६ छोटा कविताहरु - Sainokhabar

६ छोटा कविताहरु

सुन्दर कुरुप

१ सरकार

हरेक बिहान
मैले किनीदिएको
टुथपेष्टले दाँत चम्काउछ
मेरै पसिना मिसीएको पानीले
अनुहार धुन्छ,जिऊ पखाल्छ
ऐना हेर्छ
दौरा सुरुवार कोट लगाउछ
मेरै गोठको माली गाईको
पोसिलो दुध पिएर
बलवान हुन्छ
र मलाई बक्सिङ देखाउछ
के सरकार बक्सिङ खेलाडी हो…
उसो भए पनि रिङ्गमा उत्रन तयार छु
लुङ्गाहरु…

२ लोकतन्त्र

६२,६३को
आन्दोलन ताका
पुलिसको डण्डा
लागेर झरेको दाँत
आज धेरै बर्षपछि
आफ्नै बलबुताले नयाँ लगाईयो।
हाँस्नलाई मुख छोपि रहनु नपर्ने भो…
अब लोकतन्त्र हेरेर खतरनाक हाँसो गज्जबले
हाँसिन्छ…
हा…हा…हा…

३ धरहरा

धरहरा
पुनःनिर्माण हुदैछ
अब केही बर्षपछि
फेरि ठहरिने छ नयाँ धरहरा

उद्घाटनको दिन जब चढने छन
महामहिम ज्युहरु
धरहराको टुप्पाबाट सबैभन्दा
पहिले हेर्ने छन आआफ्नो दरबार
शितलनिवास र बालुवार…

जब चढने छन
दलाल र भूमाफियाहरु
तब सबैभन्दा पहिले हेर्ने छन
तिनीहरुले
सरकारी जग्गामा फिस्स हाँसीरहेको
आफ्नो कृर्ते प्लटिङ

जब चढने छ
एक दिन
एउटा बेजोगार युवा
तब रिसले आगो हुदैँ हेर्ने छन
ती खण्डहर दरबार र कुरुप दृश्यहरु

४ हात

मेरो हात काटेर
प्रदर्शनीमा राखेका छन तिनीहरु
महान राष्ट्रबादीहरुले
अबलोकन गरेर भनिरहेछन
कि
हाम्रो छातीमा लात हान्ने
एउटा निकै खुङखार देशद्रोही
कविको खुट्टा हो यो।

५ गन्ध

म कुनै विद्रोही
या त कुनै आतंककारी नै हुँ
न म कसैको हत्या गर्न चाहान्छु
तरपनि खोजीरहेछु त्यो बारुदको गन्ध
जस्लाई पडकाएर हत्या गरिएको थियो
स्कुलबाट घर फर्किरहेकी
मेरी सानी छोरीको

६ रहर

मलाई पनि
एकदिन
जाउलाखेलको बाघ लिएर
मर्निङ्गवाकमा निस्कने रहर छ
यो देशमा

सम्बन्धित खवर

%d bloggers like this: