गाउँघर डुल्दै जादा ... - Sainokhabar

गाउँघर डुल्दै जादा …

√धनराज लावती
यतिबेला गाउँमा रोपाइँको चटारो छ । मन्द गर्मी छ । आकाशमा बादल दौडिरहेका छन् । लाग्छ बादलहरूको म्याराथन चलिराछ । सबैसबै भुलेर एकैछिन बादलहरूको दौड हेर्ने हो भने रमितै हुन्छ । यी दौडहरू बीच कहिले मान्छेको अनुहार बन्छ त कहिले देवताको । कहिले जनावरको बन्छ त कहिले चराको बन्छ । हेर्दै जादा यस्तो लाग्छ कि तीनीहरूलाई चिच्याएर बोलाउ । सगै बात मारू । यसरी बादलको आकृति सगै हाम्रो मस्तिष्कमा बन्ने आकृति कति जीवन्त हुन्छ हगि ।
अघिसम्मको बादलले अब पानी लेउछ । म सानो छदा सोच्थे – यी बादलहरू पानीको मुहानतिर गका हुन् जसरी मेरो बुवा मुहानमा पानी ल्याउन जानू हुन्थ्यो । कहिले सिमसिम त कहिले मुसलधारे । यसरी बादलले धर्ती माथि वीर्य बर्साउछ । धर्तीले गर्भधारण गरेको दिन सारा धर्ती मगमगाउछ । क्षणभरमै धर्तीमा उम्रन्छन् जीवहरू । विस्तारै सल्बलाउन थाल्छन् । कराउन थाल्छन् । यै धर्तीमा हुर्किन्छन् । फुल्छन्-फल्छन् र धर्तीमै मिल्छन् । हामी पनि यही धर्तीबाटै उम्रेका हौ र एकदिन यही धर्तीमा मिल्नुछ ।
अहिले विश्व घरभित्र थुनिरहेको परिस्थिति बीच हामी भने खेतमा पसिना बगाइराछौ । उता कार्यलय देखि सदन सम्म, मन्त्रालय देखि भवनसम्म धाइरहेका छन् सेना, प्रहरी, कर्मचारी, मन्त्री, पत्रकार । बनाउदै छन् निति, ऐन । जारी गर्दैछन् आफुखुसी अध्यादेश । डाक्टर, नर्स, स्वास्थ्यकर्मी, बैज्ञानिक भने लडिरहेछन महामारी विरूद्ध । तेहीबेला म यसो अनुमान लाउछु – बन्द कोठाभित्र कति श्रमजीवीहरू भोकै छन् होला ? बिहानबेलुकी कति चामल घटेछ भन्दै घरीघरी चामलको बोरा उचालेर जाँच गर्दै होला । अस्ति समाचारमा सुने भोकै मरेका खबरहरू । तेस्तै युवापुस्ता र विद्यार्थीले कति समय मोबाइलमा खर्चिदै होला ? उनीहरू मध्ये केहीले गेममा खर्चे होलान् । केहीले सोसियल मिडियामा खर्चे होलान् । केहीले पोर्न साइटमा खर्चे होलान् । केहीले सर्च इन्जिनमा खर्चे होलान् । उता शिक्षक, प्राध्यापक, कवि, लेखक, समालोचकले अनलाइन कार्यक्रममा खर्चे होलान् । केहीले पुस्तक पढेर खर्चे होलान् । केहीले सिनेमा हेरेर खर्चे होलान् । केहीले भने सोचिरहेछन् मात्रै होला पनि । उनीहरू मध्ये कतिले मोक्ष पाउन सोचे होलान् । कतिले जीवनदेखि मुक्ति पाउन सोचे होलान् । कतिले एक थुन्चे सपना बुन्दै सोचे होलान् । कतिले विद्रोह गर्न पनि सोचे होलान् । यी सब बाहेक केही यस्तो नि होलान् – जसले केही गरेका छैनन् । उनीहरू सग गर्नलाई केही छैन र जानलाई
ठाउँ पनि छैन । उनीहरू त बस् सुतिरहेछन् – दुबै शरीर र मस्तिष्क बाट ।
पढाइ र जागिरको शिलशिलामा काठमाडौं हान्निएका म जस्तै केही युवा जमात लकडाउन अघि गाउँघर फर्के । इन्टरनेटमा लिप्त उनीहरूका हात र मस्तिष्क लाई केहिदिन ऐठान लागे होलान् । तिनै युवाहरू भविष्य उज्ज्वल बनाउने दौडमा सहर हान्निएको हो । उनीहरू मध्ये कतिले छुटाए होलान् घर सम्म पुर्याउने बाटोहरू । कतिले निमोठे होलान् आफ्नै अन्तरमनका रहरहरू । वास्तवमा जिन्दगी देखि धेरै महत्वाकांक्षा बोकेर हिड्ने मान्छे कहिल्यै खुसी हुन सक्दैन । विस्तारै लम्बिदै गए लकडाउन । बुझ्दै गए अपनत्व – गाउँको । सगै परिवार हुनुको महत्व । स्वच्छ हावा र पानीको महत्व । हामीले अलि गहिरिएर बुझ्ने हो भने यतिबेला गाउँमा अवसर छ । गाउँमा रोजगार छ । केहीले बुझे पनि होलान् कि?
हिजो अस्तिको कुरा हो म विहानै गाउँले मामा पर्नेको घरमा काम विशेषले गएको थिए । हालखबर सोधिखोजी गर्नुभो । जवाफ सगै मैले नि सोधे । तेस्तै अरू अरू । सुरूमा यस्तै दुःखकै कुरा गर्नु भो मामाले । तेसपछि मामाले हाम्रो कुरा सुनिरहेको छोरालाई सम्झाउदै भन्नुभो “यो खेतीपाती दुःखीयाको काम हो, राम्रो नपढे खेतीमै बित्छ जीवन । मेरो दुःख देखिरहेको छस् नि ? तलाई म जस्तो हुन मन छ कि ऊ दाई जस्तो ?” मामाको अर्ती सगै माहोल भावुकमय भैगयो । सहरमा हुदा आफ्नो दुःख ठूलो सोच्ने म, मामाको दुःख अघि सानो लाग्यो । एकतरिकाले भनौ सान्त्वना मिल्यो । पुलुक्क भाइलाई हेरे । उमेरले चन्चल देखिनुपर्ने अनुहारमा गम्भीरपन देखे । सोचे – भाइले बाउको दुःखलाई नजिकबाट छामेको होला । बाउको जस्तै दुःख नपाउने प्रतिज्ञा पनि गरेको होला । मलाई विश्वास छ यसले राम्रो पढ्नेछ । ज्ञानी हुनेछ । ठूलो भएर आरामदायी जिन्दगी जिउनेछ । किनकि बाउको दुःख बुझ्ने छोराले मात्रै प्रगति गर्ने हो । सोचमग्न हुँदै घरमा आए । एक गिलास पानी पिए । फेसबुक खोले । सुरूमै देखिए Tiktok भिडियो । खोले । भिडियोमा मेरो एकजना साथी असारको मेलोमा कोदालो उचाल्दै थियो । लकडाउन अघि उ पनि घर पुगेको थियोे । घरिघरि खनेजस्तो गर्दै थियो । घरि नाचे जस्तो । गीत अनुसारको मिमिक्रि पनि गर्दैथ्यो । उसको भिडियो सहितको पोष्टमा लेखेको थियो “कृषिमा क्रान्ति गरौ । कर्मशील नेपाली बनौ ।”
फिस्स हाँसे र सोचे – तेसलाई कहिले लकडाउन खुल्छ र काठमाडौं गुदौ भन्ने भइराछ होला । क्रान्ति गर्छ रे । मेरो तेति गाउँघर डुल्ने बानी छैन । हिडे भने कामले मात्रै हो । साथीभाइ नि तेति छैनन् । छन भने विदेशमा धेरैजसो । अस्ति कुलो बनाउन जादा भेट भए पछिल्लो पुस्ताका भाइहरू । सोधिखोजी गरे पढाइको । गाउँमा अहिले ISc Agriculture धेरैले पढ्दै रछन् । तिनीहरूले आफ्नो रूचिले पढे वा जागिरको हल्लाले ? तिनीहरू नै जानुन् । मलाई चै पछिल्लो युवापुस्तामा यश विषयप्रतिको आकर्षण देख्दा खुसी लाग्यो । राम्रो पढेर निस्के भने यीनीहरूले गर्लान् कि – कृषि क्रान्ति ? तत्कालै याद आयो मामाले छोरालाई दिएको अर्ती । सोचे – नपढेको मान्छेले मात्रै खेती गर्ने हो र ? अरे होइन नि । यत्रो भाइहरूले कृषिसम्बन्धी पढिरहेका छन् । के यिनीहरूले भित्र्याउदैनन् त आधुनिक उपकरणहरू ? प्रयोगमा ल्याउदैनन् त बैज्ञानिक विधि? कि उहीँ डलरको लोभमा विदेश हान्निनेछन् । बा कुनै NGO वा सरकारी कोटामा फारम भर्न लाइन लाग्नेछन् । साच्चै हामी नेपालीहरूले जबसम्म आफ्नो पेट पाल्ने हिसाबले खेती गर्नेछौं तबसम्म मामा जस्तो थुप्रै बाउले आफ्नो छोरालाई यै अर्ती दिनेछ । भन्नेछ “छोरा, खेतीपाती दुःखीयाको काम हो ।”

सम्बन्धित खवर