सीमान्तको डीलबाट - Sainokhabar

सीमान्तको डीलबाट

√सेसेफुङ शेर्मा
हौ साईला-
किन हौ किन मलाई
सुरीलो रुख देख्दा अचेल
खोप्न मन लाग्दैन च्याब्रुङ
बरु त्यसको बाङ्गो-बाङ्गो हाँगा काटेर
बनाउन मन लाग्छ बन्दूकको दबासो
किन कि-
यो मुर्दा जस्तो सुतेको मेरो देशले बुझ्दैन
-च्याब्रुङको भाषा……
काङ्लाको छेउमा झाँगिएको घँगारुको झ्याङ
आँखैभरी नाचे पनि
घँगारुको हाँगा लाछेर
अचेल मलाई बनाउन मन लाग्दैन
ढाकर बिसाउने तोक्मा
बरु खिपेर बनाउन मन लाग्छ गज्जबको डन्ठा
किन कि-
यो मुर्दा जस्तो सुतेको मेरो देशले देख्तैन
ढाकर बोक्दा पिल्सीएको डढेल्नोको घाउ…..
बर्षेनी छाँसेर फाल्ने गरेको
खरबारीमा उम्रिने अरररी काँडाको झ्याङहरु
छाँसेर फाल्न मन लाग्दैन अचेल
बरु यसको कोईलाबाट
बारुद बनाउन मन लाग्छ
किन कि-
यो मुर्दा जस्तो सुतेको मेरो देशले बुझ्दैन
तितेपातीको धुपले बोक्ने शान्तिको सौन्दर्य…..
अचेल दामाली बूढाहरुसँग
रातभर अनिंदो बसेर
हाक्पारेमा लय बगाउन पनि मन लाग्दैन
बरु विद्रोहको राँको बाल्दै
उराल्न मन लाग्छ-
जुलुशहरुमा आदिवासी नारा
किन कि-
मेरो देशले बुझ्दैन-च्याब्रुङ्को भाषा
मेरो देशले देख्तैन-डडाल्नोको घाउ
बुझ्दैन मेरो देशले -शान्तिको गीत
बुझ्दैन मेरो देशले – सुरिलो लयको हाक्पारे
र बुझ्दैन मेरो देशले-मौनताको भाषा
हौ साइँला !
बरु यो सीमान्तको डीलमा उभिएर भए पनि
अब म-
मेरो देशले बुझ्ने भाषामा बोल्न चाहन्छु
र त्यो भाषा –
बन्दुकको पनि हुन सक्छ….
कवि शेर्मा कुकुर कविता आन्दोलनका एक हस्ती हुन् ।

सम्बन्धित खवर