मन्त्री घिमिरेद्धारा क्रिकेट रंगशालाको अनुगमन - Sainokhabar
  • आइतबार, कार्तिक ०९, २०७७

मन्त्री घिमिरेद्धारा क्रिकेट रंगशालाको अनुगमन

साइनो समाचारदाता
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर महानगरपालिका–१९ मा निर्माण भइरहेको बैजनाथपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आइतबार अनुगमन गरेका छन् ।

उनले रंगशालाको हालको अवस्थाबारे क्रिकेटका पदाधिकारीसँग जानकारी पनि लिए । रंगशालामा अहिले मल्टी पेभेलियन, अन्डर ग्राउण्ड पानी सप्लाई, ग्राउण्ड लेभलिङको तयारी भइरहेको छ । प्रदेश सरकारले रंगशालाका लागि चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको छ । सो बजेट अनुसारको काम सुरु गर्ने तयारी भईरहेको प्रदेश क्रिकेट संघका उपाध्यक्ष तथा मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष नवीन घिमिरेले जानकारी दिए । उनले सोमबारदेखि इन्जिनियरिङ स्टिमेटको काम सुरु हुने बताए ।

रंगशालाको अनुगमन गर्दै मन्त्री घिमिरेले खेलमैदानमा काम सुरु भएको मितिले ३ महिना भित्रमा निर्माण सम्पन्न गर्न निर्देशन दिए । रंगशालाको अनुगमनमा क्षेत्रीय खेलकुद विकास समिति, मोरङ खेलकुद विकास समिति, प्रदेश क्रिकेट संघ, मोरङ क्रिकेट संघका पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

पूर्वेली न्यूजबाट

सम्बन्धित खवर