सुहाङका केही छोकहरु.... - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

सुहाङका केही छोकहरु….

@ सङ्गम सुहाङ
(१)
तिम्रो खुसी किन्न
आँसु धोएर
म पसिना निचोर्दै हिड्छु
तर तिमी
चोक चोकमा उभिएर
उत्तरआधुनिक मुस्कान पस्किन्दै हिड्छौ।
(२)
तिम्रा बेश्या यादहरुले
जब यो मुटुलाई बलात्कार गरिदिन्छ
र तिम्रा कामूक सम्झनाहरु
जब यो टाउको माथी उक्लि दिन्छ
प्रिय धड्कन ,
तब मेरा भर्जिन सपनाहरू
तेसै- तेसै
तुहिएर जान्छन्।
(३)
तिमी भन्छौ-
“मलाई एक चोइली खुसी देऊ
एक मुट्ठी मुस्कान देऊ र,
एउटा चोखो दिल देऊ।”
हे, पृयवदना !
म सँग उस्तो के छ र दिऊँ ?
जो-
– हरपल झरी रहने घाइते आँसु छ
– अलिकति फाटेको मुटु छ र,
– एउटा तिम्रो यादमा दुखी रहने छाती छ
मर्जी गर्छु तिमीलाई-
तिम्रो एक टुक्रा मुटुसँग साटी राखेर लैजाऊ….
(४)
यो जिन्दगी पनि
संविधान जस्तै भै दिएको भए,
फेरि एक पटक
संसोधन गरि दिन्थें
र,
प्रस्तावनामै लेखी दिने थिएँ –
कि-
“जिन्दगीका धाराहरु संसोधनीय हुने छन……. !”
(५)
जब तिम्रो याद पोखिएर सिरानीमा झर्छ
जब तिम्रो याद ठोक्किएर मुटुमा पर्छ
म त्यहाँ असिम आनन्दको एक मुट्ठी स्वर्ग पाउछु
र-
यी अँगालोमा भरिन्ज्याल
जब आउछौ तिमी सपना बनेर सुटुक्क
यो धड्की रहेको मुटु-
यो फेरि रहेको शास-
ट्वाक्क रोकिए झै लाग्छ
एति “भावुक” हुन्छु कि !
मानौं-
म कुनै “ट्र्याजेडी” फिल्म हेरि रहेको छु…

सम्बन्धित खवर