खस-आर्यहरूले जस्तै हूबहु नबोल्दा किन लाञ्छना ? - Sainokhabar
  • सोमबार, कार्तिक ०८, २०७८

खस-आर्यहरूले जस्तै हूबहु नबोल्दा किन लाञ्छना ?

√रुक्साना कपाली
अङ्ग्रेजीमा एक्सेन्ट र नेपालीमा बलाघात भन्नाले कुनै मानिस, समुदाय, समाज, स्थान, जाति वा समूहको विशेष उच्चारणलाई भनिन्छ । कुनै मानिसको बलाघात निजको जातीयता, भाषिकता, वासस्थान, आर्थिक-सामाजिक वर्ग, वा मातृभाषाको प्रभावले निर्धारण गर्दछ । नेपालमा १२५ भन्दा बढी भाषाहरू बोलिने गरिन्छ । ती हरेक भाषाको आफ्नो ध्वनिविज्ञान (फोनोलोजी) हुन्छ । ती भाषामा स्वर वर्ण के-के हुन् र व्यञ्जन वर्ण के-के हुन् जस्ता विषयहरूले त्यस भाषालाई कसरी बोलिन्छ भन्ने विषय निर्धारण गर्दछ । १२५ भन्दा बढी भाषाहरू बोलिए तापनि नेपालमा विगत ३०० वर्ष देखि एउटै भाषा देशको कामकाजी भाषाका रूपमा स्थापित गरिएको छ ।
गोर्खा राज्यको विस्तारपश्चात् विस्थापित राज्यहरूको भाषा हरण भयो । विस्तारित गोर्खा राज्यको कामकाजी भाषा भएकाले “गोरखा भाषा” नाम पाएको उक्त भाषालाई विभिन्न समुदायले विभिन्न ढङ्गबाट चिन्दछन । नेवाः समुदायमा “खे भाये” वा “पर्त्या भाये”, तामाङ भाषामा “ज्यार्दी ग्योइ” वा “ज्यार्ती ग्योत्”, चेपाङ भाषामा “खस्अन्त”, ल्होवा भाषामा “रोङकेक”, इत्यादि । काठमाडौँमा यस भाषा बोल्ने मातृभाषीहरूले पनि यस भाषालाई “पर्वते कुरा” भनेर चिन्ने गर्दछन् । विस्तारित गोर्खा राज्यले नेपाल उपत्यकालाई राजधानी बनाएपछि, केही समयको अन्तरालमा “नेपाल” शब्दको पुनःव्याख्या भयो । “नेपाल मण्डल” भनेर नेवाःहरूको राज्यभरलाई चिनाउने वा “नेपाल खाल्डो” भनेर काठमाडौँलाई चिनाउने शब्दले विस्तारित गोरखा राज्यकै पुनःनामांकन बन्न पुगेपछी, “नेपालभाषा”ले “नेवारी” भन्ने नाम पायो र “गोर्खा भाषा” भने “नेपाली भाषा” हुन पुग्यो । [१]
*** *** ***
नेपाली भाषा, गोर्खा भाषा वा पर्वते कुराको इतिहास हेर्दा नेपालमा यो भाषा सम्पन्न भाषाको रूपमा स्थापित हुनका निम्ति यसले सैयौँ भाषाहरूको बलिदानी लिएको छ । शाह काल, राणा काल र पञ्चायती काल तीनै शासनमा यो भाषा बाहेक नेपालका अन्य भाषाहरूले दमन अनुभव गरे । राज्य र ऐन कानूनमार्फत अन्य भाषाको दमन पछि यो भाषाको सम्पन्नता सुरु भयो । शताब्दीऔँ अगाडिदेखि साहित्य लेखन भएका नेपालभाषा, मैथिली भाषा, लिम्बु भाषाका कोही कविता रचनाकार “आदिकवी” भएनन् तर दुई सय वर्ष नपुग्दैको समयमा कविता लेख्ने व्यक्ति “आदिकवि” कहलिन्छ । यसरी इतिहासका पानाहरू पल्टाउँदा नेपाली भाषा, गोर्खा भाषा वा पर्वते कुराको दमनकारी स्थापना इतिहासमा मात्र होइन “नेपालका सबै भाषाहरू नेपालका राष्ट्रिय भाषाहरू हुन्” भनेर लेखिएको संविधान भएको राज्यव्यवस्थामा पनि उही चरित्र झल्कन्छ ।
३०० वर्ष भन्दा लामो समय देखिको राज्यका दृश्यात्मक ऐन, कानून र नीतिनियमले राज्य व्यवस्था र प्रशासनमा मात्र नभएर हाम्रो घर, परिवार, समाज र व्यक्तिको मानसिकतामा पनि जरा गाडिएको छ भन्ने विषयलाई झल्काउने एक द्योतक हो बलाघातको आधारमा हुने विभेद, लाञ्छना र हिंसा । शक्ति र शक्तिमा पहुँच र निर्णायक भूमिकामा स्थानको सम्बन्ध अरु विभिन्न विषयहरूमा भएको जस्तै भाषामा पनि हुँन्छ । कुन भाषाले मान्यता पाउँछ, कतिको पाउँछ र कसरी पाउँछ भन्ने विषय राज्य व्यवस्था र निर्णायक तहमा भएको जनसांख्यिकीले निर्धारण गर्छ । देवनागरी लिपिमा लेखिने ‘नेपाली भाषा’ कसरी लेखिन्छ, कसरी लेखिनु हुन्छ र कसरी लेखिनु हुँदैन भन्ने निर्णय पनि टेबलमै बस्ने व्यक्तिहरूले गर्दछन् । त्यसरी कोरिएका नियमहरू शिक्षा प्रणालीमार्फत विद्यालयमा पढाइन्छ र कानूनमार्फत लागू गरिन्छ । भाषा स्तरीकरणको यो प्रयास शक्ति लागू गर्न सक्ने स्थानहरूमा मात्र काम गर्दछ । जहाँ त्यो शक्ति लाद्न सकिँदैन, त्यहाँ त्यस्ता अभ्यास हुँदैनन् ।
*** *** ***
हामीले लेख्नै पर्ने वा व्याकरण भन्दै पढ्दै आएको नेपाली भाषा त्यस भाषाको मातृभाषीहरूले समेत हूबहू बोल्दैनन् । नेपाली भाषा / पर्वते कुरा नेपालमा पूर्व देखि पश्चिमसम्म सैयौँ स्थानमा यसको सैयौँ स्वरूपहरू छन् । ती भिन्न स्वरूपहरूलाई हामीले जति टेबलमा बसेर नियम कोरेतापनि बन्धनमा राख्न सक्दैनौँ । जहाँ जहाँ शक्तिले काम गर्छ, व्याकरण र नियमहरू त्यहाँ मात्र “पुलिसिङ” हुन सक्छ । “यसरी लेख्यो भने हामी निवेदन लिँदैनौँ, यसरी लेख्यो भने परिक्षामा फेल हुन्छौँ । यसरी बोल्यो भने मार्क्स दिन्नँ ।”
नेपाली भाषा मातृभाषी भित्र त तरल र विविध ढङ्गले अस्तित्वमा छ र विकास हुँदैछ भने गैर-मातृभाषीहरूमा यो भाषा भिन्न ढङ्गले बोलिनु स्वभाविक हो । तर नेपालको समाजमा गैर-मातृभाषीहरूले यो भाषा बोल्दा उसलाई हाँसो पात्र र विवेकहीन व्यक्तिका रूपमा चित्रण गरिन्छ । किताबका अक्षरहरूमा नेपाललाई बहुभाषिक देश, विविधतामा एकता भनेर रटाइन्छ तर त्यही किताब पढाउने शिक्षकले केही विद्यार्थीहरूलाई छानी छानी शब्दहरू उच्चरण गर्न लगाइन्छ । जसरी त्यस शिक्षकले उच्चरण गर्दछ, हूबहू उच्चरण गर्न नसक्ने विद्यार्थीहरू हाँसोका पात्र हुन्छन् र विवेकहीन कलहिन्छ । ठ्यक्कै भन्नु पर्दा खस-आर्य बाहुन क्षेत्रीले जसरी बोल्छ त्यस्तै बलाघातमा बोल्न जानिएन भने ऊ हास्यासपद मात्र होइन विवेकहीन पनि हुन्छ ।
नेपालकै मात्र कुरा गर्ने हो भने यस्तो छ । यो भाषा बोल्ने मानिसहरूको भारत, म्यान्मार, भुटान लयागतका देशहरूमा शताब्दीऔँ देखिको बसोबासमा त्यहाँ पनि यो भाषाले अनेकौँ विकासको रूप लिइसकेको छ । नेपालमा बोलिने सबै भाषाभाषीहरूको आफ्नै ध्वनिविज्ञान हुन्छ । कुन भाषामा के कस्ता ध्वनिहरूको अस्तित्व हुन्छ भन्ने विषय भाषै पिच्छे फरक हुन्छ । त्यसैले आफ्नै मातृभाषाका रूपमा घरमा समाजमा नेपाली भाषा बोल्ने व्यक्तिहरूको भाषा र मातृभाषी नरहेका व्यक्तिहरूका निम्ति त्यही भाषा फरक हुन्छ ।
बलाघातको आधरमा हुने लाञ्छनाको एउटा उदाहरण नेवाः समुदायलाई “ट, ठ, ड, ढ” र “त, थ, द, ध”को उच्चारणमा गरिन्छ । नेपालभाषाको लेखन अभ्यासमा “त, थ, द, ध” भन्ने अक्षरहरू लेखिन्छ, तर ती अक्षरहरू नेपाली भाषा / पर्वते कुराका “ट, ठ, ड, ढ” वा “त, थ, द, ध” दुबै जस्तो उच्चरण हुँदैन । नेपालभाषामा “त, थ, द, ध” भन्ने अक्षरहरू Alveolar stop हो अर्थात् यो उच्चरण गर्दा जिब्रोलाई माथिल्लो दाँत र गिजा जोडिएको पछाडीको भागमा ठोकाएर बोलिन्छ । नेपाली भाषामा भने “ट, ठ, ड, ढ” Plosive Retroflex अर्थात् जिब्रोलाई तालुमा ठोकाएर बोलिन्छ र “त, थ, द, ध” Plosive Dental हुन् अर्थात् जिब्रोलाई दाँतमा ठोकाएर उच्चारण गरिन्छ । त्यस्तै नेवाः समुदायमा “अय् ,आय् ,एय्” जस्ता वर्णहरू नेपालीमा छँदै छैन । यी दुई फरक भाषाहरू हुन् र यी दुई भाषा फरक समुदायहरूले बोल्दछन् । तैपनि खस आर्य समुदायको बलाघातलाई मापदण्ड मानेर नेवाः समुदायका व्यक्तिहरूलाई लाञ्छना लगाइने गरिन्छ । तामाङ, शेर्पा, ल्होवा, इत्यादी भाषाहरूमा अल्पप्राण र महाप्राण वर्णहरू छुटिँदैन, अर्थात् “ग” र “घ”मा स्पष्ट बोली छुट्याउन आवश्यक छैन । नेपालका सबै भाषाहरूको यसरी नै भाषाविज्ञान छ । तर हामीले यति विविध र तरल भाषिक विशेषता भएको देशमा एउटा समुदायको बलाघातलाई मापदण्ड मानेर सो अनुसार सबैले बोल्छ कि बोल्दैन भनेर विवेक छुट्याउनु भनेको मूर्खता हो ।
*** *** ***
नेपालमा नेपाली भाषा / पर्वते कुरालाई सबै नेपालीहरूकै मातृभाषा सरह नै हेरिनु र यो भाषाको शिक्षण पनि त्यसरी नै गराइनु नै समस्या हो । जसको घरमा यो भाषा मातृभाषा हो, उसको मष्तिस्कमा यो भाषाको जग सब्बल हुन्छ, उसले त्यस भाषाको सुक्षामान्तर (नुवान्सेस) बुझ्दछ र सो भाषाको सांस्कृतिक परिवेशसँग पनि भिज्दछ । तर गैर-मातृभाषीहरूका निम्ति यो भिन्न हुन्छ । हाम्रो समाजमै कतिपय अभिभावकहरू आफ्नो मातृभाषा प्रतिको यो लाञ्छनाका कारण आफ्नो बालबच्चाहरूलाई मातृभाषा बोल्दैनन् र सिकाउँदैन्, तर यो हुँदा हुँदै पनि नेपाली भाषा मातृभाषा नभएका अभिभावकहरूले आफ्नो बच्चाहरूलाई बोल्ने नेपाली भाषा र नेपाली भाषा नै मातृभाषा भएका अभिभावकहरूले आफ्नो बच्चाहरूलाई बोल्ने नेपाली भाषामा ठूलो अन्तर हुन्छ नै । बलाघातको कुरा मात्र होइन, व्याकरणका नियमहरू पनि यस्तै अव्यवहारिक छन् । अधिकांश जनजाति वक्ताहरूले खस-आर्य क्षेत्री बाहुन समुदायले जस्तै महिला पुरुष भनेर भाषा छुट्याउँदैन । कतिपय हाम्रा भाषाहरूमा यसरी छुट्याउन आवश्यक नै छैन । तर महिला आए पनि आएकै हो, पुरुष आए पनि आएकै हो, यसमा आयो र आइन् छुट्याउन आवश्यक नठान्ने जनसंख्या माथी किन लाञ्छना ? कतिपय वक्ताहरूलाई नाम शब्द पछाडी “हरु” थपेपछी नै वहुवचन हो भन्ने बुझ्न सक्छन् । त्यसैले गर्छ – गर्छन् को भेद गर्नुपर्दैन ।
ह्रस्व दीर्घकै कुरा गर्ने हो भने, नेपाली भाषामा ह्रस्व दीर्घ हुँदैन । यो लिखित भाषामा मात्र सीमित छ । ह्रस्व – रसोको अर्थ हो छोटो उच्चरण र दीर्घको अर्थको लामो उच्चरण । नेपाली भाषाको भाषाविज्ञान अध्ययनमा पनि यही भनिन्छ । नेपाली भाषी वक्ताहरूले ह्रस्व दीर्घमा भेद गर्दैन । लेख्दा “तिमी” लेखेपनि बोल्दा “तिमि” नै बोल्ने हो । यसरी रसो दीर्घ नै नभएको भाषामा लगभग ४० वटा नियमहरू ह्रस्व दीर्घ सम्बन्धी नै छन् । रसो दीर्घ माथि प्रश्न उठाउँदा अर्थ अनमेल हुने तर्क धेरै आउँछ । सीता भए मान्छेको नाम, सिता भए भातको सिता । फूल भए फुल्ने फूल र फुल भए अण्डा । तर यो तर्क को अर्थहीनता केमा छ भन्दा यो अर्थ भेद लेख्दा आँखाले हेरेर छुट्याउँछ तर बोल्ने बेला त रसो दीर्घ फरक गरी बोल्दै बोल्दैन । त्यस्तो बोल्दा खेरी भेद नहुँदा त कुनै अन्योलता छैन भने लेख्दा खेरी भेद नहुँदा कसरी अन्योलता आउँछ ? हामी अधिकांश जनजातिहरूको भाषामा एउटै शब्द, एउटै लेखाईको पनि अनेक थरी अर्थ लाग्ने प्रशस्तै शब्द छन् । हाम्रो भाषाहरूमा कहिल्यै गाह्रो भएन । अझ यो त ख्याल ठट्टा रमाइलो गर्ने माध्यम पो बनेको छ बरु ।
दिसा र दिशा : नेपाली भाषाको भाषाविज्ञानमा “श, ष” छैन, छ त मात्र “स” । कुनै पनि नेपाली मातृभाषीले “श, ष” बोल्दैनन् । कसैको बोलीमा तीनवटा “स” छुटिँदैन । दिसा भन्दा जीवजन्तुको पाचन प्रणाली सकेपछी निस्कने मल र दिशा भनेको पूर्व पश्चिम उत्तर दक्षिण । अब यदि विद्यालयको किताबमा एउटामा “स” लेख्ने, अर्कोमा “श” लेख्ने भनेको नसिकाएको भए मानिसहरूलाई बोलीचालीकै भेद स्वभाविक लाग्थ्यो । “म दिसा गर्न जान्छु” भन्दा कसले चाही पूर्व पश्चिम उत्तर दक्षिण गर्न जान्छु भनेर बुझ्छ ? “तिमी उत्तर दिसामा लाग” भन्दा कसले चाही दिसापिसाब भनेर बुझ्छ ? वास्तवममा हो भने यो अव्यवहारिक नियमहरूलाई जोगाउनको लागि मात्र यस्तो त्रास देखाइएको हो । मातृभाषीहरूले समेत “स” र “श”मा भेद नगरी बोलीचाली गर्दा कुनै समस्या नआएको, अनावश्यक अक्षर हटाएर भाषा सरल बनाउन खोज्दा यस्तो त्रास देखाउनुको अर्थ नै छैन ।
वास्तविकता भन्ने हो भने, नेपाली व्याकरण भनेर रटाइएको भाषा वा यो लेखमा नै लेख्य भाषा भनेर प्रयोग गरिएको भाषा म र म जस्ता हजारौँ लाखौँ व्यक्तिहरूलाई अस्वभाविक लाग्छ । न हाम्रो समुदायमै त्यसरी बोलिन्छ, बोल्नु पर्छ वा बोल्न आवश्यक नै छ । विभेद र वर्चस्वका यस्ता कैयौँ उदाहरण भएपनि, शक्ति जनाउन नसक्ने स्थानहरूमा यसको डेग चल्दैन । समुदायमा आएर खस-आर्य समुदाय केन्द्रित व्याकरण अनुसार भाषा बोल भनेर कसैले पुलिसिङ गर्न सक्दैन । यस्ता कुण्ठित भाषाको विरोध नभएको पनि होइन । सामाजिक संजाल र व्यापक हुँदै गएको अनलाइन मिडियाले यस्तो विविध भाषिकाहरूलाई स्थान पनि दिएको छ । नेवाः समुदायलाई सुहाउँदो र अनुकूल छुट्टै व्याकरणको पनि प्रकाशन भइसकेको छ ।
नेपाली भाषालाई सम्पर्क भाषा भनेर मान्ने हो र विभिन्न भाषाभाषी बीच संवाद गर्ने भाषा बनाउने हो भने सम्पर्क भाषाले “नेटिभिटी” गुमाउनै पर्छ । अङ्ग्रेजी भाषा बेलायतको व्हाइट मानिसहरूले बोल्ने भाषा मात्र रहेन । विश्वभरी अङ्ग्रेजी भाषाको सैयौँ विविधता छ : अमेरिकी अङ्ग्रेजी, भारतीय अङ्ग्रेजी, अफ्रिकी अङ्ग्रेजी । अमेरिकी अङ्ग्रेजी पनि अमेरिकाको प्रान्त, जिल्ला र स्थान अनुसार अझै फरक-फरक रूप लिन्छ । भारतीय अङ्ग्रेजी पनि प्रान्त अनुसार फरक-फरक छ । व्हाइट इङ्गिश मानिसहरूले विश्वभरी बोलिने अङ्ग्रेजी भाषा उनीहरूले बोलेझैँ हुनैपर्छ भनेर भन्न मिल्दैन । त्यसै गरी नेपाली भाषालाई नेपालको १३० भन्दा बढी भाषा बोल्ने जनसंख्याको सम्पर्क भाषा मान्ने हो भने नेपाली भाषाले पनि यी सबै भाषाभाषीले ल्याउने प्रभावलाई स्वीकार्न सक्ने क्षमता राखुपर्दछ । नेपाली भाषा नेपालको सम्पर्क भाषा जनताको छनोटले भएको हैन, राज्य व्यवस्था र नीतिले भएको हो । अङ्ग्रेजी भाषा पनि संसारका सबै जनताको इच्छा चाहनाले फैलिएको हैन, अङ्ग्रेजी उपनिवेशको दमनबाट फैलिएको हो ।
प्रान्तीय सरकारहरूले नेपाली भाषा बाहेक अरु भाषाहरू पनि औपचारिक कामकाजीको भाषा बनाउन सक्ने व्यवस्थालाई कार्यन्वयन भएपछी नेपाली भाषाको वर्चस्व अवश्य नै डगमगाउँछ । त्यसै गरी प्रदेश सरकारहरूले नेपाली भाषाको प्रयोगमा आफ्नो स्थानीय भाषाको प्रभावहरूलाई पनि स्वीकार्दै अझै फराकिलो बनाउँदै लैजानु पर्छ । नेवाः समुदायमा प्रचलित नेपाली भाषा सम्बन्धी छुट्टै व्याकरण निर्माण गरेर वर्चस्वलाई चुनौती दिएजस्तै यस विषयमा अझ थप अनुसन्धान र अभ्यास गर्दै लग्नुपर्छ ।
धन्यवाद ।
[लेखक रुक्साना कपालीका थप लेखहरू rukshanakapali.com मा गएर पढ्न सकिनेछ]

(नेपाल मण्डल(नेवा: प्रदेश) काे यल:(पाटन) की कपाली विशेषत: लैङ्गिक अल्पसंख्यककाे मानवअधिकारकाे पक्षमा अावाज उठाउँछिन् । सामुदायिक अधिकार, पत्रकारिता, ब्लग लेखनमा सक्रिय रुक्सानाले त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञान अध्ययन गरिरहेकी छिन् । उनले सन् २०१९ मा बेलायतस्थित युनिभर्सिटी अफ याेर्कमा फेलाेसिपअन्तर्गत मानवअधिकार प्रतिरक्षासम्बन्धि काेर्स पनि पूरा गरेकी छिन् । जुझारु युवा सँस्कृतिकर्मी रुक्षना कपालीले  ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर