शेर्माका पाँच कविता - Sainokhabar
  • आइतबार, कार्तिक ०७, २०७८

शेर्माका पाँच कविता

# सेसेफुङ शेर्मा
१. प्रतीक्षा
एउटा भोको ओठ र,
अतृप्त चाहनाले
अन्तिम पटक
चुस्न सम्म चुसेर
अघाए पछि मिल्काइएको थिएँ कतै
हो-
उहीबाट शुरू भएको थियो मेरो जीवन
जसो तसो कष्टले हुर्किएर
आज फेरि समयको हाङ्गाभरी
ढकमक्क फुलेर
पर्खिरहेको छु तिमीलाई……..
२. सम्झना
कतै म-
सुदूर यात्रामा निस्कन
खोला तरेर जानु अघि
तिमीले मुटु जपेर कानमा सिउरी दिएका थियौ कातावा।
आज जीवनको लयमा बग्दै- बग्दै दोभानमा पुगेर
छामी रहेको छु-
तिमीले दिएको एक टुक्रा दिल
र,
केही थान सपनाहरु….
३. ईच्छा
टेक्दै टेक्दै आएर तिमीले
सफलताको अन्तिम चुलि उक्लिएपछि
भूलेर गएका थियौ मलाई।
आज पनि तिम्रो मुटुको पीँधमा
कतै अडिएको रहेछु भने
आऊ हृदय फुकाएर
अनि
मेरो छाती भरी तिम्रो स्नेलु हातले लेखिदेऊ-
“हाम्रो प्रेम अमर छ।”
कि- म तिम्रो प्रेमिल अक्षरहरूमा बाँच्न चाहन्छु।
४. आँसु
तिम्रो वियोगमा मैले बगाएको आँसु
खसेको थियो हाँगाभरी शीत बनेर
अनायसै गुलाफ टिप्न लालायित बन्यौ तिमी
उति खेर हल्लिएर भुई भरी शीतको थोपा झरेपछि
आँसुले पखालेको थियो हाम्रो प्रेम।
५. झुटो आश्वासन
नेता :-
म जनताको सपना पुरा गर्नेछु
प्रेमी:-
यो जुनीमा साथ दिन सकिनँ
अर्को जुनीमा जरूर
तिम्रो भएर जन्म लिनेछु।
– नोगेन
शेर्मा यालेस कोरियाका सचिब तथा कुकुर कविता आन्दोलनसँग संबद्ध कवि हुन्।

सम्बन्धित खवर