मकै छर्न ट्याक्टर छैन - Sainokhabar

मकै छर्न ट्याक्टर छैन

धरान
मकैखेतीमा आश्रीत धरान विजयपुरका किसान लकडाउनका कारण मकै खेती गर्न नपाउदा समस्यामा परेका छन् । चैतको दोश्रो साता भित्रमा यहाँका किसानले मकै रोपी सक्ने भएपनि यस वर्ष लकडाउनका कारण असर परेको वताउछन्् । ‘मकै रोप्न चाहिने ट्याक्टर नै पाइएन कसरी मकै खेती गर्नु’स्थानिय सरस्वती पोख्रेल वताउछिन् । उनका अनुसार अझै यहाँका किसानका वारी वाझै छन् । कुनै खेती लगाउन सकेका छैनन् । श्रम श्रोत भएपनि साधन नहुदा यहाँका किसानका खेत वारी वाझै रहेको हो ।
चैत महिनाको दोश्रो हप्ता भित्र किसानले मकै खेती गरि सक्ने भएपनि अहिले सम्म मकै छर्न पाएका छैनन् । लकडाउनकै कारण किसानले मलखाद समेत खरिद गर्न पाएका छैनन् । खाद्यान्न पसल मात्र खुल्ने गरेको धरानमा कृषि पेशाका लागी आवश्यक मल र विउको जोहो गर्न पाए खेती गर्न सकिने किसानको आश रहेको छ ।
विजयपुरकै कुमारी श्रेष्ठलाई स्थानिय सरकारले किसानका लागी राहात दिनुभन्दा सुरक्षीत साथ ट्याक्टर चलाउने प्रवन्ध गरिदियोस जस्तो लागेको छ । श्रेष्ठले भनिन् ‘हामीलाई अहिले खेतीका लागी ट्याक्टर र मल खादको व्यावस्था गरिदिए हुने त्यो वारे स्थानिय सरकारले चासो दिनु पर्छ’ ।
स्थानिय किसान पर्शुराम खतिवडाको वारीमा अन्य वर्ष यो समयमा मकैका पिपरा हुने गथ्र्यो तर यो वर्ष लकडाउनकै कारण मकै रोप्ने खेत जोत्न पनि सकेका छैन् । मकै वेचेर लाखौै आम्दानी गर्ने यहाँका किसानमा यस वर्ष कमाइ नहनु चिन्ता थपिएको छ । खतिवडाले भने ‘रोगले मर्ने डर एकातिर छ भोकमारी लाग्ने डर पनि थपिएको छ’ ।
यहाँका किसान खेती गर्न ट्याक्टरकै भर पर्दछन् । मल वोक्ने देखी खेत जोत्न सम्म ट्याक्टर प्रयोग गर्ने किसानलाई लक डाउनले असर पु¥याएको छ । खतिवडाले भने‘ गोरु पाल्न छोडीयो अहिले खेती नै वाझो भयो’ ।
मकै रोप्न नसकिने हो भने आर्थिक रुपमा समस्या आउने स्थानिय सावित्री थापा वताउछिन् । गत वर्ष आठ विद्या जग्गामा मकै खेती गरे पनि यस वर्ष खेत जोताउन नपाउदा मकैको रोप्न नपाएको पिडा छ थापाको ।
मकै नछरिदा स्थानिय कृष्णमाया सुवेदीको जग्गामा अहिले वाख्रा र गाई पगाहा लगाउने थलो भएको छ । यतिखेर हरियो हुन्थ्यो यस पटक खेती गर्न नसक्दा समस्या भएको छ उनले भनिन् यस वारेमा स्थानिय सरकारले पनि चासो राखोस ।
किसानलाई मकै नरोप्दा पछि मकैको घासले धानेको पशुपालनमा पनि समस्या आउने त्रास छ । स्थानिय कालीवहादुर तामाङ्गका अनुसार अहिले वाली लगाउन पाइएन पछि पालेका पशुलाई घास के खुवाउने भन्ने चिन्ता थपिएको छ ।
वडाको समन्वयमा किसानलाई ट्याक्टर उपलव्ध गराइदिन वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई लाई यहाका स्थानियले पटक पटक आग्रह गरिसकेका छन् । भट्टराईले यसका लागी पहल थालेको वताए । नगर संगको समन्वयमा समस्या समाधानका लागी पहल थाल्छु भट्टराईले भने ।
यहाका किसानको समस्याको हल गरी स्थानिय उत्पादन वडाउने मात्र नभइ लकडाउनकै कारण खाद्यान्न संकट गर्न पनि पहल गर्नु पर्ने देखिन्छ ।

कपुरी न्युज बाट

सम्बन्धित खवर