मेन्जो सेन्जो : कोभिड-१९ र यसको सेरोफेरो - Sainokhabar

मेन्जो सेन्जो : कोभिड-१९ र यसको सेरोफेरो

√विजय लुम्फुङ्वा लिम्बु
म बेलायत आएपछि सबै भन्दा धेरै धरानको भेट्ने साथी भनेको अमीत थेवे नै हो । हामी दुवै केन्टमा छौं अनि मेरो कार्यालय अमितकै शहर आसफोर्डमा छ । सायद धरानमा रहँदा देखिकै राजनीतिक र सामाजिक गतिविधिमा समान उद्देश्य र क्रियाकलापमा सहभागी भएकोले होला । उनीसँग गफगाफ गर्नु मज्जा आउँछ । कहिले विगतको कुरा गरेर आनन्द लिन्छौं त कहिले समसामयिक विषयमा ।
आजभन्दा एक हप्ता अगाडि होला अमितजी र मेसेन्जरमा गफ गर्ने मौका मिलेको थियो । गफ धेरै त अहिलेको महामारी कोभिड-१९ को नै थियो । अमितजी आफैँ पनि लकडाउनमा हुनुहुन्थ्यो भने म पारिवारिक सेल्फ आइसोलेसनमा थिएँ । किनकि मेरी श्रीमतीलाई दुई हप्ता अगाडि रुघाको लक्षण देखिएको थियो जुन कारणले गर्दा श्रीमतीको कार्यस्थल विलियम हार्भी अस्पतालको सल्लाहमा हामी परिवारै आइसोलेसनमा थियौं । अनि म आफैँ घरबाट नै कार्यालयको काम गरिरहेको थिएँ । त्यसैले गफगाफको मौका थियो नै ।
खासमा दुईवटा विषयमा हाम्रो गफगाफ भएको थियो । पहिलो बेलायतमा कोरोनाको संक्रमण किन धेरै र अर्काे कोरोनाले पारेको आर्थिक राजनीतिक प्रभाव ।
बेलायत र कोभिड-१९ :
विश्वमा पहिलो कोरोनाको भाइरस चीनमा १७ नाेभेम्बर २०१९ मा पत्ता लागेको थियो भने बेलायतमा पहिलो कोभिड-१९ को पहिलो केस जनवरी २०१९ मा पहिचान गरिएको थियो । डिसेम्बर, जनवरी र फेब्रुअरीमा चीनमा महामारीको रूप लिएको थियो । सो अवधिसम्म बेलायतको जनजीवन सामान्य नै थियो भने सरकारले खासै तयारी गरेको थिएन । मानिसहरूको भीडभाड उस्तै थियो पार्क, रेलमार्ग, बस तथा सपिङमलहरुमा । बेलायत सरकारले लकडाउनको घाेषणा २३ मार्च २०१९ बाट सुरु गर्यो । अत्यावश्यक सेवाहरू देखि बाहेक सबै कुरा बन्द गरेको छ । यति हुँदाहुदै पनि बेलायतमा कोभिड-१९ बाट हुने मृत्युहरूको संख्या दिनहुँ बढिरहेको छ । त्यस विषयमा निक्कै लामो कुराकानी भयो । अमितजीले भन्नु भयो -“ बेलायत सबै भन्दा बढी औसत आयु हुने मुलुकमा पर्दछ । यस देशको औषत आयु ८१.१७ बर्ष छ र अहिले जति पनि मानिसहरु मरिरहेका छन् । सबै बढी उमेरका र एकभन्दा बढी संक्रमणले ग्रस्त मानिसहरु छन् ।” हुन पनि हो, यहाँ सिनियर सिटिजनहरूका लागि केयरहोमहरू बढी छन् । उनीहरूमध्ये कति केयर होममा बस्छन् भने कतिपय एक्लै भएपनि आफ्नै घर वा फ्ल्याटमा बस्छन् ।
अहिले सम्मको बेलायतको कोभिड-१९ को केसलाई हेर्ने हो भने लण्डन र आसपासको क्षेत्रका धेरै छन् यसको मतलब मानिसहरूको भीडभाड, आवतजावत र चहलपहल बढी हुने क्षेत्रमा यो संक्रमण देखिएको छ । लण्डनको अण्डर ग्राउण्ड ट्युब, पार्क, बस र खुल्ला क्षेत्रहरूमा मासिनहरूको भीडभाड बेलायतको सरकारले स्टे एट होम र दुई मिटरको सामाजिक दूरी कायम गर्ने घाेषणा गर्दा पनि यथावत नै थियो । त्यसैले यो संक्रमण लण्डन वरिपरि नै बढी हुने भयो । बेलायत सरकारले मार्च २३ मा घाेषणा गरेको लक डाउनलाई पनि स्थानीय मानिसहरूले उति साह्रो पालना गरेको देखिएको थिएन । बेलायतजस्तो लोकतान्त्रिक मुलुकमा सरकारले नै बन्दाबन्दीको घाेषणा गर्दा वास्तवमा नै यहाँका नागरिकहरूको जनजीवन अस्तव्यस्त हुने नै भयो । मेरो कार्यालयको सहकर्मी केनले भनेका थिए -“ मेरो जीवनमा पहिलो चोटी यस्तो अनुभव गरेको छु । बन्दाबन्दीमा बस्दा आफैँ कैदीजस्तो महसुस भई रहेको छ ” । हुन पनि प्रधानमन्त्री वोरिस जोनसनले बन्दाबन्दीको घोषणा गरकै भोलि पल्ट स्थानीय मानिसहरू समुन्द्र विच, पार्कहरूमा उत्तिकै डुलिरहेको, हिँडिरहेको समचारहरू आई रहेको थियो । फेरि यति नै बैला सधैँ विग्रिने मौसम बेलायतमा न्यानो घाम लागिरहेको छ जसले स्थानीय मानिसहरूलाई उत्तेजित बनाउने काम गरेको छ । हामी नेपालीको लागि बन्द एक समय जीवन पद्धति नै थियो । नेपालमा हुने नेपाल बन्दको अनुभवले आज यहाँ काम गरिरहेको छ भनेर अमित र म हाँस्यौं पनि । यहाँ बेलायतमा कोभिड-१९ लाई रोकथाम र उपचारमा बेलायत सरकारले तयारी अलिक ढिलो गरेको कुरामा चर्चा भयो । खास गरी अस्पतालको निर्माण, पीपीइको सप्लाई र सर्वसुलभ परीक्षण । पहिलो कोभिड-१९ उपचारको अस्थायी अस्पताल नाइटिङगल अस्पताल लण्डन अप्रिलको पहिलो साताबाट मात्र सुरुवात भइरहेको छ भने समग्र बेलायतमा एनएचएससँग ९ देखि १० हजार भेन्टिलेटर मात्र छ भने कोभिड-१९ उत्सर्गमा पुगेको अवस्थामा ३०००० भेन्टिलेटर चाहिन्छ भनेर विज्ञहरूले भनेका छन् । त्यसरी नै अग्रपंत्तिमा काम गर्ने डाक्टर, नर्स, हेल्थकेयर असिस्टेन तथा अन्य सहयोगी कर्मचारीहरूलाई पर्याप्त पीपीई नभएको अवस्था बारम्बार सञ्चारमाध्यममा आइरहेको थियो । मलाई के लाग्यो भने उत्पादन र बजार व्यापारीहरूको नाफाका लागि छाडिदिँदा स्वास्थ्य र जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने कुराहरूको अभाव हुँदो रहेछ । त्यसरी नै बेलायतजस्तो व्यवस्थित स्वास्थ्य संरचनामा पनि अक्सिजनको अभावले अस्पतालमा नयाँ भर्ना बन्द, पीपीइको अभाव र कोभिड परिक्षणलाई कीटको अभावमा सीमीत गरेको देख्दा हाम्रो नेपालको हालत कस्तो होला भनेर पनि चर्चा भयो । अमितजीले भन्नु भयो, – “नेपाल अहिले स्टेज एक हुँदै दुईमा गएको छ , दुईदेखि स्टेज तीनमा टेक्यो भने नेपालको स्वास्थ्य संरचनाले कोभिड १९ थेग्न सक्दैन ” । हुन पनि हो सिटामोल पनि सहज उपलब्ध नहुने हाम्रो स्वास्थ्य संस्थामा अहिले महामारी बेलामा पनि राजनैतिक नेतृत्व भ्रष्टाचारमा गर्नमा नै व्यस्त छन् । धन्न अहिलेसम्म नेपालमा संक्रमण दर समुदायसम्म धेरै फैलिएको छैन । बेलायत अहिले पनि यसलाई नियन्त्रण गर्न संघर्षरत छ तर पनि संक्रमण दर र मृत्युदर दैनिक रूपमा बढिरहेको छ । अहिले बेलायतका प्रधानमन्त्रीपनि कोभिड-१९ को संक्रमणको कारण अस्पताल भर्ना भएर डिस्चार्ज भएका छन् ।
विश्वको २०६ भन्दा बढी देशहरूमा यो संक्रमण देखिएको छ भने यस महामारीले कुनै राष्ट्रियता, जात, लिङ्ग र वर्ग नभनी सबैलाई गम्भीर असर गरेको छ । यो कोभिड-१९ ले सबै देशको आर्थिक, साँस्कृतिक र राजनीतिक जीवन पद्धतिमा गम्भीर असर गरेको छ । यस विषयमा पनि निकै चर्चा भयो ।
पूर्वीय शक्तिको उदय :
विश्वको आर्थिक र राजनीतिक क्षेत्रमा औधोगिक क्रान्ति पछाडि जहिले पनि पश्चिमा मुलुकको प्रभाव रहिआएकोछ । विकास भनेको नै पश्चिमीकरण हो भन्ने थियो । तर कोभिड १९ को महामारीले यस दिशालाई परिवर्तन गर्ने संकेत गरेको कुरा पनि अमितजी र मेरो कुरा भयो । मैले भनेँ विश्व राजनीतिमा अब चीनले पखेटा फिजायो । कोभिड-१९ को नियन्त्रण, विश्व बजारमा भेन्टिलेटर, माक्स, टेस्ट किट र पीपीइको उत्पादन र वितरण अनि अनुसन्धनात्मक र चिकित्सकीय सहयोगले चीनले विश्व राजनीतिमा प्रभाव जमाउनेछ । त्यसरी नै अब यूरोप सबै होइन भन्ने पनि प्रमाण भयो । अमितजीले थप्नु भयो, – “उदारवाद अब रक्षात्मक अवस्थामा देखियो । अमेरिकाको आफैँमा विश्व नेतृत्व क्षमतामाथि प्रश्नचिन्ह देखिएको छ । यूरोप विभक्त छ ।” हुन पनि डोनाल्ड ट्रम्पको मूर्खताले लाखौं अमेरिकी जनतालाई मृत्युको मुखमा धकेलिदियो भने अर्थतन्त्र तहसनहस बनाइदियो । अहिले यूरोपेली देशहरू आफ्नै देशभित्र कोभिड-१९ नियन्त्रण गर्न संघर्षरत छन् । त्यसैले युरोपियन युनियनले साझा कार्यक्रम पनि बनाउन सकेन । बरु दक्षिण कोरिया, ताइवान र चीनले यस महामारीलाई व्यवस्थित गर्दै गईरहेको देख्न सकिन्छ । मैले भनेँ – “कोभिड-१९ को महामारीले सबैभन्दा ठूलो पाठ चाहिँ स्वास्थ्य संस्था सरकारी हुनुपर्दाे रहेछ र राज्यले स्वास्थ्य र जनजीविकाको सवाललाई सरकारी नियन्त्रणमा राख्नु पर्दाे रहेछ ”।
नेपालमा पनि नीजि अस्पतालहरूले कोभिड-१९ काे लक्षण भएका व्यक्तिहरूको उपचार नगरेको समचारहरू आएको थियो । यसमा अमितजीको सहमति देखियो ।
आदिवासीवादको कुरा :
यस बीचमा कोभिड-१९ फैलिनुमा पूँजीवादको उदय, प्रभाव र विश्वव्यापीकरणको कारण पनि हो भन्ने कुरा मैले राखेँ । अमितजीले पनिभन्नु भयो, “आदिवासीहरूले आगन्तुकहरूलाई प्रवेश निषेध त्यसै गरेको होइन रहेछ, रोगबाट बच्न पनि रहेछ ।” उहाँले थप्नु भयो, – “आदिवासीवाद प्रकृति र प्राकृतिक नियमसँग अत्यन्त नजिक हुन्छ त्यसैले पनि यस किसिमको महामारीबाट टाढा राख्दछ ” । हुनपनि कोरानाखभाइरसको कसरी शुरुवातभयो भन्ने कुरा विवादमा नै छ तर पनि वनजंगलको नाश, ओजनतहको नाश, जनवारको मासुको जथाभावी व्यापार र क्लाइमेट चेञ्ज आदि कुराहरूको कुनै न कुनै प्रभाव छ भन्ने देखिन्छ । वास्तवमा पूँजीवाद वा साम्यवादले विकासको नाममा विनास र संकट मात्र ल्याएका छन् । त्यसैले अमेरिकी विद्घान नोअम चोम्स्कीले अबको मानव समुदायलाई आदिवासीले मात्र बचाउन सक्छन् भनेर उदघाेष गरेका छन् ।
दैनिक व्यवहारमा परिवर्तन :
यस्ता महामारीले पनि मानिसको दैनिक जीवनशैलीमा परिवर्तन गर्ने रहेछ भन्ने कुरा चर्चा भए । जस्तै प्रिन्स चार्ल्सले हात मिलाउनका सट्टा नमस्ते गर्नुलाई धेरैले रामाइलो मानेर सामाजिक सञ्जालमा चर्चा भएको छ । हाम्रो खानपान, उठबस र आवतवावतमा पनि यसले परिवर्तन गर्ने देखिन्छ । अमितजीले भन्नु भयो – “पूर्वीय खानपान र उठबस कोभिड-१९ का लागि तुलनात्मक रूपमा सुरक्षित देखियो ” । हुन पनि हो । हामी नेपालीहरू साबुनपानीको मात्रा धेरै प्रयोग गछौं, हामी अदुवा लसुन आदि बढी खान्छौं । त्यसरी नै धेरै घुमघाम गदैनौं । तर मैले थपें – “हाम्रो पूर्वीय संस्कृतिमा हामी संयुक्त परिवारमा बस्छौं जस्ले गर्दा एकमा संक्रमण भयो भने धेरैमा सर्ने सम्भावान हुन्छ ।” तर यसलाई नियमित हात धुँदा, सामाजिक दूरी र आइसोलेसनको माध्यमले रोकथाम गर्न सकिन्छ भनेर अमीतजीले भन्नु भयो । यसरी नै मैले भने कोभिड-१९ रोकथामको सबै सूचना पालना गर्न सके पनि अनुहार नछुने कुरा चाहिँ गाह्रो रहेछ । अमितजी हाँस्नुभयो र भन्नु भयो,- “नानीदेखि लागेको बानी हो नि त ।”
यसरी छोटो कुराकारीमा एउटै कुरोको विविध पक्षहरू माथि गफगाफ भयो । स्टे सेफ स्टे एट होम भन्दै विदावारी भइयो ।

सम्बन्धित खवर

%d bloggers like this: