पथरीमा थप ९ जनामा कोरोना भाइरस, सतर्कता अपनाउन अनुरोध - Sainokhabar
  • बुधबार, मङि्सर १७, २०७७

पथरीमा थप ९ जनामा कोरोना भाइरस, सतर्कता अपनाउन अनुरोध

साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरमा पछिल्लो पटक नगरका कर्मचारी र स्वास्थ्य कर्मचारी सहित थप ९ जनामा कोरोना भाइरस देखिएको छ । प्रदेश कोभिड प्रयोगशालामा गरिएको ५० जनाको परीक्षणमा आज ८ पुरुष र १ महिला सहित ९ जनाको रिपोर्ट पोजेटिभ आएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।

जसमा वडा नम्वर १ का ३ पुरुष र १ महिला, २ का १ पुरुष, ३ का १ पुरुष, ७ का १ पुरुष र ९ का २ पुरुषमा कोरोना देखिएको हो । यस अघि नगर र स्वास्थ्यका कर्मचारी सहित समुदायका संक्रमितको सम्पर्कमा रहेकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’का आधारमा पीसीआर परीक्षणका लागि गत कार्तिक १ गते १ सय ६४ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये १ सय १४ जनाको कोशी अस्पताल विराटनगरबाट परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।

नगर प्रमुख दिलीपकुमार राईले नगरमा कोरोना संक्रमित बढ्दै गएकाले अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा अनुरोध दोहोर्याउनु भएको छ । उहाँले अनिवार्यरुपमा कम्तिमा डेढ मिटरको भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुन पानीले हात धुन र सेनिटाइजर लगाउन थप अनुरोध गर्नुभयो । १२ बर्ष मुनीका बालबालिका र ज्येष्ठहरुलाई थप सतर्क बन्न समेत अनुरोध छ । गत असोज ३० गतेदेखि कार्तिक ६ गतेसम्म नगरपालिका र वडा कार्यालयको प्रशासनिक सेवा बन्द गरिएको छ । नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी र वडा नम्वर १ स्थित आधारभूत स्वास्थ्य केन्द्रको सेवा पनि बन्द अवस्थामा छ ।

सम्बन्धित खवर