समाजवादीका नेताले संसदीय कोषको डेढ करोड कोरोना राहतमा खर्च गर्ने - Sainokhabar

समाजवादीका नेताले संसदीय कोषको डेढ करोड कोरोना राहतमा खर्च गर्ने

काठमाडौं । समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवले आफ्नो संसदीय कोषबाट खर्च गर्ने गरी आफ्नो क्षेत्रका पाँच स्थानीय तहलाई कोरोनाभाइरस रोकथाम तथा राहतका लागि बजेट दिने भएका छन् ।

जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका यादव महोत्तरी क्षेत्र नं ४ बाट निर्वाचित संघीय सांसद हुन् । उनको क्षेत्रमा पाँचवटा स्थानीय तह छन् । आफ्नो क्षेत्रमा भारतसँग सीमा जोडिएका स्थानीय तहहरु रहेकाले पनि कोरोनाभाइरसको जोखिम र समस्या बढी हुँदा सोको रोकथाम र राहतका लागि ६ करोड रुपैयाँ रहेको संसदीय कोषको बजेट त्यसका निम्ति खर्च गर्न लागेको उनले बताए । उनले सम्सी गाउँपालिकालाई १ करोड र मनराशिस्वा नगरपालिकालाई ५० लाख रुपैयाँ दिने सल्लाह भइसकेको बताए ।

बाँकी रहेको तीन वटा स्थानीय तह सोनामा गाउँपालिका, रामगोपालपुर नगरपालिका र औरही नगरपालिकामा पनि जनप्रतिनिधिसँग छलफल गरी आवश्यकता अनुसार बजेट दिने उनले बताए । कोरोनाभाइरस रोकथाम तथा राहतका लागि स्थानीय तहहरुले पनि बजेट छुट्याएको र आफूले दिने बजेट पनि त्यही मिसाइने उनले बताए । तर, समाजवादी पार्टीका कतिपय कार्यकर्ताहरुले भने कोरोनाभाइरस रोकथाम तथा राहतका लागि यादवले साढे ३ करोड रूपैयाँ दिने भन्दै प्रचार गरिरहेका छन् । यादवले फागुनयता संसदीय कोषको रकम खर्च गर्ने नयाँ व्यवस्था आएको भन्दै विधिसम्मत नै कोरोनाभाइरस रोकथाम र राहतमा बजेट खर्च गर्न लागेको बताए । संसदीय कोषको बजेट खर्च गर्दा स्वयं सांसद नै संयोजक हुने व्यवस्था छ । -सार्वजनिक डटकम

सम्बन्धित खवर

%d bloggers like this: