याक्थुङ संस्कारमा 'खेसुङ' एक आर्थिक पक्ष - Sainokhabar

याक्थुङ संस्कारमा ‘खेसुङ’ एक आर्थिक पक्ष

√हितराम तिलिङ

🔸 खेसुङ के हो?

…………………………..

खेसुङ याक्थुङ जातिको ज्ञान वा आविस्कार हो । यो याक्थुङ जातिको सभ्यतासङ्ग जोडिएको छ । त्यसैले यो याक्थुङ जातिको अमूर्त साँस्कृतिक सम्पदाका रुपमा लिन सकिन्छ। खेसुङ्बाट थि(जाँड) बनाइन्छ । जाँडबाट सिजङ्वा(रक्सी) बनाइन्छ। केही याक्थुङ महिलाहरुले खेसुङ बनाउने व्यवसाय गरी आफ्नो परिवार समेत धानेका छन् भने थुप्रै याक्थुङ महिलाहरुले पैकार (जाँड रक्सीको व्यापार)गरी जीवन निर्वाह गर्ने गर्थे र कहिकतै गर्दै छन् ।

चामलको पीठो सङ्ग विभिन्न जडिबुटी(वाध्याङ्मा, नासिलेक्ना, सेन्द्रेङ्ना,पिपिच्क्ना, कात्ताक्वा कुनक, फेना कुजङ, हाम्बे?, मच्ची, सुबाहिगाक आदि) सङ्ग मिसाएर बावर बनाइ उन्यूको पत्तामा सुकाइएको एक प्रकारको सेतो रोटीलाई खेसुङ(मर्चा) भनिन्छ ।

तस्वीरः दिलविक्रम आङदेम्बे

🔸 मुन्धुममा के छ?

……………………………….

“पोरोक्मी माङरे, यम्फामी माङरे
लुङदुम पक्वारेन, सिङ्बुङ पक्वारेन
पाङ्गेन्दिङ वाहित्ओ, सिदा? केतुआङ
खेसुङमु चोगु, सिदा?मु चोगु………..”

सोधुङ्गेन लेप्मुहाङ्ले अन्नको सृष्टि गरेपछि उतिखेरको खम्बोङ्बा लुङ्बोङ्बाहरु साह्रै खुशी भए । त्यसपछि उनीहरूले पाकेको भात सोधुङ्गेन लेप्मुहाङलाई चढाउन थाले । यसरी थाकको थाक भात सोधुङ्गेन लेप्मुहाङको वरिपरि थुप्रिन थाल्यो । चढाएको अन्न(कोदो) कुहेर/सडेर जान थाल्यो । खाम्बोङ्बा लुङ्बोङ्बा उब्जाएको अन्न(कोदो) यसरी खेर गएकोले एकदिन सोधुङ्गेन लेप्मुहाङले सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमाङलाई बिन्ति गर्दै भने ‘यसरी सडे गलेको अन्नलाई कसरी खान हुने बनाउन सकिन्छ? भनी सोधे । तागेरा निङ्वाफुमाङ्ले `मेरो पाउमा आउ सपना देख त्यही अनुसार गर्नू´ भनेछ । सपनामा तागेरा निङ्वाफुमाङले भने अनुसार सोधुङ्गेन लेप्मुहाङले जङ्गलबाट बिभिन्न किसिमको जडिबुट्टी खोजी ल्याएर खेसुङ बनाएछ । त्यसपछी थुप्रेको भातमा मिसाएर हालेछ। केही दिनपछि त्यो थुप्रेको भात कता:क्वामु लो:प्मा थी (जाँड) मा परिणत भएछ । खान योग्य भएपछि उतिखेरको खाम्बोङ्बा लुङ्बोङ्बाहरुले यसलाई खान थालेछ्न । हालसम्म पनि सोही जडिबुट्टी खेसुङ बनाइ जाड बनाएर खाने, पैकार गर्ने गरेका छौँ ।

🔸 खेसुङ कसरी बनाउने ?

…………………………..

एक पाथी चामल र एक माना वाध्याङमा केही समय भिजाउने। त्यसपछी ढिकी वा सुम्दाङ(ओख्ली)मा सम्पूर्ण जडीबुटिहरु(थोरै नासिलेक्ना, थोरै सेन्द्रेङ्ना, थोरै पिपिजक्ना, थोरै काताक्वा कुनक, थोरै फेना कुजङ, सानो हाम्बे?, ४,५ ओटा सुकेको सले मच्ची, थोरै सुबाहिगाक आदि) मिसाएर पीठो बनाउने। पीठोमा थोरै पानीसङ्ग मोलेर बावर बनाई गोलाकार रोटी बनाएर उन्यूको पत्तामा लहरै राख्ने । राख्नका लागि सुरुमा गुन्द्री त्यसमाथि कात्तक्वा (उन्यूको पत्ता)अनि खेसुङ राखेर माथिबाट पुन: उन्यूको पत्ताको साथमा सिरक वा केही बाक्लो कपडाले छोप्ने । जाडो मौसम छ भने पाँच/छ दिन गर्मी मौसम छ भने तीन/चार दिनसम्म राख्ने । माथिबाट एउटा काँसको थाल घोप्टो पारेर राख्ने । थाल घोप्टो राख्नका कारण चाहिँ खेसुङ राम्रो सङ्ग उठ्यो उठेन बाफबाट पत्ता लगाउनु हो।र । खेसुङ उठिसकेपछि गर्मी समय छ भने घर भित्र सुकाउने र जाडो समय छ भने घाममा सुकाउने । यति गरिसकेपछि खेसुङ तयार हुन्छ । हाल एक पाथी चामलबाट बन्निएको दस ओटा खेसुङ छथरतिर प्रतिगोटा रु १०० पर्न जान्छ।

नोगेन।

(लेखकले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर

%d bloggers like this: