विराटनगरमा भर्ना नलिएपछि बिरामीको मृत्यु - Sainokhabar

विराटनगरमा भर्ना नलिएपछि बिरामीको मृत्यु

साइनो समाचारदाता

विराटनगर । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरेको बिरामी विराटनगरका अस्पतालले भर्ना गर्न नमान्दा उच्च रक्तचाप भएको एक बिरामीको मृत्यु भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका ५ की नरदेवी गुरुङको मृत्यु भएको हो ।

विरामीलाई विराटनगरको न्यूरो अस्पताल र विराट नर्सिङ होमले भर्ना लिएन । अन्ततः नोबल अस्पतालमा भर्ना लियो । भर्ना भएको डेढ घण्टामै ५२ वर्षकी नरदेवीको मृत्यु भयो । नरदेवी मंगलबार विहान करिब ६ बजे बेहोस भएकी भइन् । गुरुङलाई सुरुमा धनकुटाको क्लिनिकमा उपचार गर्न लगिएको थियो । न्यूरोको इमरेजन्सीमा केहीबेर राखेर चिकित्सकले रेफर पुर्जी हेर्दै विराट नर्सिङ होम रेफर गर्यो । होमले पनि रेफर पूर्जी हेर्दै नोबलमा पठाएको थियो । नरदेवीको शरीरमा १०२ डिग्री ज्वरो मापन गरिएको थियो । ज्वरोका कारण अस्पताल उपचार गर्न तर्किए । छोरी लक्ष्मीले समयमा नै उपचार नपाउँदा आमा गुमाउनुपरेको बताइन् । उच्च रक्त चापका कारण बेहोस भएकी नरदेवीलाई नोबेलका चिकित्सकले ढिलो ल्याएका कारण बिरामी बचाउन नसकेको बताएको लक्ष्मीले बताइन् ।

सम्बन्धित खवर