सुरक्षाकर्मी र सिकारी बिच गोली हानाहान, २ नाल भरुवा बन्दुक सहित ३ पक्राउ - Sainokhabar

सुरक्षाकर्मी र सिकारी बिच गोली हानाहान, २ नाल भरुवा बन्दुक सहित ३ पक्राउ

साइनो समचारदाता सुन्दरहरैंचा/ मोरङको सुन्दरहरैँचा नगरपालिकामा पर्ने सलकपुर सामुदायीक बनको उत्तर तर्फ सिकारी तथा सुरक्षाकर्मीको गस्ती बिच शुक्रबार दिउँसो गोली हानाहान भएको छ ।

सामुदायिक वनको गस्तीमा रहेको सुरक्षाकर्मीको संयुक्त टोलीले सिकारीको समुहलार्इ घेराबन्दीमा परेपछि सिकारीको समुहबाट ९ राउण्ड तथा वन रक्षककबाट ७ राउन्ड, सशस्त्र प्रहरीबाट १ राउण्ड फायर भएको सशस्त्र प्रहरी बल नेपाल हाइवे सुरक्षा पोष्ट सलकपुरका सशस्त्र प्रहरी निरीक्षक विदुर भट्टराईले जानकारी दिए ।

सिकार खेलिरहेको थाहा पाएर सशस्त्र प्रहरी बल नेपाल हाइवे सुरक्षा पोष्ट तथा सशस्त्र वन रक्षक डिभिजन वन कार्यालय सलकपुरको संयुक्त टोली गएको देखेपछि सिकारीले फायर गरेका थिए । संयुक्त गस्ती टोलीले चोरी सिकारीमा संलग्न ३ जनालाई गोली हानाहानपछि नियन्त्रणमा लिएको थियो । पक्राउ पर्ने मध्ये केराबारी गाउँपालिका ८ आमजुङ्गीका ३५ वर्षिय गम्बरबहादुर जोगी, सोही स्थानका २७ वर्षिय किसन कार्की र झापाका किरण धिमाल रहेका छन् । सिकारीको साथबाट २ नाल भरुवा बन्दुक, २ सय ग्राम बारुद र केही छर्रा तथा मोवायल बरामद भएको बताइएको छ ।

सलकपुर र केराबारीका गरी ४० जना जतिको समूह सिकार खेलिरहेको अवस्थामा सशस्त्र प्रहरी र वन रक्षक भन्दा सिकारीको संख्या ठूलो भएकोले हतियार सहित आमनेसामने भएपछि सशस्त्र प्रहरी बल बाट जवाफी फायर गरेर नियन्त्रणमा लिइएको साथै केही तितरवितर भएको बताइएको छ । नियन्त्रणमा लिइएका सिकारीलाई कानुनी कार्यवाहीका लागि प्रक्रिया अघि बढाएर हदैसम्मको कार्वाही हुने सब डिभिजन बन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझीले बताए ।

सम्बन्धित खवर