पार्टी नेतृत्व लिन नेता सिटौला तयारी गर्दै - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

पार्टी नेतृत्व लिन नेता सिटौला तयारी गर्दै

साइनो समाचारदाता । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नागरिकका आधारभूत आवश्यकतासमेत सरकारले पूरा गर्न नसकेको आरोप लगाउनुभएको छ ।

पाथीभराको दर्शन गरेर फर्कने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले मौलिक हक र सर्वोच्चको परमादेशविपरीत कोरोनाको उपचारबाटै सरकार पन्छेको दोषारोपण गर्नुभयो ।दिनानुदिन नागरिक सङ्क्रमणको चपेटामा परिरहेका बेला उपचार र सङ्क्रमणको जोखिम व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने उहाँले औँल्याउनुभयो ।  अर्काे प्रसङ्गमा उहाँले पार्टी महाधिवेशन छिट्टै हुने र त्यसबाटै विभाजनलाई अन्त्य गरेर काँग्रेस अघि बढ्ने बताउनुभयो ।

“महाधिवेशनबाटै काँग्रेसभित्र देखिएका बेथिति र सैद्धान्तिक विचलनको अन्त्य भई एकताको सन्देश आउने छ र सम्भावित खतराबाट मुलुकलाई बचाउन थप चनाखो र बलियो हुने छ”, उहाँले भन्नुभयो । सबै समूहलाई मिलाएर पार्टीको नेतृत्व गर्ने तयारी आफूले गरेको उहाँले स्पष्ट पार्नुभयो । सिटौलालाई काँग्रेस ताप्लेजुङका नेता कार्यकर्ताले समेत भेट गर्दै पार्टीभित्र देखिएको विभाजनले निराशा छाएको जनाउँदै यसको अन्त्य गर्न पार्टीलाई सुझाव दिएका थिए । सिटौलासँगै पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान आउनुभएको थियो । उहाँहरु आजै पाथीभराको दर्शन गरेर राजधानी फर्कनुभएको छ ।

रासस

सम्बन्धित खवर