेत बताए। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोरोना नियन्त्रणमा काम गरिहेको दाबी गरे। उनले अब छिट्टै कोरोनाको खोप ल्याइने पनि बताए। अहिलेको व्यवस्थामाथि विभिन्न क्षेत्रबाट प्रहार हुन थालेको भन्दै प्रधानमन्त्री ओलीले यसको रक्षाका लागि सबै दल मिलेर अघि बढ्नुपर्ने बताए।

आफूहरूले संघीयताको रक्षा, संविधान कार्यान्वयन र गणतन्त्रका पक्षमा सधैं उभिइरहने प्रतिवद्धता जनाएको कांग्रेस नेता सिटौलाले बताए।

हिमालखबर

सम्बन्धित खवर