लिम्बुवानका पुराना थातथलोहरू - Sainokhabar

लिम्बुवानका पुराना थातथलोहरू

√राज माङलाक
नेपालको पूर्वी पहाडमा बस्ने लिम्बुहरू आफूलाई याक्थुङ्बा भन्छन् तर अन्य जातिले उनीहरूलाई लिम्बु भनेर सम्बोधन गर्दै आएका छन् । लिम्बुवान क्षेत्र उनीहरूको मुख्य र आदिम थातथलो वा पुर्ख्यौली भूमि हो । यो भूमिसँग लिम्बूहरूको विरासत जोडिएको छ । अहिले COVID-19 ले संसारका मानिसहरूको मनोविज्ञान विगारेको छ । सुरक्षाका निम्ति संसारभर लकडाउन चलिरहेको छ । यो बेला सकारात्मक सोचका साथ जुझारु युवा लेखक अमित याक्थुङ्बाले ‘ज्ञान यात्रा’ सुरु गरेका छन् । यो आतङ्कमय समयमा मानिसका निम्ति यसले सहानुभूति पनि प्रदान गरिरहेको छ । यो यात्रामा थुप्रै विद्वतवर्ग सहभागी भइरहेका छन् । पान्थर थुमका केही थातथलोका रमाइला प्रसङ्गहरू राखेर म पनि यो यात्रामा सहभागी हुन चाहन्छु ।
तरेसिक लुङ (पाहुनाले उचाइ नाप्ने ढुङ्गा) :
उहिले लिम्बुवानमा सुभाङ्गी प्रथा थियो । यो समयमा सुब्बाहरू प्रशासक थिए । पान्थर (पाँचथर) थुममा तीन वटा मौजा (प्रशासनिक कार्यालय) थिए । १८ सुब्बाको मौजा केन्द्र याङ्नाममा थियो । यसको प्रमुखमा थेगिमहरू थिए । अर्को ३७ सुब्बाको मौजा केन्द्र माक्लुम्बा (हालको रानीटार) थियो । यसको प्रमुखमा नेम्बाङहरु थिए र ७ पगरी (पापोहरु) को केन्द्र यासोकमा थियो । प्रमुखमा भने पापोहरू थिए ।
तरेसिक ढुङ्गा विशेषगरी ३७ सुब्बाका नेम्बाङ र ७ पगरीका पापोका लागि गाडिएको हो । बिहेका लागि होचा कदका केटामात्र बारम्बार लिएर केटी माग्न आउन थालेपछि १८ सुब्बाका थेगिमहरूले अब बेहुला ल्याउँदा यो ढुङ्गामा उचाइ नापेर मात्र आउनु भनेर गाडेका हुन् । ढुङ्गाको उचाइ बराबरको बेहुला मात्र थेगिमहरूले स्वीकार गर्ने भए । यसको उचाइ लगभग साढे ६ फुटसम्मको देख्न सकिन्छ । स्थानीय बुढापाकाका अनुसार ढुङ्गा अझ अग्लो थियो । सडक निर्माणका क्रममा आधाजति नै पुरिएको छ । यो ढुङ्गा अहिले पनि पाँचथर नाङ्गिनको तृतीया बजारमा देख्न सकिन्छ । तरेसिक लुङबाट तर्सिक हुँदै अहिले अपभ्रंश भएर तृतीया नाम रहेको छ ।
अनुसन्धानका क्रममा लिइएका तस्वीरहरू ।
याङ्नाम (पैसा बिसाउने ठाउँ) :
उहिले इलाम चारखोलादेखि ताप्लेजुङ अमिनमा पैसा (तिरो) पुर्याउन जानु पर्थ्याे । त्यो बेला हिँडेरै पैसा पुर्याउनु पर्ने हुनाले चोरी, डकैतीको प्रशस्त डर हुन्थ्यो । आधाबाटोमा बास नबसी पुगिन्न थियो । चोरी र डकैतीबाट सुरक्षित स्थल मानिएको यो ठाउँमा बास बस्न थालियो । यही बास बस्ने ठाउँबाट याङ्नाम नाम रहेको हो । लिम्बु भाषामा याङ् (पैसा) नाप्सु (बिसायो) भएर याङ्नाम भएको स्थानीय बुद्धिजीविको कथन छ ।
अहिले भने अपभ्रंश भएर खलङ्गाटार भएको छ । पछि गोर्खा सेनाहरू यहाँ आएर बस्न थालेपछि परेड खेल्ने टारका रूपमा परिणत भयो । यहाँ बसेका सेनालाई श्रीजङ्ग पल्टनका नामले चिनिन्थ्यो । यसमा लिम्बुहरू मात्र भर्ती हुन्थे । जङ्गबहादुर शिकारमा सौखिन थिए । सानोमा आफ्ना पितासँग पूर्व लिम्बुवान घुमेका उनले लिम्बु युवाहरुसँग सङ्गत गरे । लिम्बु सेनाहरूले जङ्गली जनावरको शिकार गरेर मासुको जोहो गर्थे । उनले शिकार गर्नमा लिम्बूहरू निक्कै सूरो भएको पायो र प्रभावित पनि भएको थियो । फलस्वरुप पछि श्री ३ प्रधानमन्त्री भएपछि शिकार मात्र गर्ने उद्देश्यले उनले काठमाडौँमा शिकारी पल्टन पनि खोलेका थिए । यसमा पनि लिम्बु मात्र भर्ती हुन्थे । यो पल्टनको काम शिकारमा सहयोग पुर्याउनु हो । लिम्बुहरू बढी झ्वाँकी र विद्रोही स्वभावका हुन्छन् भन्ने बुझेपछि यो पल्टनलाई पछि हटाइयो ।
वुद्धिजीवि कृष्णगोविन्द चेम्जोङका अनुसार श्रीजङ पल्टनका सेनाको रासनपानीका लागि लिम्बुवानका सुब्बाहरूले माटो चढाउनु परेको थियो । चौविसका सुब्बाले घुमाउने खेत चढाए । पान्थरका सुब्बाले डिहिटार खेत, छथरका सुब्बाले कक्वाफक्वा खेत, संखुवासभाका सुब्बाले मैदाने खेत चढाए । यसैगरी फेदापका सुब्बाले, याङ्वरकका सुब्बाले, तमोरखोलाका सुब्बाले पनि सबैभन्दा उब्जाउ योग्य खेतहरू रासनपानीका लागि चढाउनु परेको थियो । लिम्बुको किपट गुम्न थालेको यो पहिलो चरण हो ।
तिङ्देन (काँडाले बारिएको ठाउँ) :
पहिले पूर्व लिम्बुवानमा पनि ससाना राज्यहरू थिए । राजाहरूले आआफ्नो राज्य व्यवस्थाका निम्ति निश्चित क्षेत्र बाँधेर राजकाज गर्थे । त्यो समयको इतिहास हालको तिङ्देन ठाउँले अझै बोकेको छ । स्थानीय लाल अन्जान सम्बाहाङ्फेका अनुसार १३औं शताब्दीमा (अनुमानित) ताप्लेजुङ्का साँवा राजाले पान्थरका पापोहाङ राजाको राज्यस्थिति बुझ्न फेवा युवतीलाई दूतका रुपमा पठाए । उनी सुन्दरी थिइन् । पापो राजाको गोप्य पक्ष पत्ता लगाउन पठाइएकी ती युवतीलाई उल्टै पापोहरूले आफ्नो वशमा पारे । त्यसपछि ऊ मार्फत साँवाको गुप्त योजनाहरू थाहा पाए । साँवाका फौजलाई जाँड, रक्सीले मताउन सके जित्न सकिने कुरा युवतीले खुलाइन् । आफूले युद्ध गर्न नसक्ने भनेर पापोहरूले झुठो खबर पठाए । साँवाराजा हो न हो भनेर सेनासहित हालको यासोकमा मिल्न भनेर आए । योजनामुताविक जाँडरक्सीले मताएर भकाभक काटि मार्न थालियो । साँवाराजाले केही खाएका थिएनन् । ऊ घोडाबाट भाग्यो ।
पाँचथर रानीगाउँका धेरै ठाउँमा उनलाई खेदाइयो । घोडाबाट ज्यान बचाउन सकेसम्म भाग्ने प्रयास गरे । यसरी भाग्दाभाग्दै पनि उनलाई हालको हाङ्ठ्वामा भेट्टाइयो । त्यहीँ उनलाई ढुङ्गाले हानेर मारियो । हाङ (राजा) लाई ढुङ्गाले ठ्वाकिठ्वाक हानेर मारिएको हुनाले यो ठाउँलाई अहिले हाङठ्वा भनिन्छ । साँवाराजाका सेनाहरू पुनः आएर आक्रमण गर्लान् भनेर पापोहरुले काँडाले बार बारे । त्यो बारिएको ठाउँलाई अहिले तिङ्देनका नामले चिनिन्छ । साँवा राजाले चढेको घोडा पुरिएको ठाउँ अहिले पनि देख्न सकिन्छ ।
दूतको रुपमा पठाइएकी फेवाका पूर्खाहरू पाँचथरको नाङ्गीनमा बस्थे । उनीहरूको प्रचीन थातथलो यहीँ हो । अहिले पनि यहाँ बसोबास गर्छन् । तर दूतको रुपमा पठाइएकी ती युवती भने यसोकमै पापोहरूसँग बसिन् । फेवा युवतीका सन्ततिहरू अहिले यासोक सुब्जानीमा फेउदिन थर भएर बसेका छन् ।
हाङ्मा वरक (रानी ताल) :
उहिले तमोर किनारमा रानीभीर थियो । त्यसमा बस्न लायकको ओढार पनि थियो । ओढारमा चेक्तेनहाङ (राजा) र हाङमा (रानी) बस्थे । एकदिन शिकार खेल्दैजाँदा उनीहरू एउटा पोखरीमा पुगे । त्यहाँको पानी खाँदा छुट्टै स्वाद आयो र स्फूर्ती पनि भयो । त्यहाँ कुम्बाइक्पा (भाले) र कुम्माइक्मा (पोथी) दुईवटा पोखरी थिए । हाङमाले त्यहाँको पानीले नुहाउँदा छुट्टै अनुभूति प्राप्त गरेपछि पानी जोखिन् । जोख्दा पानीको तौल गह्रौं भएको पाइन् । त्यसपछि हरेक दिन त्यस पोखरी वरपर हाङमा देखा पर्न थालिन् । गाउँछिमेकका मानिसले विस्तारै यो पोखरीलाई हाङमा वरक (रानी पोखरी) भन्न थाले ।
यो पोखरीको पानीले नुहाउँदा शरीरका विभिन्न रोग, खटिरा निको हुन्छ भन्ने जनविश्वास बढ्दै गयो । पोखरी वरिपरिका मानिसले अहिले पनि पवित्र पानीदेवीका रुपमा पूजा गर्दै आएका छन् । पञ्चायत कालमा हाङमा वरकबाट हाङमा पाङभे हुँदै अहिले रानीगाउँ नाम बनेको छ । यो हालको पाँचथरको कुम्मायक गाउँपालिकामा पर्छ ।

(प्राध्यापन पेशा र साहित्यिक कर्ममा तल्लीन माङ्लाकलेले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर

%d bloggers like this: