कोरोना संक्रमित भनिएका श्रेष्ठको मृत्यु - Sainokhabar

कोरोना संक्रमित भनिएका श्रेष्ठको मृत्यु

मृतक शिव श्रेष्ठ  । तस्विर स्रोत : सामाजिक सञ्जाल

साइनो समाचारदाता

बेलायत । कोरोना संक्रमणबाट बेलायतकै नटिङहममा ‘आइसोलेसन’मा बसेका एक पूर्व गोर्खाको बुधबार साँझ ५ बजेमृत्यु भएको छ । नेपालमा सोलुखुम्बु घर भएका श्रेष्ठ श्रीमती र दुई छोरासहित लामो समयदेखि नटिङहममा बस्दै आएका थिए ।

५८ वर्षका शिव श्रेष्ठको स्थानीय अस्पतालमा मृत्यु भएको नेपाली लिंग्लेले उल्लेख गरेको छ । विगत केहि दिनदेखि आइसोलेसनमा रहेका उनी बुधबार बिहान मात्रै अस्पताल भर्ना भएका थिए । श्रेष्ठलाई कोरोनाको संक्रमण भएको आशंका गरिएपनि अस्पतालले पुष्टी गरिसकेको छैन । ‘केहि दिनदेखि कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा बस्नुभएको थियो । बुधबार बिहान ३ बजेतिर अलिक गाह्रो भएपछि आफै एम्बुलेन्स बोलाएर अस्पताल जानुभएको थियो’, मृतकका छोरा सुमन श्रेष्ठलाई उद्धृत गर्दै एनआरएनए इंग्ल्याण्डका सचिव गोविन्द खरेलले भने, ‘साँझ ५ बजे अस्पतालले परिवारलाई फोन गरेर मृत्यु भएको जानकारी गराएको हो ।’ अस्पतालले कोरोनाको आशंका गरेपनि मृत्युको कारणबारे आधिकारिक रिपोर्ट विहिबार मात्रै उपलब्ध हुने बताएको छ । मृतकलाई ह्दयघात भएको हुन सक्ने समेत आशंका गरिएको छ । खरेलका अनुसार सेक्युरिटीमा काम गर्दै आएका श्रेष्ठ गत मार्च ३० तारिखसम्म पनि नियमित काममा गइरहेका थिए । ज्वरो, खोकी लगायतका लक्षणहरु देखिन थालेपछि जिपीको सल्लाहमा उनी घरमै ‘आइसोलेसन’मा बसेका थिए । उनलाई अन्य कुनै गम्भीर स्वास्थ्य समस्या रहेको कुनै जानकारी आफुहरुलाई नभएको खरेलले बताए । नेपाली समाज नटिङहमका संस्थापक सदस्य समेत रहेका श्रेष्ठको असामयिक निधनले स्थानीय नेपालीहरु स्तब्ध बनेका छन् । यस अघि पनि एक भूतपूर्व गोर्खाको कोरनाको कारण मृत्यु भएको थियो ।

सम्बन्धित खवर