पशुमा देखियो लम्पी स्किन रोगको संक्रमण - Sainokhabar

पशुमा देखियो लम्पी स्किन रोगको संक्रमण

साइनो समाचारदाता पथरी/
पुर्वी उत्तरी मोरङका पशुहरुमा अनैठो रोग देखा पर्न थालेको छ । गएको असार देखि पशुहरुमा छाला डडेर खस्ने खाल्को लक्षण देखा पर्न थालेको हो । पशुहरुमा देखिएको उक्त रोग ‘लम्पी स्किन’ रोग रहेको पशु प्रविधिक बताउछन ।

यो लम्पी स्किन रोग मोरङका पशुहरुमा पहिलो पटक देखिएको हो । सानो घाउ आउने र उक्त घाउ फुटे पछि शरिर भरिको छाला झर्ने गरेको छ । यस्ता खाल्को रोग विषेश गरि गाई र बाछिहरुमा मात्र देखिने गरेको पथरीशनिश्चरे १० का उमेश कोईराला बताउछन ।

पथरीशनिश्चरे १० कै राजन भट्टराई ३ महिना सम्म उपचार गर्दा पनि रोग नियन्त्रणमा आउन नसकेको बताउछन । लम्पी स्किन रोगको नियन्त्रणका लागि सरकारी तवरबाट कुनै कार्य नभएको मोरङका किसानको गुनासो छ । रोगबाट पथरीशनिश्चरे, लेटाङ र कानेपोखरीका किसानहरु प्रभावित भएका छन । स्थानीय पशु स्वास्थ्य प्राविधिकहरुले रोग फैलिन नदिन एन्टिबायोटिक्स र छालाका रोगमा प्रयोग गरिने औषधि प्रयोग गर्दै आएका छन ।

पशुको शरीरमा फोका आउने, ज्वरो आउने, फोका फुट्ने, फुटेको भागबाट पानी बग्ने, खुट्टा सुन्निने र दुध उत्पादन घट्ने लक्षण देखिने गरेको छ । रोगबाट संक्रमित पशुमा बाँझोपनाको समस्या देखिने पशु चिकित्सकहरु बताउँछन् ।

लम्पी स्किन रोग अफ्रिकाबाट फैलिएको पशु प्रविधिकको भनाई छ । यो रोग २०१९ को मध्यतिर भारत र बंगलादेशमा देखिएको थियो भने नेपालमा असारको मध्यदेखि देखिएको हो । यो रोग मोरङमा पालिएका गाईमा पहिलो पटक देखिएको हो भने रोग नियन्त्रण गर्न भारत तथा अन्य देशमा खोप दिँदै आइरहेको पशु प्रविधिक भनाई छ ।

सम्बन्धित खवर