नेपाली पैसा वा नोट निष्काशन गर्ने प्रक्रिया : - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

नेपाली पैसा वा नोट निष्काशन गर्ने प्रक्रिया :

√हितराम तिलिङ
नेपाली पैसा वा नोट कसरी छापिन्छ ?
कुनै पनि देशको नोट निष्काशन त्यस देशको केन्द्रीय बैंकले गर्छ । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक हो ।
नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ ले नेपाल राष्ट्र बैङकलाई नेपालमा आर्थिक क्रियाकलापका लागि नोट वा पैसा छाप्ने एकाधिकार दिएको छ। नेपाल राष्ट्र बैंकले पैसा वा नोट छाप्दा सुरक्षण राख्नु पर्छ । सुरक्षण बापत राखिने सम्पतिको कमसेकम ५०% सुन, चाँदी, विदेशी मुद्रा, विदेशी धितोपत्र र विदेशी विनिमय अधिकार पत्रमध्ये एक वा एक भन्दा बढीमा र अरू बाँकी प्रतिशत सिक्का, नेपाल सरकारले निष्कशन गरेको ऋणपत्र र नेपाल राष्ट्र बैंकबाट पुन: भुक्तानी दिएको बढीमा अठार महिनाभित्र नेपालमा नै भुक्तानी हुने प्रतिज्ञापत्र वा विनिमय पत्रमध्ये एक वा एक भन्दा बढीमा राखिने व्यवस्था छ । तर नेपाल सरकारले स्वीकृति दिएमा सुरक्षण बापत राखिने सम्पतिको कमसेकम ४०% सुन, चाँदी, विदेशी धितोपत्र र विदेशी विनिमय अधिकार पत्रमध्ये एक वा एक भन्दा बढीमा र अरू बाँकी प्रतिशत नेपाली सिक्का, नेपाल सरकारले निष्काशन गरेको ऋणपत्र र नेपाल राष्ट्र बैंकबाट पुनः भुक्तानी दिएको बढीमा अठार महिनाभित्र नेपालमा नै भुक्तानी हुने प्रतिज्ञापत्र वा विनिमयपत्र मध्ये एक वा एक भन्दा बढी पनि राख्न सकिने व्यवस्था छ ।
नेपाली पैसा वा नोट कहाँ छापिन्छ ?
नेपालका नोटहरू चीन, जर्मनी, स्वीडेन, बेलायत, नेदरल्याण्ड, क्यानडा, फ्रान्स, रसिया, इन्डोनेसिया लगायतका मुलुकहरूको नोट निष्काशन तथा पैसा छाप्न्ने कम्पनीहरूमा छापिन्छन् । हालै नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी “चाइना प्रीन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन” लाई दिएको छ । नोट छाप्न नेपाल राष्ट्र बैंकले गरेको बोलपत्र आव्हानमा कम रकमको टेन्डर हालेपछि चिनियाँ कम्पनीले हात पारेको हो । उक्त कर्पोरेसनले १० रुपैयाँको २४ करोड थान र ५ रुपैयाँको ३० करोड थान नोट छाप्नेछ । सबै मुलुकले आफ्नो देशका नोट वा पैसा आफ्नै देशको कम्पनीमा छाप्दैनन् । उनीहरूले आफ्ना देशको एक स्थानको एउटा कम्पनीबाट मात्रै पैसा छाप्ने गर्दछन् । नोट छाप्नुपूर्व नेपाल राष्ट्र बैंकले ‘ग्लोबल टेन्डर’ आह्वान गर्दछ । यसमा विश्वका झन्डै २० वटा कम्पनीले आवेदन दिने गर्दछन् । तर नेपाल राष्ट्र बैंकले यसमध्ये १० वटा कम्पनीलाई मात्रै ‘प्रि-क्वालिफिकेसनको सूचीमा समावेश गर्ने गरेको छ । ‘प्री-क्वालिफीकेसनमा’ परेका कम्पनीको प्राविधिक, र आर्थिक सर्वेक्षण अध्ययन गरेर मात्रै नेपाल राष्ट्र बैंकले कम्पनी छनौट प्रक्रिया टुङग्याउँछ । यद्यपि नोट छाप्नका लागि निश्चित प्रक्रिया तय गरिएको हुन्छ । सरकारले माथि उल्लेख गरे अनुसार सुन, विदेशी सरकारहरूको ‘सेक्यूरिटीज’ खरिद गरेको हुन्छ । यस्तो ‘सेक्यूरिटीज’मा लगानी गर्दा त्यसको व्याज पनि पाइन्छ । चाहिएको बेलामा लगानी फिर्ता लिन सकिन्छ । यो सरकारको सम्पति हो । यिनै तत्वहरू समेत मिलाएर अर्थतन्त्रमा जति नोट सार्वजनिक गर्नुपर्ने हो, त्यस बराबरको सम्पति हामीसँग छ भनेर कागजात तयार गरिएको हुन्छ । यी विभिन्न प्रक्रिया पूरा गरी छापेको नोट सिधैँ बजारमा पठाइँदैन । छापिएका नोटको ‘प्रिफेक्स’ नम्बर चलनमा ल्याएको राष्ट्र बैंकले सूचना जारी नगर्दासम्म त्यो नोटको मान्यता हुँदैन । त्यसैले राष्ट्र बैंकले सूचना जारी गर्नुपूर्वसम्म मुद्रा व्यवस्थापन विभागको स्टोर रुममा सुरक्षित रुपमा नोट राख्छ । नोटमा प्रशस्त मात्रामा सुरक्षा चिह्न (सेक्युरिटी फिचर) राखिएको हुन्छ । नोटमा ‘एनआरबी’ लेखिएको सेक्युरीटी थ्रेड (एक प्रकारको धागो) राखिएको हुन्छ । नोट प्रिन्ट गर्दा नै यो धागोको केही भाग नोट बाहिरै देखिने गरी मिलाईन्छ भने केही भाग नोट भित्र लुकेको हुन्छ यसका साथै नोटमा सामान्य आँखाले नदेखिने ‘सेक्युरिटी फिचरहरू’ प्रशस्त मात्रामा राखिएको हुन्छ । नक्कली नोट बजारमा आउन नसकोस् भनेर अभिप्रायले यस्ता सुरक्षा चिह्न राखिएको हो ।
च्यात्तिएका पैसा वा नोट के गरिन्छ ?
बैङ्कले झुत्रो मुद्रालाई खिच्ने, नष्ट गर्ने वा अन्य नोटसँग सटही गरिदिन सक्नेगरी ऐनको दफा ५७ मा व्यवस्था गरिएको छ । बैङ्कले डिजाइन मेटिएको, च्यातिएको, विकृत वा ५० प्रतिशतभन्दा बढी भाग नभएको नोट सटही गर्न इन्कार गर्न सक्नेछ । राष्ट्र बैङ्क ऐनको दफा ६० अनुसार बैङ्कले नेपालभित्र चलनचल्तीमा रहेका नोट शोधभर्ना दिने गरी खिच्न वा फिर्ता लिन सक्छ । त्यसरी खिचेका नोट तथा त्रुटियुक्त मुद्रा तोकिएबमोजिम धुल्याउने, काट्ने, फुटाउने वा अन्य कुनै पनि किसिमले नष्ट गर्न सक्छ । नोट छापिएर विभिन्न माध्यमबाट बजारमा गएपछि पुनः त्यो नोट राष्ट्र बैङ्कमै फर्कन्छ । केरमेट भएका, च्यातिएका, आगोले खाएका आदि पुराना नोटहरू राष्ट्र बैङ्कले खिची त्यसको सट्टामा नयाँ नोट बजारमा पठाउँछ । च्यातिएर वा आगलागी भएर वा पूर्णरूपमा काम नलाग्ने भएका नोटहरू राष्ट्र बैङ्कमा फर्कंदैनन् । बैङ्कमा नफर्केका यस्ता नोटहरू नेपाली बजारमा चलायमान भइरहेको मानिन्छ । तर, कतिपय अवस्थामा डढेको वा च्यातिएको नोट भए पनि नम्बरसहित त्यसको २ तिहाइ भाग भएको खण्डमा राष्ट्र बैङ्कबाट भुक्तानी पाउन सकिन्छ ।

(लेखकले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर