बैंकिङ करिअरमा सेवा प्रवेश, अवसर र चुनौति - Sainokhabar

बैंकिङ करिअरमा सेवा प्रवेश, अवसर र चुनौति

भीषन लिङ्देन

◾️१.विषय प्रवेशः

सामान्यतया रुपैया पैसा वा मूल्यवान सम्पत्ति सुरक्षित राखी ग्राहकको आदेशअनुसार चेक वा अन्य वित्तीय उपकरणहरूमार्फत भुक्तानि दिने संस्थालाई बैंक भनिन्छ।अझै विस्तृत रूपमा भन्ने हो भने निक्षेप संकलन गर्ने,कर्जा प्रवाह गर्ने,लगानी गर्ने,मुद्राको स्थानान्तरण गर्ने,साख सृजना गर्ने,वैदेशीक विनिमय कारोवार गर्ने,विप्रेषण कारोबार गर्ने तथा अन्य वित्तीय कारोबार गर्ने विश्वास प्राप्त संस्थालाई बैंक भनिन्छ।अर्थतन्त्रका बचत कारोवार,ऋण कारोबार,तथा भुक्तानी सेवा जस्ता वित्तीय क्रियाकलापहरूको व्यापक रूपमा सरोकारवालाहरूबीच सम्पादन गर्ने गराउने संस्था नै बैंक हो।

नेपालमा सर्वप्रथम वि.सं.१९९४ साल कात्तिक ३० गते नेपाल सरकारको ५१ प्रतिशत र सर्बसाधारण जनताको ४९ प्रतिशत लगानीमा नेपाल बैंक लिमिटेडको स्थापनापछि आधुनिक बैंकिङ प्रणालीको शुरूवात भएको हो।वि.सं.२०१३ साल बैशाख १४ गते नेपाल राष्ट्र बैंक केन्द्रीय बैंकको रूपमा स्थापना भई नेपाली नोट निष्काशन लगायतका अन्य कार्यहरूको थालनी भएको हो।हाल नेपालमा २७ वटा क वर्गको वाणिज्य बैंक,ख,ग र घ वर्गका विकास बैंक,वित्त कम्पनि र लघुवित्त बैंक तथा पूर्वाधारविकास बैंकहरू स्थापना भई सञ्चालित छन्। नेपाल राष्ट्र बैंक सबै बैंक तथा वित्तीय संस्थाहरूको पनि बैंक तथा नियामक निकाय हो,यसको साथै नेपाल सरकारको आर्थिक तथा वित्तीय सल्लाहकार पनि हो।यस बैंकले नेपाली नोट निष्काशन,शाख नियन्त्रण लगायतका आर्थिक तथा मौद्रिक कार्यहरू गर्दछ भने यस बैंकको कारोबार गर्ने ग्राहक भनेको नेपाल सरकार,विभिन्न बैंक/वित्तीय संस्था तथा संगठित सरकारी तथा नियोगहरू हुन्।

◾️२.सरकारी बैंक तथा अन्य बैंकहरुमा कसरी सेवा प्रवेश गर्ने त?

नेपालमा २७ वटा वाणिज्य बैंकहरू मध्ये नेपाल बैंक लिमिटेड,कृषि विकाश बैंक र राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वका बैंकहरू हुन् भने नेपाल राष्ट्र बैंक सरकारी केन्द्रीय बैंक हो।उल्लेखित सबै बैंकहरूको भर्ना छनौट प्रक्रिया लोकसेवा आयोगबाट सञ्चालित भई सम्बन्धित बैंकहरूको HR बाट नियुक्ति तथा पदस्थापन गरिन्छ भने बाँकी २४ वटा वाणिज्य बैंक र अन्य विकास बैंक,वित्त कम्पनी तथा लघु वित्त बैंकहरूको भर्ना छनौट प्रकृया सम्बन्धित बैंकहरूको आ-आफ्नै कर्मचारी विनियमावली बमोजिम सञ्चालन गर्दछन्।उपरोक्त ४ वटा बैंकहरू मध्ये सेवाप्रवेशको लागि सबैभन्दा रुचाईएको बैंक NRB नै हो किनकी यो अन्य ३ बैंकहरूको पनि नियामक बैंक हो तथापि सेवा सुविधाको हकमा सबै बैंकहरूको आकर्षक नै हुन्छ साथै प्राइभेट बैंकहरूमा पनि सेवा सुविधा निक्कै आकर्षक हुन्छ।व्यक्तिको रूचि,इच्छाअनुसार उपरोक्त सवै बैंकहरुको सहायक वा खरिदार पदबाट सेवा प्रवेश गर्नु उपयुक्त हुन्छ,यस तहका NRB र RBB का लागि जुन सुकै विषयमा कक्षा-१२ वा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनपर्छ त्यस्तै ADBL को हकमा व्यवस्थापन वा मानविकी विषयमा अर्थशास्त्र विषय लिएर कक्षा-१२ वा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनु पर्छ भने NBL को हकमा व्यवस्थापन वा मानविकी विषयमा अर्थशास्त्र विषय लिएर स्नातक तह उत्तीर्ण हुनु पर्छ।त्यस्तै अधिकृत तहको हकमा व्यवस्थापन,जनप्रशासन वा मानविकी संकायमा अर्थशास्त्र,गणित,तथ्यांकशास्त्र विषय लिएर स्नातकोत्तर योग्यता आवश्यक हुन्छ।यस्तै प्राविधिक तर्फ ईन्जिनियर,सी.ए.,सूचना प्रविधि,कानुन,कृषि,सुन जाँचकी आदि सेवा समूहमा पनि खुला तथा समावेशी प्रतिश्पर्धाबाट पदपूर्ति गरिन्छ।लोकसेवा आयोगको क्यालेण्डरअनुसार सम्बन्धित बैंकको पदपूर्ति समितिले समय-समयमा खुला प्रर्तिश्पर्धाका लागि दरखास्त समय सीमा,योग्यता,उमेरहद,दरखास्त तरिका आदि खुलाएर अनलाईन दरखास्त आव्हवान गर्दछ।सवै पद र सेवाको पाठ्यक्रम पनि सम्बन्धित बैंकहरुको वेबसाइटमा राखिएको हुन्छ।यसै गरी प्राइभेट बैंकहरूको लागि पनि सम्बन्धित बैंकहरुको वेब साइटहरुमा तथा राष्ट्रिय दैनिक पत्रिकाहरूमा कर्मचारी आवश्यकताका लागि दरखास्त आव्हवान गरिएको हुन्छ।यसर्थ बैंकिङ सेवा प्रवेश गर्न इच्छुक व्यक्ति हर-समय सूचना प्रविधिमा अद्यावधिक रहनु अति आवश्यक हुन्छ।जस्तै;merojob.com,psc.gov.np,nrb.org.com,rbb.com.np,adbl.gov.np,Banking khabar,edusanjal आदि पेजहरु नियमित अपडेट रहनु पर्छ।

◾️३.परीक्षाको तयारी कसरी गर्ने त?

सर्बप्रथम बैंकहरूले विभिन्न पदहरूको लागि खुला प्रतिश्पर्धाको दरखास्त आव्हवान गरेपछि तँपाईले रीतपूर्वक अनलाईन दरखास्त भरी पाठ्यक्रम डाउनलोड गरी त्यसको क्षेत्र र विषयवस्तुहरुको कन्टेन्ट क्लियर हुने गरी शूक्ष्म अध्ययन गर्नुपर्छ।बजारमा विभिन्न लेखकका पुस्तकहरू,समसामयीक बैंकिङ सोपानहरू,कक्षा-११,१२ का लेखा,अर्थशास्त्र,व्यवसायिक अध्ययन,तथा स्नातक,स्नातकोत्तर तहका पुस्तकहरू लिन सक्नुहुन्छ।यस्तै विभन्न विजनेश जर्नलहरू,प्रतिवेदनहरु,शोधहरू,NRB प्रतिवेदनहरु,चालु बजेट,वित्तीय तथा मौद्रिक नीतिहरू पनि हेर्नु पर्छ।विभिन्न अनलाइन बैंकिङ तयारी क्लासहरू,लोकसेवा तयारी कक्षाहरु पनि चलिरहेका हुन्छन्।उपरोक्त मध्ये कुनै वा सबैलाई सन्दर्भ सामाग्री बनाएर तँपाइको अध्ययनलाई विस्तृत,वृहत र व्यापक बनाउनु पर्छ भने व्यवसायिक,नवीन सोच,तार्कीक शैलि आदिमा आधारित बनाएर उत्तर दिने लिखित अभ्यास पनि निरन्तर गरिरहनु पर्छ ।

◾️४.बैंकिङ पेशामा अवसर कस्तो छ त?

मुलुकको आर्थिक सामाजिक विकासमा बैंक तथा वित्तीय संस्थाहरूको महत्वपूर्ण योगदान रहेको हुन्छ। सिंगो मुलुक भित्र तथा बाहिरको रूपैया पैसाको लेनदेन तथा कारोबारमा प्रत्यक्ष संलग्न हुनेगरी नियुक्त गरिएका कर्मचारीहरूलाई बैंकर्स भनेर चिनिन्छ।बैंकहरूले दैनिक कार्य सञ्चालनका लागि आ-आफ्नै किसिमको कार्यविधि बनाएर विभिन्न कर्मचारीहरूलाई कार्यविभाजन र जिम्मेवारी तोकिदिएको हुन्छ।खास गरी ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा रहने गरी नगदसम्बन्धि काम गर्न जिम्मेवारी तोकिएका कर्मचारीहरूमा सबैको नजर पुग्दछ।उनिहरुलाई बिभिन्न नियम,विनियम,शर्तहरूको परिधिभित्र रहेर नगद कारोबार सञ्चालन गर्ने जिम्मेवारी तोकिएको हुन्छ।अन्य पेशाको तुलनामा बैंकर्सहरू आकर्षक,सफा पहिरनमा सजिएर ड्युटीमा आएका हुन्छन् भने कार्यस्थल पनि सफा,आकर्षक आधुनिक शैलिमा बत्ति,बिजुली,पंखा,ए.सी लगायतका आधुनिक उपकरणहरु जडान गरेर लेआउटिङ् गरिएको हुन्छ।बैंकर्सहरूलाई मासिक तलवको अतिरिक्त विभिन्न सेवा सुविधाहरू पनि दिइएको हुन्छ।जस्तै;बोनस सुविधा,मोवाईल रिचार्ज भत्ता,खाजा भत्ता,पोशाक भत्ता,दैनिक भ्रमण भत्ता,चाडपर्व भत्ता,प्रोत्साहन भत्ता,रिफ्रेसमेन्ट लिभ भत्ता,बैंक डे भत्ता,महंगी भत्ता,अो.टी.भत्ता,टेलर भत्ता,अौषधिउपचार भत्ता लगायतका दर्जनौ भत्ता सुविधाहरु प्रदान गरिएको हुन्छ। यो सँगै कर्मचारीहरूको लागि सवारी कर्जा,कम्प्युटर कर्जा,घर कर्जा लगायतका विभिन्न कर्जाहरु नगन्य व्याजदरमा प्रदान गरिएको हुन्छ।यी सबै सुविधाहरु बैंक पिच्छे फरक-फरक भएता पनि औषतमा सहायक स्तर वा खरिदार तहको कर्मचारीहरूले मासिक न्यूनतम आधालाख तलव भत्ता बुझ्ने गर्छन्।सरकारी बैंकहरूमा सहायक र अधिकृत तहको सेवा सुविधामा त्यति ठूलो अन्तर हुदैन तर प्राइभेट बैंकका सहायकको तुलनामा अधिकृत तहका कर्मचारीहरुलाई निकै राम्रो सेवासुविधा दिइएको हुन्छ।कर्मचारीहरूको लागि आकर्षक,सुरक्षित अवकास योजनाको व्यवस्था हुन्छ भने कर्मचारीहरूको व्यक्तिगत तथा आष्रित परिवारका सदस्यहरूका लागि स्वास्थ उपचार विमाको प्रत्याभूत पनि गरिएको हुन्छ।कर्मचारीहरूलाई व्यक्तित्व तथा वृत्ति विकासको प्रशस्त अवसर हुन्छ।बैंकिङ तथा वित्तीय क्रियाकलापमार्फत जनताको सेवा गर्ने अवसर मिलिरहेको हुन्छ भने राज्यका आर्थिक तथा वित्तीय नीति नियमको बारेमा जानकार हुने मौका पनि मिल्छ।यसर्थ पनि अन्य सेवाको तुलनामा बैंकिङ सेवाका कर्मचारीहरूको सेवा सुविधा आकर्षक र सुरक्षित हुन्छ ।

◾️५.बैंकिङ पेशामा कस्ता चुनौतीहरू हुन्छन् त?

बैंकिङ क्षेत्रमा जति अवसर र लाभहरू हुन्छन् त्यति नै चूनौति र जोखिमहरूसँग बैंकर्सहरु खेलिरहनु पर्छ।बैंकिङ पेशा भन्नु नै जोखिमसँगको खेल भने पनि हुन्छ।नगदको लेनदेनमा अत्यन्तै संवेदनशील,धैर्य,एवम् होसियार भएर काम गर्नु पर्ने हुन्छ। अति सानो त्रृटीले पनि ठूलो क्षति हुन सक्छ।बैंकर्सहरू सधै पेशाप्रति प्रतिवद्ध,कर्तव्यनिष्ठ,नैतिकवान,जिम्मेवार,पारदर्शी तथा वित्तीय अनुसाशीत हुन पर्छ भने आन्तरिक नियन्त्रणप्रति सजग भएर गोपनियता कायम गर्न सक्षम हुनु पर्छ।विभिन्न किसिमका गैर कानुनी आर्थिक क्रियाकलापमा संलग्न समूहहरू,मनि लाउण्डरिङ्,आतंकवादी क्रियाकलापमा वित्तीय लगानी,जाली नोट,साइबर क्राइम,ह्याकर आदिसँग जोगिएर सुरक्षितसाथ दैनिक कारोबार सञ्चालन गर्नु पर्ने हुन्छ।ग्रहाकमुखी बैंकिङ सेवा प्रवाह,ग्राहकका स-साना गुनासा र समस्या धैर्यतापूर्वक सुनेर समाधान गर्नु पर्ने हुन्छ।डिजिटल बैकिङ प्रणालीमा काम गर्नु पर्ने भएकाले कर्मचारीहरू नियमित नवीनतम सूचना प्रविधिसँग अद्यावधिक रहनु पर्छ भने बैंकिङ क्षेत्रमा देखा पर्ने नयाँ-नयाँ अवसर र चूनौतिहरूको सामना गर्दै सर्बसाधारण जनताको विश्वास कायम राख्न विभिन्न आधुनिक वित्तीय उपकरणहरू,नवीन बैंकिङ आयामहरू तथा राष्ट्रिय अन्तराष्ट्रिय बैंकिङ नियम कानुन सम्बन्धमा अपडेटेड रहनु पर्छ।Stress,Tension,Pressure,Target,Risk आदिलाई त दैनिक जीवनको सहयात्रीको रूपमा लिनुपर्ने हुन्छ।

◾️६.बिसौनीः

मुलुकको आर्थिक सामाजिक विकास र रूपान्तरणमा महत्वपूर्ण भूमिका रहेको बैंकिङ क्षेत्रमा करिअर बनाउन हरेक युवाहरूको सपना हुन्छ।तँपाईको यो सपनालाई बिपना बनाउने जिम्मा तँपाईको आफ्नै,इच्छा,संकल्प,मेहनत र समर्पणमा निर्भर रहन्छ।हरेक साल हजारौंको संख्यामा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले जनशक्ति मागिरहेको हुन्छ।कतै तँपाईको स्थान सुरक्षित पो छ की? विचार गर्नुस्।अझैसम्म पनि वित्तीय क्षेत्रमा समुदायको उपस्थिति अत्यन्तै नगण्य संख्यामा भै रहँदा म आजै योग्य,दक्ष तथा सक्षम् युवाहरूलाई बैंकीङ् क्षेत्रतर्फ आफ्नो करिअर बनाउन अपील गर्छु भने अभिभावकज्यूहरूमा आ-आफ्नो सन्ततिहरुलाई स्वदेशमै स्वलम्वन बन्न निरन्तर प्रेरणा र प्रोत्साहन गर्नुहुन पनि आग्रह गर्दछु।राज्यको महत्वपूर्ण वित्तीय क्षेत्रमा समुदायको उल्लेख्य उपस्थिति र पँहुच हाम्रो अधिकार पहिचान प्राप्तिका लागि थप कोशेढुंगा सावित पनि हुन सक्छ ।

नोगेन ।

मेहेले, ताप्लेजुङ

(राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत लेखकले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर