याद - Sainokhabar

याद


मञ्जुल मितेरी
बर्षौं अघि
छुट्ने बेलामा तिमीले भनेकी थियौ-
दुईचार दिन न हो गाह्रो हुने
त्यसपछि त बिस्तारै बिस्तारै
समयसॅगसॅगै
याद पातलिदै जानेछ
र, भूल्ने छौ तिमीले मलाई ।
खोई त
याद कहाॅ पातलियो?
हामीजस्तै कलिलो त्यो आॅपको रुख
त्यस्को सानो छहारीमा बसेर हामी
हाम्रो भविष्यका सपनाहरुको कुरा गर्थ्यौं
अहिले त कत्रो ठूलो भा’छ
आॅपको रुख
केही दिनमा बिलाउॅछ होला भनेको त्यो याद
त्यो आॅपको रुखसॅगै
झन् ठूलो ठूलो पो हुदैं गयो बर्षेनी
त्यसको बढ्दै गरेको छाॅयाजस्तै
झनझन् फैलिदै पो गयो
बर्षेनी फूल्न पो थाल्यो
झन् फल्न पो थाल्यो
त्यो आॅपको रुखसॅगै
यादहरु
खोई त घटेको?
हामीले सॅगै हिंड्ने गोरेटो पनि
तिम्रो यादजस्तै
फराकिलो सडक भएको छ अचेल
अनि अनवरत कुदिरहन्छन् यहाॅ
केवल तिम्रै यादका सवारीहरु
खोई त तिम्रो याद मेटिएको?
तिम्रो हात समातेर
एकै फड्कोमै नाघ्ने गर्थ्यौं त्यो खोल्सा
अहिले त मेरो मनभित्र
प्रत्येक साॅझ तिम्रो यादले
गईरहने पहिरो झैं
त्यसको पनि पहिरो गएको छ दुई किनारमा
बिर्सनै नसकिने तिम्रो यादजस्तै
तर्नै नसकिने भएको छ यो
बर्षौंअघिदेखि बगिरहेछ यो
कतै टाढा आफ्नो मायालुलाई भेट्न
या त तिम्रै अविरल यादमा हराएको म जस्तै
कतै दूरको समुद्रमा बिलीन हुन
बर्षौं अघिदेखि म
तिम्रा यादहरु मनमा पोको पारेर
बसिरहेछु यही किनारमा
बिन्ती –
तिम्रा सबैसबै यादहरु बगाउने
आॅशुको एउटा खहरे पठाईदेऊ न है!
-४ बैशाख २०७७, जापान

सम्बन्धित खवर

%d bloggers like this: