एकै दिन ११ भवन उद्घाटन - Sainokhabar
  • बिहिबार, कार्तिक ०६, २०७७

एकै दिन ११ भवन उद्घाटन

साइनो समाचारदाता
कैलाली । कैलालीको टीकापुर नगरपालिकाले एकै दिन ११ नयाँ भवन उद्घाटन गरेको छ । पछिल्ला दुई वर्षयता भौतिक संरचना निर्माणलाई प्राथमिकता दिएको नगरपालिकाले शनिबार दुई वडा कार्यलय भवन, एउटा शहरी स्वास्थ्य केन्द्र र कुन्ती टोलको दलित बस्तीका आठवटा घर उद्घाटनसहित हस्तान्तरण गरेको हो । नगरपालिकाले आफ्नै कार्यालय नभएका वडा, शहरी स्वास्थ्य केन्द्रका भवन निर्माणलाई प्राथमिकता दिएर निर्माण गरेको हो ।

वडा कार्यालय भवन ४० प्रतिशत नगरपालिका र ६० प्रतिशत जिल्ला समन्वय समिति कैलालीको साझेदारीमा निर्माण गरिएका हुन् भने शहरी स्वास्थ्य केन्द्र सङ्घीय सरकारको सशर्त अनुदानबाट निर्माण गरिएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिनुभयो । यस्तै कुन्ती टोलको दलित बस्तीमा निर्माण गरिएका आठ घर तराई–मधेस समृद्धि कार्यक्रम र टीकापुर नगरपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएका हुन् । यी सबै संरचना रु दुई करोडको लागतमा निर्माण सम्पन्न भएका इञ्जीनियर नवराज जोशीले जानकारी दिनुभयो । “यी सबै संचरनाको रकम जोड्दा रु दुई करोड खर्च भएको छ”, जोशीले भन्नुभयो, “भवन निर्माणकार्य समयमै सम्पन्न भएका छन् ।”

नवनिर्मित संरचनाको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका प्रमुख रावलले अब टीकापुर नगरपालिकामा १ नं बाहेकका सबै वडा आफ्नै भवनबाट सञ्चालन भएको बताउनुभयो । “हामी जनप्रतिनिधि भएर नगरपालिकाका प्रवेश गर्दा भौतिक संरचना सम्पन्न गराउने भनेका थियौँ”, तीन वर्षमा सबै कार्यालय आफ्नै भवनबाट सञ्चालन भएका छन् । आठ वडामा रहेका स्वास्थ्य संस्था, वडा कार्यालयलगायत कार्यालयका आफ्नै भवन बनेका छन् ।”नगरप्रमुख रावलले आफ्नै भवन भएर पनि साँघुरो भएर गुजारा गरिरहेका केही स्वास्थ्य संस्थाका भवन निर्माणाधीन अवस्थामा रहेको समेत बताउनुभयो । “नगरपालिकाले भवन निर्माणपछि आवश्यक सामग्री, घेरा पर्खालजस्ता संरचनासमेत बनाउनेछ”, रावलले भन्नुभयो, “यी सबै संरचना बनाउनुको एउटै उद्देश्य नागरिकलाई सेवा प्रवाहमा सहजता होस् भन्ने हो । कार्यालय भवन सार्ने झण्झट पनि अन्त्य हुने भएको छ ।”

नगरपालिकाले भवन हस्तान्तरण गरेपछि टीकापुर–७ कुन्तीटोलका दलित बस्तीमा खुशीयाली छाएको छ । घर पाएपछि उनीहरु मख्ख भएका छन् । “वर्षौँदेखि खरले छाएको चुहिने छानामा जीवन बिताएँ”, नयाँ भवन पाएकी आइती सुनारले भन्नुभयो, “अब त पक्की घरमा बस्न पाइने भयो । दुई कोठाको जस्ताले छाएको घर, बरण्डा पनि बनाइदिएको छ । म त निकै खुशी छु । बल्ल सरकार गाउँमा आएछ ।” आइतीजस्तै कुन्तीटोलका नयाँ घर पाएका अन्य परिवार पनि खुशी छन् । उनीहरु अब वर्षेनी नदी कटान र बाढीको डुबानबाट बच्न सकिने बताउन थालेका छन् । “सरकारले घर बनाइदियो, अब ढुक्कले घरमा सुत्न पाइने भयो”, सुनार भन्नुहुन्छ, “यहाँ बाटोघाटो पनि विकास गरिदिनुपर्छ । मोहना नदीमा निर्माणाधीन तटबन्ध धमाधम निर्माण गरिए हामी नदी कटानको जोखिमबाट समेत बच्नेछौँ ।”

 

रासस

सम्बन्धित खवर