कबिता: रोपार्नी लुङामा - Sainokhabar
  • मङ्गलबार, असोज ०५, २०७८

कबिता: रोपार्नी लुङामा

विशाल नााल्बो
फेउरीले खेतको हिलो सम्याउदै गर्दा
जानेरै अन्जान जस्तो उछिट्याइ पठाएको थिएँ
तिम्रो कपाल माथि एक प्रेमिल इशारा पानीको लड्को।
इशारा नबुझेरै तिमी रिसाएकी थियौ बेस्मारी
र पोखाएकी थियौ मेरो साटो धानको बिउलाई रिस्।
ए!रोपार्नी लुङामा
तिमी त रिसाउदा पनि बिछट्टै सुन्दर देखिएकी थियौ
‘जस्तो कि सुन्दर देखिन्छ मध्ये तरुनी हुँदा धानको रुप’
दाँतेमा चढेर दफाउदै गर्दा गोरु
थुन्सेमा बोकेर बाड्दै गर्दा धानको बिउ
अथवा मिलाउदै गर्दा खेतको आलीको समहा
अनगन्ती हेरेको थिएँ बाउसेहरुको
पछिल्लोतिर बसेर तिम्रो चेहेरा।
तिमीले गरेर मेरो इशाराको बेवास्ता
आफुलाई छुपाइ राखेकी थियौ घूमको ओडानभित्र।
ए!रोपार्नी लुङामा
त्यति खेर मलाई यति बेवास्ता किन गरेकी थियौ?
कि थियौ कुनै बाध्यताको कैदमा?
आलीवाल गाइ रहेका थिए हाक्पारे पालम्
खेतको कुलोमा इत्री रहेका थिए रोपार रोपार्नी
हलीहरु मनाइ रहेका थिए रोपाइँको उत्सव।
थिएन त मात्र तिम्रो अनुहारमा चमक
मन आशान्त जस्तो देखि रहे थ्यो।
ए!रोपार्नी लुङामा कुनै दिन सोध्न मन छ
त्यति खेर रोपाइँमा के भएको थ्यो?
झरी परीको रहेको थियो
घूमको ओडानबाट छिरेर पानी
भिझी रहे थ्यो तिम्रो केश
मलाई लागी रहे थ्यो पानी सँग इष्र्या
तिमी बेमतलब रोपी रहेकी थियौ धान।
ए!रोपार्नी लुङामा
त्यति खेर यति सम्म सोच्न भ्याएँ छु
कि ति सारा खेतालाहरुलाई
साक्षी राखेर तिमीलाई आफ्नु बनाउँ बनाइँ हालौ।
जब तिमीले हाल्यौ फेसबुकमा धान रोपी रहेको तस्बिर
यो बेला बेस्मारी सम्झी रहेछु गाउँको खेतलाई।
ए!रोपार्नी लुङामा भन त यो बर्ष
पोहोर सालको रोपाइँमा
बेहिसाब सताइ रहने एउटा गुमनाम मान्छेलाई
तिमीले सम्झ्यौ कि सम्झेनौं?

सम्बन्धित खवर