वैकल्पिक शिक्षाको पक्षमा - Sainokhabar
  • बुधबार, कार्तिक ०५, २०७७

वैकल्पिक शिक्षाको पक्षमा

लिलाराज खतिवडा

दिब्यता सिकाउने चक्करमा हामीले आफ्ना बालबालिकाहरुलाई तुच्छतावोध सिकाएनौँ । उल्टो तुच्छता ढाक्न सिकायौँ । फलस्वरुप वर्तमान पुस्ता जीवनका उज्याला पाटा मात्रै चियाउन खोज्छ । अनि अँध्यारा कुइनेटाहरुबाट ऊ पलायन हुन खोज्छ ।

यथार्थमा दिब्यता र तुच्छता एउटै सिक्काका दुई पाटाहरु हुन् । कालोको अस्तित्व सेतोले निर्धारण गरेजस्तै सुखको अस्तित्व पनि दुःखले निर्धारण गरेको हुन्छ । यसको ठिक उल्टो, दुःखको अस्तित्व पनि सुखले नै तय गरिरहेको हुन्छ । त्यसै गरि राम्रो, नराम्रोस दिन, रातस उल्लास, निरासा जस्ता भावहरु पनि माथिकै उदाहरणसँग मेल खान्छन् ।

दिब्य र तुच्छको परिभाषाका बारेमा :

हामी मुख खुल्ला राख्छौँ । तर मलद्वार ढाक्छौँ । कम्मरमुनिको मूलाधार बारे समाजमा खासै कुरा हुँदैन । जननेन्द्रीयलाई बर्जित अंग भनेर बालबालिकाहरुलाई सिकाइन्छ । फलस्वरुप मानिसहरुका मूलाधारहरु आज कमजोर हुनपुगेका छन् । किनभने जुन अङ्गलाई बर्जित गरिन्छ त्यसले फस्टाउने मौका पाउँदैन ।

दाहिने हातमा इश्वरको बास हुन्छ भने, देब्रे हातमा पनि उत्तिकै ईश्वरको बास हुन्छ ।बालबालिकाहरुलाई रोगप्रतिरोधात्मक शक्तिका बारेमा स्यानैदेखि पढाउनु जरुरी छ । तदनुरुप खानाहरुका बारे प्रायोगिक शिक्षा दिनु पनि वान्छनीय हुन्छ । बच्चाहरुलाई पितापूर्खाको लिगेसी मेन्टेन गराउनु पर्छ । श्रम सिकाउनु पर्छ । बच्चाहरुलाई सर्भाइभल अफ दि फिटेस्ट सिकाउनु पर्छ । स्यानैदेखि घुँस्सा खान र घुँस्सा हान्न सिकाउनु पर्छ । डिफेन्स मेकानिज्म सिकाउनु पर्छ ।

स्कूलमा के सिकाउँछ? सबैलाई राम्रो जानकारी छ । त्यहाँ जीवनमा जे आवश्यक छ त्यसको बिपरीत कुनै प्रतियोगितामा सामेल हुने किशिमले अध्ययन गराइन्छ । वर्षौँ स्कूल, कलेज पढेर पनि विध्यार्थीहरु कुनै शिप बेगर केवल एउटा प्रमाणपत्र लिएर घर फर्किन्छन् । अनि बेरोजगार हुन्छन् । उनीहरुले न स्कूलमा लछारपाटो लगाए न त घरको काम नै सिके ।  अर्कातिर श्रम वा शारीरिक व्यायाम नगर्दा अधिकांश बालबालिकाहरु स्यानैदेखी रोगी, पिलन्धरे र कमजोर छन् ।

वर्तमान शिक्षा पद्धति आफैँमा असफल सावित भइसकेको छ । प्रायोगिक शिक्षाको उत्खननमा लागौँ ।  अर्कातिर ध्यान, योगा, साधनाको छुट्टै आयाम छ । साथमा बच्चाहरूलाई क्रीया योग अर्थात इन्टृगल योगा पनि स्यानैदेखि सिकाउन सके उत्तम हुने छ । तसर्थ, बच्चाहरुलाई रुख चढ्न मात्रै होइन, ओर्लिन पनि सिकाउँ । सेतो मात्रै होइन, कालो पनि सिकाउँ । त्यसपछि अरु रङ्हरुको पनि परिचय दिँदै जाउँ ।

जीवनको रट मात्रै लगाउने होइन, मृत्युको रहस्यवोध पनि गराइदिउँ । सुखको पछि अन्धो भएर भाग्न होइन, दुःख झेल्न ताकत बढाउने कला पनि सिकाइदिउँ । भावीपुस्ताले अहिल्यैबाट मूलधारको जीवनबाट क्रमशः एउटा वैकल्पिक जीवनको अभ्यासमा जुटिहाल्नु पर्छ ।जहाँ दिब्य र तुच्छभन्दा पनि महान आयामले हामीलाई पर्खिरहेको छ । र त्यो नै समग्र जीवन पनि हो । शाश्वत जीवन!

सम्बन्धित खवर