थाला चेप्पा एक वास्तविक आख्यान - Sainokhabar

थाला चेप्पा एक वास्तविक आख्यान

√याक्थुङ् सा
प्राचीन समयमा याक्थुङ् (लिम्बू) जातिको फ्याक थरीहरू पहिले इलाम जिल्लाको जितपुर भन्ने गाउँमा बस्थे । पहिले जग्गा जमिन समाउने क्रममा उनीहरूले केवाबुङ्ग र लुम्दे लगायतका स्थानमा जग्गा जमिन लिए । जसलाई खुर्पा ठ्याक् भन्ने चलन अझै पनि छ । त्यसरी नै बाबु बाजेले समाएको जग्गामा फ्याक थरी लिम्बूहरू इलाम जिल्लाको केवाबुङ्ग हाल (क्याबुङ्ग) भन्ने स्थानमा बसाँई सरेर आए । जुन स्थान अहिले देउमाई न. पा. वडा नं. ५ मा पर्छ । त्यहाँ बराजु वनेदी फ्याक्, बाजे मुथुप्पा फ्याक् र बुबा मुई फ्याकको छोरी चपेती फ्याकको जन्म भयो । त्यै केवाबुङ्गमा चेपती तरूनी पुगेर त्यहाँकै लोरिङ्गदेन् थरीको लिम्बूसँग बिबाह भयो । समयकाल बित्दै जाँदा चपेतीका बाबु माइतीहरूको अंश लुम्देमा पर्यो । जुन स्थान अहिलेको फाक्फोक् थुम गा. पा. वडा नं. ५ मा पर्छ । चपेती एक शक्तिशाली येमा थिइन । यसरी जव बाबु माइतीहरूको अंश लुम्दे भन्ने जग्गामा परेपछि चपेतीका बाबु माइतीहरू लुम्दे भन्ने जग्गामा सरिजाने भए । यता चपेती पनि बाबु माइतीसँगै लुम्दे भन्ने जग्गामा गएर बस्ने इच्छा प्रकट गरेर आफ्नो लोरिङ्गदेन् श्रीमानलाई भनिन् तर उसको श्रीमानले ससुराली गाँउमा गएर बस्न उचित नहुने वा नजाने भएपछि उसको ११ बर्षको छोरालाई लिएर चपेती पनि बाबु माइतीसँगै लुम्दे भन्ने गाउँमा बस्न थालिन् । त्यस समयमा इलाम जिल्ला साबिक इभाङ गा. बि.स. वडा नं. ४ हाल माङसेबुङ्ग गा. पा. वडा नं. २ पौवा (पवामा) गाउँको सिर माथी डाँडाको फेदीमा एउटा ठुलो पोखरी थियो । त्यो पवामा गाउँको सिरमा रहेको त्यो पोखरीले त्यहाँ बस्तुभाउ, बस्तुभाउ चराउने गोठाला, बाटो हिड्ने बटुवारी तथा केटाकेटीहरू त्यो पोखरी आसपास जाँदा तुरून्तै बिरामी भएर मर्ने गर्थ्यो । खासमा त्यो पोखरीमा एक राक्षसी प्रवृत्ति भएको नागको बाँस थियो । त्यस राक्षसी प्रवृति भएको नागले त्यस पोखरीमा आउने, बस्तुभाउ, गोठाला, बटुवारी तथा केटाकेटीहरूलाई सिधै पोखरी समाएर लगेर खाने नभएर उनीहरूको हंस (अात्मा) मात्र लिएर जाने तथा खाने गर्थ्यो । त्यस बेला त्यो नागले देखेको जीवजन्तु तथा मानिस तुरून्तै बिरामी भएर मर्ने गर्थ्यो । पवामा गाउँमा योङहाङ थरी लिम्बूहरू बस्थे अझै पनि योङहाङ थरिका लिम्बूहरूको घना बस्ति छ । यसरी त्यो पवामा गाउँको मानिसहरूलाई त्यो पोखरीमा बाँस गर्ने राक्षसी प्रवृत्ति भएको नागको पिरमर्काबाट सारै नै अाहात भएका थिए । एक दिन गाउँलेहरू भेला भएर यो नागलाई कसरी मार्न सकिन्छ भनेर सरसल्लाह गरे । यस्तो नाग मार्ने शक्तिशाली येबाको खोजी गरेर ल्याउने निधो गरे र येबा खोज्न गाउँ गाउँ घुमे, नभन्दै लुम्दे भन्ने गाउँमा चपेती नाम गरेको एक शक्तिशाली येमा/ येमानी (विजुवानी) रहेको कुरा गाउँलेहरूले पत्तालगाए । उनीहरू येमा कहाँ गई त्यस पोखरीमा रहेको नागले अत्यन्तै पिरमर्का गरेको बेलिबिस्तार सुनाउनका साथै त्यस राक्षसी प्रवृत्ति गरेको नागलाई मार्ने अनुरोध गरे । चपेती येमाले पनि उनीहरूको अनुरोधलाई स्वीकार गरेर उक्त पोखरीमा आउने कुरा बताए । केही दिन पछाडि चपेती येमा आफ्ना ५ जना चेला (ङासि हुसाम्बा) र ११ बर्षे छोरा सहित् पवामा गाउँ पुगे । बिभिन्न सरसामान सहित गाउँलेहरूले चपेती येमालाई उक्त पोखरीमा लिएर गए । जसै येमानी चपेती पोखरीको छेउमा पुग्यो उसैबेला पोखरीको पानी उम्लिएर नाङ्लो जस्तै बट्टारिँदै येमा भएको स्थानसम्म आई पुग्यो । उसका चेला र गाउँलेहरू त्यहाँबाट भाग्न खोजे तर येमाले नडराउ भाग्नु पर्दैन म छु केही पनि हुँदैन भनेपछि चेला र गाउँलेहरू चुप लागेर बसे । त्यती भनेपछि पोखरी सहज अवस्थामा आयो । त्यसपछि त्यो पोखरीमा भएको नागलाई मार्नको लागि चिन्ता बस्न त्यो पोखरीदेखी धेरै माथी डाँडामा आफ्ना ५ जना चेला, गाउँले र ११ बर्षे छोरा सहित गए । माथी डाँडामा पुगेर कसैले चिन्ता बस्ने ठाउँ (यबुङ्ग) बनाए, कसैले चुल्हा चौका बनाए, ठुलो र सानो गरि दुईओटा चुल्हा बनाए, कसैलाई दाउरा खोज्न लगाए, कसैले आगो फुके तर एकजना चेला र येमाको ११ बर्षे छोरा भने त्यही राक्षसी नाग बसेको पोखरीमा पानी लिन् गए किनकि अन्यत्र कतै पनि पानी थिएन । उनीहरूले पानी लिएर माथी डाँडामा पुग्न साथ येमाको ११ बर्षे छोरा बिरामी भयो र तुरूत्तै देहान्त पनि भइगयो । त्यस बच्चाको हंस त्यै राक्षसी नागले खाएर मृत्यु भएको स्पष्ट नै थियो । तरपनि चपेती येमाले लोक कल्याणको लागि आफ्नो ११ बर्षे बच्चाको दुःखदायी निधनको पनि पर्बाह नगरी आफ्नो चेलाहरूलाई आफ्नो झोलामा भएको पुरानो जामा ओढाउन लगाई यता चिन्ता (येबुङ्ग) तिरको अनुष्ठान वा कर्मकाण्ड समाप्त गरेर मात्र गाउले तथा चेलाहरूलाई आफ्नो छोराको त्यही नजिक्कै सतगत् गर्न लगाए । छोराको सतगत् सकेपछि सबै गाउँले तथा चेलाहरूलाई एकै ठाउँमा राखेर अब म यो पापी नागलाई नमारी छाड्दिन, यदी म मरे भने यो ठुलो चुल्हाको भाँडामा रगत उम्लिन्छ र बाचे भने दुध उम्लिन्छ र सानो चुल्लाको भाडामा रगत उम्लियो भने नाग मर्छ र दुध उम्लियो भने नाग बाच्छ । यदी म मरे भने तिमीहरू आ- आफ्नो गाउँघरतिर जानु र पछि गएर उ तल भएको ढुङ्गा पापी मान्छेले हल्लाउदा हल्लिँदैन र धर्मात्मा मानिसले हल्लायो भने हल्लिने छ भनेर थाल ठटाउदै उरालो दौडियो र तल पोखरीमा पुग्यो । पोखरी वरिपरि थाल ठटाउँदै नाच्यो र अन्तमा तीन पटकसम्म आफ्नो कुरकुच्चा जमिनमा बज्रार्दा पोखरीको पानी छपक्कै सुक्यो । त्यस पोखरीमा भएका नागका सन्तान तथा पोथी नाग समेत पानी बेगरको माछा जस्तै भए । तत्कालै येमा पोखरीमा पसेर सारा नागका शाखा सन्तान आफ्नो थालले काटेर मार्यो । पोखरी नागको रगतले भरिएर पश्चिम पट्टि बगेर खोला तिर गयो । जुन खोलालाई रतुवा खोला भनिन्छ । नागको रगत बगेको खोला भएको हुनाले रगत शब्द अपभ्रंश भएर रतुवा खोला नामाकरण रहेको कथन पाइन्छ । फेरी त्यसरी नै पोथी नागलाई काटेर मार्न खोज्दा मलाई नमार्नुहोस् अबदेखी म यस्तो कुकर्म गर्ने छुइन भनेर बिन्ति गर्यो । अव त्यसरी कुकर्म गर्दैनस् भने यहाँ नबस उता पर तल एउटा सिमसार जग्गा छ ।
नबस उता पर तल एउटा सिमसार जग्गा छ । त्यतै गएर बस् भनेर येमाले भनेपछि त्यो नाग पोखरीबाट निस्केर सललल उता सिमसार जग्गातिर लाग्यो । केही समयपछि त्यस स्थानमा अत्यन्तै सुन्दर पोखरी बन्यो । त्यो पोखरीमा एउटै पनि पात रहदैँनथ्यो किन भने त्यो पोखरी एउटा पात झर्यो कि चराले टिपेर लान्थ्यो त्यसैकारण त्यो पोखरी सधै सफा रहन्थ्यो । कालान्तरमा त्यो पोखरी सुक्यो । त्यो पोखरी रहेको ठाउँलाई दहगाउँ भनिन्छ । अहिले पनि त्यो गाउँको नाम दहगाउँ नै छ । उतातिर भाले नाग येमाको थालको चोट परेर पोखरी देखी बाहिर निस्कि माथी डाँडाबाट दुलो पारी भाग्यो । त्यसलाई मार्न चपेती येमा पछि पछि लाग्यो । त्यो नाग जमिन मुनि मुनि भएर कन्यालुक्वा भन्ने ओडारमा पुगेर लुक्यो । चपेती येमा पनि पछ्याउदै कन्यालुक्वा ओडारमा पुग्यो फेरी नाग त्यस ओडारबाट पनि निस्केर भाग्यो । भाग्दै भाग्दै त्यो नाग हालको चपेटी भन्ने स्थानमा पुग्यो त्यहाँ मैदानी भाग मानिसले देख्छ भनेर नाग फनक्क फर्केर सुन्धवातिर गएर लुक्यो । हालको चपेटी भन्ने ठाउँ चपेती येमाको नाम अपभ्रंश भएर नामाकरण भएको हो जुन ठाउँको आकार खुट्टाको पैतला जस्तो आकारको रहेको छ । फेरी चपेती येमा पनि सुन्धवा भन्ने ठाउँमा पुग्यो फेरी नाग त्यहाँ बाट पनि निस्केर भाग्यो त्यो नाग अहिलेको सेतीखरे भन्ने ठाउँमा एउटा ठुलो पोखरी थियो र त्यो पोखरीमा सन्त प्रवृत्तिको अबिबाहित सेती नाग बस्थ्यो र त्यै पोखरीमा गएर त्यो राक्षसी नाग लुक्यो । त्यो नाग पोखरीमा पस्नसाथ त्यहाँको सेती नागले त पापी होस् राक्षस होस् तलाई यहाँ बस्ने कुनै अधिकार छैन, तुरून्त निसकेर जा भनेर साफी गाली गर्यो , त्यसरी आपत परेको बेलामा सहयोग नगर्नेको पोखरी पैरो जावोस भनेर सरापि दिएर त्यो नाग त्यहाँबाट पनि निस्केर भाग्यो । चपेती येमाले पनि उक्त नागलाई पछ्याई नै रहयो । त्यो सेतीखरेमा अहिले बिशाल पैरो छ । त्यो दुष्ट नागले सराप दिएको कारण बिशाल पैरो गएको भन्ने कथन छ । अनि त्यो नाग माई खोला तरेर बोरूङ्ग भन्ने स्थानमा पुग्यो । बोरूङ्गको जङ्गलको ठाडो उकालोमा नाग जाँदै गर्दा तल माई खोला देखी येमाले हेर्दा बिशाल नाग उकालो जाँदै गरेको देख्दा येमाको सातो उड्यो । याक्थुङ् (लिम्बू) समाजमा सातो उड्दा ” पुरोम् – पुरोम् ” भन्ने चलन यथावत कायमै छ । येमाले त्यस स्थानमा आफ्नो सातो उठाउन् वा ढाक्न ” पुरोम् – पुरोम् ” भनेर उच्चारण गरेको हुँदा त्यो लिम्बू शब्द “पुरोम् ” अपभ्रंश भएर बोरूङ भएको हो भन्ने कथन रहेको पाइन्छ । त्यो बोरूङ्गबाट नाग भगेर खान्द्रुङ्ग पञ्चमीको पोखरीमा पुगेर लुक्यो । त्यहाँ पनि येमा पुगेर पोखरी सुकायो । पोखरी सुकेपछि त्यो नाग निस्केर भाग्दा चपेती येमाले झण्डै थालले त्यस नागलाई काट्यो । लिम्बू भाषामा झण्डै काट्योलाई ” खा- चेप्तु वा खा- तरू” भन्छ । खा- तरू शब्द अपभ्रंश भएर उक्त गाउँको नाम खान्द्रुङ्ग रहन गएको हो भन्ने भनाई रहेको छ । त्यहाँबाट त्यो नाग भाग्दै भाग्दै एकतप्पा सिरानको सिमसारा पोखरीमा पुगेर लुक्यो । त्यहाँ पनि चपेती येमा पुगेर पोखरी सुकाई दियो । त्यो नाग त्यहाँबाट पनि भागेर हाल मंगलबारे बजारको भानु मा. बि. रहेको पोखरीमा पुगेर लुक्यो । त्यहाँ पनि येमा पुगेर पोखरी सुकाई दियो । त्यो नाग आहात भएर सुकेको पोखरीबाट निस्केर ओर्हालो भाग्यो क्याबुङ्ग पुग्दा येमाले उसको पुच्छारको सानो भाग थालले काटिदियो त्यो पुच्छार शिलामा परिणत भएर बसेको थियो तर मंगलबारे गजुरमुखी धाम सडक निमार्ण कार्यले उक्त नागको पुच्छार भनिने ढुङ्गा नष्ट भएको छ । अहिले देखिन्दैन ।
केवाबुङ्गबाट लेवा खोला हुँदै चिप्लेर देउमाई खोला माई खोलामा पसेर जानलाई त्यो नाग लेवा खोलातिर लाग्यो तर देउमाई तथा माईखोलातिर पसि गयो भने यसलाई मार्न सकिन्दैन भनेर चपेती येमा देउमाई खोला र लेवा खोलाको दोभानमा गएर छेक्यो । नाग खोलामा चिप्लिन्दै चिप्लिन्दै आऊदै थियो । लिम्बू भाषामा चिप्लिनुलाई लेम्मा अथवा केलेम्बा भनिन्छ । त्यही लेम्मा शब्द अपभ्रंश भएर त्यो खोलाको नाम लेवाखोला रहन गएको हो भन्ने कथन छ । नाग लेवाखोला पुच्छारबाट फर्केर बारूङ्गको उकालो लाग्यो । बारूङ्ग सिरानमा एउटा ठुलो पोखरी थियो । त्यही पोखरीमा पसेर लुक्यो । चपेती येमा पनि त्यो पोखरी पुगेर पोखरी सुकाई दियो । पोखरी सुकेपछि त्यो नाग सारै सिथिल भएर बारूङ्गको डाँडाको ठुलो ढुङ्गाको चेपमा पथ्थरशिला रूप धारण गरेर लुक्यो । त्यहाँ पुग्दा नाग शिला पथ्थर रूप भएको देखेर चपेती येमाले ठुलो बज्रपात पारेर त्यो नागलाई टुक्रा टुक्रा पारेर मार्यो । त्यसै बेला उता थाला चेप्पा डाँडामा सानो चुल्हाको भाडामा रगत उम्लियो र ठुलो चुल्हा भएको भाँडामा दुध उम्लियो । चपेती येमाको ५ जना चेला तथा गाउँलेहरू हाम्रो येमानीले त्यो दुष्ट नाग मारेछ भनेर सारै खुसी हुँदै थिए । तर यता बारूङ्ग ठुलो बज्रपातको आवाजले सबै गाउँलेहरू चपेती येमाले नाग मारेको स्थानमा भेला भए । त्यस स्थानमा चपेती येमानी बिव्हल भएर बसेकी थिइन । त्यस्तै अवस्थामा चपेती येमाले यो बताइन कि अब उप्रान्त मेरा बाबु माइतीहरू सात पुस्तासम्म येबा/येमा नउत्रियोस् किनभने येबा/ येमा उत्रियो भने सारै दुःख पाइन्छ भनेर सिथिल स्वरमा गाउँलेहरूलाई सुनाइन् त्यती भनिसकेर चपेती येमानी ऐठन लागे जस्तो गर्दा गर्दै उक्त शक्तीशाली चपेती येमाको पनि देहान्त भयो । उता थाला चेप्पा डाँडाको ठुलो चुल्हाको भाँडामा पनि रगत उम्लियो ला: अब हाम्रो येमानी तथा गुरूको पनि देहान्त भएछ भनेर पहिले येमाले त्यहाँबाट हिड्दा जे भनेका थिए सोही अनुसार ती येमाका ५ जना चेला र गाउँलेहरू आ- आफ्नो गाउँघर गए । अहिले आएर चपेती येमाको देहान्त भएको पनि ८/९ पुस्ता भन्दा बढी भइसकेको छ र याक्थुङ् (लिम्बू) फ्याक थरीहरू येबा/ येमा उत्रिएको पाइन्छ । अझै पनि त्यो बारूङ्गको डाँडामा चपेती येमाको चिहान र त्यो राक्षसी नागको १३ टुक्रा र जम्मा ४७ फिट लम्बाई भएको सर्प जस्तो टुक्रा टुक्रा भएको शिला पथ्थर यथावत पाइन्छ । तर केही समय अगाडि उक्त स्थानमा किराँत सत्तेहाङ मित्रहरूबाट त्यहाँ माङहिम बनाउन त्यो नागको टाउँको तर्फको टुक्रा र अन्य केही टुक्राहरू माङहिम बनाउन फुटाल्न पुग्दा ती मिस्त्रीहरू बिरामी भएको र केहीको देहान्त समेत भएको भन्ने भनाई रहेको छ । अझै पनि मन्दिर बनाउन घडेरी खारेको र पर्खाल लगाएको अधुरो कार्य देख्न पाइन्छ । यसरी यस ठाउँमा भाले वा बाबु नाग “पा” मारेको हुँदा त्यो लिम्बू भाषाको ” पा” अपभ्रंश हुँदै पारूङ भयो अनि फेरी त्यो पारूङ् शब्द फेरी अपभ्रंश भएर बारूङ्ग गाउँ नामाकरण हुन् पुग्यो । अहिले यस गाउँलाई बारूङ नै भनिन्छ । हाल जुन गाउँ देउमाई न. पा. वडा नं. ५ मा पर्छ । अर्को फेरी त्यो नाग मारेको स्थानलाई अहिले आएर नागेश्वरी पनि भन्ने गरेको पाइन्छ । त्यो नाग मारेको स्थानको दक्षिणतिर चपेती येमाको आत्मालाई एउटा भालेकाटेर पूजा गर्ने स्थान पनि यथावत छ ।
उता थाला चेप्पा पोखरीमा भने चपेती येमाले धेरै धेरै त् नागका शाखा सन्तानहररू आफ्नो थाल (चेत्थ्या) ले काटेर मारेकाले उक्त स्थानको नाम थाला चेप्पा रहन गएको हो भनेर अझै पनि बुढापाकाहरू बताउने गरेको पाइन्छ । तर हालमा थाल चेप्पामा चपेती येमाले रोप्न लगाएको चुल्हाहरू फेरवदल गरेको पाइन्छ । चपेती येमानीको ११ बर्षे छोराको चिहानको यकिन छैन । त्यहाँ माङहिम बनाइएको छ । तल पोखरीमा चपेती येमाले नागहरू काटेर मारेको शिला पथ्थर रूप धारण गरेर बसेका नाग ढुङ्गाहरू फेरबदल भएको पाइन्छ । आखिर यहाँको मौलिकता फेरवदल हुनुको खास कारण हामी याक्थुङ् (लिम्बू) समुदायबाट नै खोज अध्ययन र अनुसन्धान हुन् अत्यन्तै जरूरी छ । के कारण यहाँ हाम्रो मौलिक धार्मिक सांस्कृति सम्पदा भएर पनि किन अन्य जाति तथा सम्प्रदायले अतिक्रमण गर्दै छ ? सम्भवत मलाई लाग्छ कि धनकुटा बहुमुखी क्याम्पसका प्राध्यापक आख्यानकार तथा लोककथाकार शिवकुमार श्रेष्टले यस थाला चेप्पाको लोक कथा तयार गर्दा गलत स्रोतको भरमा यो ठाउँको लोक कथा आफ्नो कृति किराँती लोक कथाहरूमा उल्लेख गरेको कारण हुनुपर्छ । उहाँका अनुसार चपेती येमाको श्रीमान राई जाति भनेकाले नै पनि यस स्थानमा राई जातिले पनि आफ्नो धार्मिक तथा सांस्कृतिक स्थलको रूपमा लिएर कार्य गरेको हुनुपर्छ । त्यसै कारण राई जातिको भाषाबाट यो स्थानको नाम फेरवदल गरेर माङमालुङ राखेको हुनुपर्छ । त्यो चपेतीले निर्माण गर्न लगाएको चुल्हा राई जातिको सुप्तुङ्लुङ्ग मानेर फेरवदल गरेको हुनुपर्छ । त्यहाँ माङहिम निर्माण गरेको हुनुपर्छ । त्यहाँको बिभिन्न स्थानहरूमा राई भाषाका बोर्डहरू राखेको हुनुपर्छ । खासमा फ्याक बंशावलीकारहरूका अनुसार चपेती येमानीको श्रीमान राई नभएर लिम्बू जातिकै लोरिङ्गदेन थरी लिम्बू थिए । हालमा अहिले आएर उक्त स्थानको ब्यापक रूपमा मौलिक स्वरूपको अतिक्रमण गर्ने कार्य भएको छ । यो स्थान नितान्त रूपमा लिम्बू जातिकै धार्मिक, सांस्कृतिक तथा पुरातात्विक स्थल हो । यो स्थानको मौलिक तथा प्राकृतिक स्वरूपको संरक्षण गर्ने चेतना लिम्बू जातिमा कहिले जागृत हुने हो ? अन्तमा:- यसरी येबा/ येमाहरूले मानव जातिको कल्याणको खातिर खराव आत्माहरूसँग संघर्ष गर्दै आफ्नो जीवन आहुति गरेको एउटा कारूणिक आख्यान मध्येको यो थाला चेप्पा पनि एक हो । यसरी येबा/येमाहरूले जहिल्यै खराब आत्माहरूसँग संघर्ष गर्दै मानव जातिको कल्याण गरेको यस्ता दुःखदायी कथाहरू यो याक्थुङ् लाजे (लिम्बूवान) मा थुप्रै छन् । येबा/येमाहरूलाई मानिसको हड्डी फुक्ने, असहज मृत्यू वा सोघा मुरिङ्गको मासु खाने (कुजक् कुलाङ् केजाबा, कुथेकजक् केजाबा) भनेर दोष लगाउने याक्थुङ (लिम्बू) समाज भित्रकै मानिसहरू पाइन्छ । येबा/ येमाहरूले मरेको मानिसको हड्डि फुके पनि अनि सोघा मुरिङ्गको मासुनै खाएपनि त्यो खराब आत्माको बिनास र असल आत्माको संरक्षणको लागि हो भनेर बुझ्न जरूरी हुन्छ…नोगेन…।।।
मौखिक स्रोत:- जीतबहादुर फ्याक (टेम्के देशी) प्रथम फ्याक सयङ् सम्पादक पथरी मोरङ

सम्बन्धित खवर

%d bloggers like this: