मध्यपहाडी राजमार्गका अधिकांश स्थानमा हुन सकेन निर्माण - Sainokhabar
  • बुधबार, मङि्सर १०, २०७७

मध्यपहाडी राजमार्गका अधिकांश स्थानमा हुन सकेन निर्माण

साइनो समाचारदाता । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको अधिकांश स्थानमा निर्माणको कम हुन सकेको छैन । कोभिड–१९ सङ्क्रमण फैलिरहँदा पालिकाले आफ्नो क्षेत्र बाहिरका व्यक्तिलाई प्रवेशमा गरेको कडाइका कारण अपेक्षाकृतरुपमा काम हुन नसकेको हो ।

यो आवको पहिलो तीन महिनामा भौतिक प्रगति न्यून मात्रै रहेको मध्यपहाडी सडक आयोजना निर्देशनालयका प्रमुख दीपक केसीले बताउनुभयो । उहाँका अनुसार पहिलो चौमासिकमा ५० किमी कालोपत्र गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म झण्डै दुई किमी मात्रै सडक कालोपत्र भएको छ । अबको एक महिना दशैँ, तिहार, छठलगायत चाडपर्व भएकाले निर्माण गर्न अझै कठिन हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिलो चौमासिकमा अपेक्षा गरेभन्दा धेरै कम मात्रै काम भएको छ ।” एकातिर कामदार आफैँ पनि घर बाहिर जान त्रसित भएको र अर्कातिर सम्बन्धित पालिकाले आवतजावतमा कडाइ गरेकाले अधिकांश स्थानमा निर्माण अघि बढाउन नसकिएको प्रमुख केसीले बताउनुभयो । अहिले पनि धेरै पालिकाले नयाँ मान्छे आउनै नदिने वा आइहालेमा दुई साता क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको छ । उहाँले भन्नुभयो, “मजदूर आफैँ पनि सकेसम्म घरपरिवार छाडेर काम गर्न चाहेका छैनन् ।”

आयोजनामा गत वर्ष कोभिड–१९ का कारण लक्ष्यभन्दा एक तिहाइ मात्रै कालोपत्र भएको थियो । तीन सय किमी कालोपत्रको लक्ष्य लिइएकामा ११३ किमी सडकमा कालोपत्र भएको थियो । गत वर्ष कालोपत्र गर्ने लक्ष्य लिएकोमा सडकमा आवश्यक सबै तयारी भइसकेकाले अहिले सहज अवस्था हुनासाथ कामले गति लिने पनि प्रमुख केसीले बताउनुभयो । पहाडी क्षेत्रलाई पूर्वदेखि पश्चिमसम्म जोड्ने सो आयोजना आगामी आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाले जनाएको छ ।

रासस

सम्बन्धित खवर