म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने तामाङ थुनामा - Sainokhabar

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने तामाङ थुनामा

साइनो समाचारदाता
काठमाडौँ । म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने मुख्य आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । पक्राउ परेका नौ जनामध्ये मुख्य आरोपी गेल्जङ दोर्जे तामाङलाई आइतबार जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो ।

त्यस्तै, म्युजिक भिडिओ बनाउनमा संलग्न अन्य आठ जना भने रिहा भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । त्यसमध्ये तीन जना १५÷१५ हजार धरौटी बुझाएर छुटेका हुन् भने अन्यलाई साधारण तारेखमा छुोडिएको हो । एक युट्युव च्यानलमार्फत भदौ १ गते ’देशद्रोही’ नामको म्युजिक भिडियो सार्वजनिक भएको थियो । त्यस भिडियोको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको दृश्य रहेको थियो ।

त्यसको चौतर्फी विरोध भएपछि प्रहरीले यसमा संलग्न गायक तामाङसहित नौ जनालाई पक्राउ गरेको थियो । राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुन सक्ने व्यवस्था रहेको छ । अदालतले यस मुद्दाको अन्तिम फैसला भने गर्न बाँकी छ ।

सम्बन्धित खवर