"कुकुर कविता आन्दोलनको मेलोबाट.........." - Sainokhabar

“कुकुर कविता आन्दोलनको मेलोबाट……….”

 सङ्गम सुहाङ

आज भन्दा करिब २५ सय बर्ख अगाडि जन्मेका ग्रीक दार्शनिक प्लेटोले भन्या थिए -” हे, कवि कलाकारहरु! हामी ऐले गणराज्य निर्माणको निम्ति जुटि रहेका छौ, तपाइँहरूका निम्ति तेत्रो युरोपको जग्गा खालि छ कृपया,तेता गएर कविता लेख्नु होस्।” अहो, कति शालिन अभिव्यक्ति! तेस बेला पनि हाम्रा देवकोटा, घिमिरे, पौडेल जस्ता हावामा लेख्ने कविहरु थिएछन्। यी हरु जनतालाई भावनामा उराल्ने र बराल्ने काम मात्रै गर्छन्। राज्य निर्माणका खातिर निर्णायक सेतु बन्न सक्दैनन् । राज्य संचालनका निम्ति इनिहरु गैरजिम्मेवार छन् भन्ने दिब्य ज्ञान उनीमा प्रसस्त थिएछ र त उनले तिनलाई राज्यबाट निकाली दिनु पर्छ भन्ने सार्बजनिक मत जाहेर गरे। ऐले हाम्रो तिर ठ्याक्कै तेस्तै छन्-“कवि” नामको धुस्रो खोल भिर्यो, सकियो अनि कविता कथ्यो र कहाँ- कहाँ सिक्वेन्स लाग्छ, त्यहाँ- त्यहाँ गएर झ्याँसे मन्चमा दुई धार्नीको घन टाउके खप्पर उभ्याएर सान सौकातले घिच्रोमा खदा र कुहिएको माला लाएर कविता डकार्यो अनि एसो उसो फेसो लगायो। पुरस्कर मुक्यायो। सकियो। ई कथित कवि नामका ढोगी पात्र र प्रवृत्ति काधमा ओडेका विशेषत: आदिवासी, महिला, उत्पीडित समुदायहरुलाई कविता, आन्दोलन र कवि भन्ने जिनिसको भुत्लोभाङ ख्याल छैन।

फगत: हल्लामा हल्लिएर एक मिटरे थाङ्नोको छेउमा टिस्स फोटो टासेर, तेसैको पछि खल्लिबल्ली दौडेको छ – दौडेको छ। कविता, गजल, गीत या कुनै रचना नामको खोस्टो सुङ्गुर थुतुने फुँदो समाएर ख्वार ख्वार्ती भन्न पाए पुगि हाल्यो। त्यै पनि नयाँ कथुर्याएर भनेको भए पो! कति बर्ख अगाडि देखिको त्यै एउटा थोत्रो घुनपुत्ली लागि सकेको फेसबुक देखि पत्रिका, अनलाइन, युटुब सबैतिर छ्याल् ब्याल पोखी सकेको, त्यै पोखिएको ट्याप्प टिप्तै भन्दै ! ती ढुसी परेका बासी सृजना बोकेर अरुहरुलाई ठिनामिना ठानेर बूढो गोरुले गाई रुगे जस्तो एता- उता जता पनि मुर्कुटे स्टेज कभर गरेको छ- गरेको छ। भानुभक्त देखि महेन्द्र माला हुँदै देवकोटा र घिमिरेसम्मको ह्वास्सै गनाउने पहाडे बाहुनबादी स्कुलिङ्बाट गाइडेड भएर आएका गुराँस, डाँडा,पाखा,पुतली, चराचुरुङ्गी, वीर गोर्खालीका कविता भित्र राष्ट्रियताको वजन हुङ्कार्ने र बडोसँगले ठाँटिएर कवि, साहित्यकार र समालोचकको फुर्को लगाएर आफूलाई महानी स्वउद्द्धोश गर्ने अहिलेका केही चल्ताफुर्ताहरुको कविता पढ्दा/ सुन्दा म अचम्मैसँगले ताजुपिन्छु।

पुस्तक र क्रान्ति-
अमेरिकी स्वतन्त्र संग्राम(१७७५-८३)को समयमा Thomus pen ले common sence नामक पुस्तक लेखेर अमेरिकी नागरिकहरूलाई वेलायतको उपनिवेशवाद विरूद्द लड्न जागरुक बनाएका थिए। प्रत्येक नागरिकलाई आन्दोलित बनाउन सफल उक्त पुस्तक लाखौंको सङ्ख्यामा बिक्री भएको थियो। त्यस्तै गरि फ्रन्सेली राज्य क्रन्ति(१७८९-९२)ताका भोल्टेयर, मन्टेस्क्यु, रूसो जस्ता लेखकहरुले पुस्तक लेखेर नै वौद्विक जागरण ल्याई क्रान्तिलाई सफल बनाएका थिए। रूसी क्रान्ति(१९१७-१८)लाई उचाई प्रदान गर्न टोल्सटाय, गोर्की र चेखवले बौद्दिक नेतृत्व गरेका थिए तर हाम्रातिरका कवि, लेखक/ कलाकारहरुमा त्यो स्तरको छाँट आज सम्म देखिएको छैन्। यो बडो दुःखद् कुरो हो किनभने हामीले के लेख्ने ? किन लेख्ने ? भन्ने सामान्य प्रश्नको समेत हेक्का छैन्। खालि जीवन र जगत लेख्ने भन्छौं। नाथो यो जिन्दगी नामको एउटा चोक्टो विबरणको बारेमा त सबैले लेखेकै छन्। जिन्दगीमा उकाली ओराली हुन्छ। दिन रात हुन्छ। सुख दु:ख हुन्छ। मिलन बिछोड हुन्छ। घाम पानी हुन्छ। अप्ठ्यारो सप्ठ्यारो हुन्छ। सफलता असफलता हुन्छ। बाँकी के नै हुन्छ र- यो एक फुटे जिन्दगीमा ? जो हिजो देखि लेखिदै,भोगिदै र देखिदै आएको छ अनि के जीवन जगत लेख्नु ? कति ठुङ्नु यो जिन्दगीलाई बार- बार ? सत्ता, समाज र राजनीति दर्शन एकातिर अनि कवि कलाकार अर्कोतिर भएपछि कहाँबाट टोल्सटाय, गोर्की र चेखवहरु जन्मिने त?

जातीय कि वर्गीय साहित्य-

अलि अघिका हाम्रा केही अलिकति सुझेकाहरुले साहित्यमा पनि वर्ग भन्दै कुदेछन् र त्यो वर्गको नेतृत्व मार्क्सले गरेको छ भनेर मार्क्सको ट्याप्रो लगाएर हिडेछन् अद्यापि यो क्रम आज पनि जारी छ र ती हाम्रा भनेका यो देशका आदिवासीहरु हुन्। अब मार्क्स नै सबै कुरो हो भनेर हिडे पछि त्यहीँ बाट गडबडी शुरु भयो किनभने मार्स्कसीय सिद्धान्त र जातीय ब्यबस्था फरक आइडियोजी हुन्। मार्क्सले ह्याभ र ह्याभ नटको मात्रै कुरो गर्छ र ह्याभको बिपक्षमा र ह्याभ नटको पक्षमा उभिन्छ तर जात ब्यबस्था त्यतिमा मात्रै सिमित छैन् जस्तो कि धर्म, भाषा, संस्कार ,संस्कृति, रीतिरिवाज, चाडपर्व, परम्परा, सभ्यता आदि जातीय ब्यबस्थाका परिचायक हुन्। वर्गीय समस्या भन्दा मुनि धेरै जातीय समस्याहरु छन्। जातीय समस्याको टुङ्गो नलागे सम्म वर्गीय समस्याको समाधान हुन सक्तैन। त्यहीँ जात ब्यबस्थाको गहिराई सम्म पुगेर तिनका अन्तर कुन्तरका ज्ञान, मनोविज्ञान र तिनका मनोवृत्ति लगायत एकात्मक सत्ताको मुस्लिले कुटिएर जातीय विभेद र उत्पीडनमा परेका कुनाकृतहरुको समग्र व्यष्टि कला साहित्यमा उजागरित हुनु पर्दछ तर हामी भने भङ्गेराको गीत, जिन्दगीको कथा, खोला जस्तो भएर, ईश्वरको कुरा गरेर, एसो तरुनी/ तन्नेरी सम्झेर- जो कल्पनाको आकाशमा भावनाको मोही खादै बेकारको त्यान्द्राहरु गाँसेर जस्को सामाजिक जनजीवन, प्राकृतिक तादात्म्यता र राज्यसँगको राजनीतिक मूल्य मान्यता नै छैन- लाई लेखेर खदा र माला सम्मको अवमूल्यन हुने गरि, तरुनीका नाभि, नितम्ब, मान्छेका आँखा, सपनाका भाका, आँसु र बियोग ब्यथाका कविता कथुरेर हामी कहाँ पुग्छौं र हाम्रो पछिल्लो पुस्तालाई हामी कहाँ पुर्याउछौ त्यो पाटोबाट विश्लेषण गर्न छाडेर त्यै उत्तराधुनिक चोइटोमा गजक्क हाडी घोप्टे झै घोप्टिए गजधम्म परेर बस्छौ । ओर्तिर पर्तिर साथीभाइ के कसो बाल छैन सिल्फ कवि हुङ भन्ने बेढङ्गको तुजुक छातीमा उभ्याएर हल हलको मेलो गफ जोत्छौ तर एसो हेर्यो भने उनका ती सृजना नामका झ्यास, खैराते पाखामा उम्रनु नसकेको घाँस जस्तो बेखासको हुन्छ। सुझ्नु बुझ्नु क्यै छैन। हावाको तालमा कावा खादै, आवा न चावाको गजल, मुक्तक, गीत, रुवाई आदिमा अल्मली रहेका छौ। अब पनि हामीले कुरो नबुझेर कहिले बुझ्ने ?

तेस्तो कविता त, यो देशका सैशत्तामा मैमत्ता भएका सनातनी मठाधिश शासक खलककाहरुले मनोरञ्जन र आत्मसन्तुष्टिको लागि लेख्ने गर्छन्। के हामी मनोरञ्जन, आत्मसन्तुष्टि र नेपाली भाषाको श्रीवृद्विको लागि लेखी रहेका छौ ? अलि अघि एउटा गङ्वारफ्वाट याक्थुङ मूलका गीताङ्गेले मलाई निम्तो ठेली दिदै भने- “कविता प्रतियोगितामा तपाईंले पनि भाग लिनु होस् है।” भन्ने टाइपको म्यासेज खसाली दिएछन्। ती हुँडार खालका बम्फके मनुखेलाई मैले मेरो ब्यक्तित्व र प्रतियोगितात्मक आयाम भित्र “म” लाई छिराउने गुप्रयास गरिनँ। हामी न भाषाको श्रीवृद्वि, न मनोरञ्जन न आत्मासन्तुष्टि, हाम्रा लागि ई बाल- बाचालका बिषय हुन् भन्ने तीलज्ञान नराख्ने सिङ्गडे गीताङ्गेले किन तेत्रो फुर्ती लगाउनु ? फेरि हाम्रातिरका सिङ्गाने गीतकारे र भिजुयलेहरुलाई चिन्न सजिलो छ हतार पतार अघि नै माङ्ही, झन्डा, त्रिसुल र घण्टी देखाई हाल्छन्। तेति नभए त तिनको भिजुयल नै हुदैन।केही महिना अघि एउटा भिडियो आउट भएको थियो। त्यो भिडियोको मजबुन एस्तो थियो-: फेदाङ्बाले मौलिक बिधिबाट माङ्गेना गरि रहेको बेला अचानक जट्टाधारी छद्म भेषमा त्रिसुल र घण्टी बोकेर फाल्गुनन्द आई पुग्छ अनि फेदाङ्बा जुरुक्कै उठेर भाग्छ।

त्यो भिडियो तीन दिन सम्म भाइरल भयो। सबैले जोड जोडले बिरोध गरे। यो मौलिक र परम्परागत बिधिबाट गरिने अनुष्ठानमा त्यो जसमुनी पन्थी हिन्दूबादी हिजडाले के गरेको भनेर त्यो कुकृत्यको सर्वस्त बिरोध गर्दै मौलिकतावादीहरुले लगातार आपत्ति जनाएर मुद्दा लगाउने सम्मको कुरा उठेपछि सम्बन्धित ब्यक्तिले फेसबुकमा स्टाटस लेखेर माफी माग्दै युटुवबाट डिलिट गर्यो। बदलामा अर्को पक्षले आत्मनन्द भनि मानिएको गुरुलाई याक्थुङ्हरुको मौलिक रीतिथिति बिगार्ने भनेर, लात्तै लात्ताले भक्कुर्दै कालो मोसो र जुत्ताको माला लगाएर चौखुर्याउदै खेदाएको भिडियो बनाएर आउट गर्यो भने समुदायमा कस्तो म्यासेज जान्छ। तेति सामान्य ज्ञान नराख्ने हग्लादे लठकहरुको खोपडीमा तेसरी चुक्कुल लागे पछि कस्को के लाग्छ।

लेखकीय मुद्दा –

जनता (स्रोता/ दर्शक) को मन मथिङ्गलमा सबभन्दा पहिला गीत सङ्गीतले छापा मार्छ किनभने त्यो सरल, सुललित र लालित्यपूर्ण हुन्छ। भनिन्छ सङ्गीत सुने पछि भैंसी त एक छिन उभिन्छ अरे भनेपछि एस्को दायरा, शक्ति र सीमाको रत्ति ज्ञान नहुने रहरे, बहरेहरुले किन ग्वाम्मै गीत सङ्गीतको दहमा हाम फाल्नु ? गीत सङ्गीतको माध्यमबाट सत्ता पनि कब्जा गरेको पछिल्लो ज्युँदो उदाहरण हाम्रा सामु फक्ताङलुङ जतिकै छर्लङ्ग छ तर ती नादानी ठाउँमा हुर्केर पनि ईख नभएका मुकाबाज नासमझहरुलाई अत्तोपत्तो क्यै थाहा छैन। फेरि हाम्रामा एस्ता हरिल्वाँट मुङ्ग्रे स्वाँट खालका गीते सर्जकहरु छन् भने तीहरुसँग बिचार, दृस्ठिकोण, मुद्दा, दर्शन क्यै छैन्। यो कुरा कविते, गजले, हाइके, रुवाइये, ताङ्के, आख्याने सबै सबैमा सुल्टै लागू हुन्छ। इनेरुसँग के छ भनेर भन्देखिन खज्मजिएको भावनाको थुप्रो छ, त्यै पनि घाँसको जस्तो थुप्रो भन्नुस्। तेसैलाई बटार- बुटुर पारेर लेख्यो- सकियो। सिमान्तको डीलबाट ओर्लिनै लागेका र तथाकथित सत्ताको आडमा धुलिफ्वाँक हुन लागेका हाम्रा अस्तित्व माथि हामीले अब आन्दोलन लेख्ने हो तर विडम्बना ! सहोदर साथीहरूले उग्रजातीवादी भन्न भ्याए। हामी त अझ भन्दै छौ- अरु कुरा पछि लेखौला। अरुहरुले लेखून। यौनको कुरा, स्वर्ग र नर्कको कुरा, प्रकृतिक सौन्दर्यको वर्णन, अर्को दृष्टि प्रक्षेप वा आयाम अथवा आवाज भन्नू होस् तत् – तत् विषयमा अल्झि रहयौ भने हाम्रो (identity crisis) अनुहार माथि कल्ले बोलि दिने/ लेखी दिने? समाज रुपान्तरण र प्राप्तिको लागि राज्य शत्तालाई धक्का दिएर यै बेला लेख्ने हो। हामीले नै लेख्ने हो। र, लेख्ने नै हो, लेख्ने नै भनेर याक्थुङ लेखक संघ गठन गरेका हौ। लेख्नु पर्छ तर अब हामीले लेखनीय धार बदल्न जरुर छ। त्यो धार भनेको शत्ता प्राप्तिको जागरणात्मक र रखबारमयी लेखन हो। दखलकारी र धक्काधार लेखन हो। जसरी भए पनि हामीले उत्पीडित, महिला र आदिवासीहरुलाई जागरुक बनाउनु परो। त्यो जागरुकता पैदा गराउने मेलो लेखकीय मुद्दा नै हो। त्यो मुद्दा एतिखेर कुकुर कविता आन्दोलनले घ्वाप्पै काँधमा बोकेर सबैलाई अपिल गर्दै हिडिरहेको छ कि- यो ज्युँदो जाग्दो जमिनको उत्पीडन लेखौं। एकल जातीय, भाषीय, क्षेत्रीय र लैङ्गिक विभेद र उत्पीडनको विरुद्धमा लेखौं। ऐलेलाई स्व:स्वयत्तता र आत्मनिर्णयको अधिकारको पक्षमा लेखौं। यो बिरासत र सभ्यताको ढुकढुकी लेखौं। लिम्बुवान भूमि मुक्तिको लागि लेखौ। रक्सी र सोल्टेनीको कुरा पछि लेखौला। महफिलमा गाउन पनि पछि जाउँला। तर जति पनि लेखिएका एतातिरका हाम्रा गीतहरू, कविताहरु- न सुन्नुको स्वाद न हेर्न र पढ्नको मज्जा, न बिचार, दर्शन न धक्कावारी आन्दोलन,- फगत हावाका गन्दाखोल साबित भएका छन्। समग्रमा अब हामीले लेखकीय ज्ञानसँगै सत्ता निर्माणको लागि बिमर्श गर्नु पर्छ। उहिल्यैका भीमनिधि तिवारीले भने जस्तो ” साहित्यमा लाग्नु भनेको फूलबारी गोड्नु हो, राजनीतिमा लाग्नु भनेको आँधी बेहेरीमा पस्नु हो।” भनेर तिनै शासक जातिले हामी माथि शासन गरि रहेको तथ्य पनि हामीले भूल्नु हुँदैन। तीहरु माथि अब हामीले जरुर प्रश्न तेर्स्याउनु पर्छ कि अबताक हामी फूलबारी मात्रै गोड्ने होइनौं कि आँधी बेहेरीमा पनि पस्न तयार हुनु पर्यो। हामी कहिले सम्म कथित बुटले उभ्याएको सत्ताको रोहमा जकडिएर तिनको महिमागान गाइ दिनु ?

अनि, कस्तो र कति लेखियो भन्दा पनि के का लागि र किन लेखियो भनेर छलफल गर्न जरुर छ। यो सँगै अरु सृजना पनि सम्झिनु होस्। सोल्टेनी, सोल्टी, तोङ्बा, हाक्पारे, पालाम, यालाङ् आदि -आदि। भिडियोमा त झन् विभिन्न आभूषणले सजिएको गरगहना र महङ्गो लुगाको मात्रै उरुङ हुन्छ। चेतनाहीन टाउको र तीन धार्नीको कन्डोको चाक पुर्लुक्क- पुर्लुक्क हल्लाउने देखि बाहेक उस्तो क्यै देखिन्दैन। तपाईंले पनि त्यै देख्नु हुन्छ। हामी अलि धेरै सस्कार र सस्कृति प्रेमी भयौ कि ? शत्ता केन्द्रित सृजना गरेनौ। हाम्रा सृजनाशील कलम र बिचारले सामुदायिक राजनीति सत्ता निर्माणको लागि कति सहयोगसिद्ध छ अब हामीले खुट्याएर हेर्ने बेला भएको छ।

बिसौनीमा-

हाम्रो लेखन, गायन र मन्चन के का, किन र कस्का लागि भन्ने प्रश्नको उत्तर आउने हुनु परो। अबताक हाम्रो हरेक शब्द सृजनाले आन्दोलनको आँधी बेहेरी बोकेको हुनु परो। हाम्रा कला, साहित्य र सृजनाले पाठक, स्रोता र दर्शकको मनलाई बिरेचित, रोमान्चित र आनन्दानुभूती होइन आन्दोलनको अग्र मोर्चामा आन्दोलित हुन उत्प्रेरित गर्ने हुनु परो। हाम्रा कला साहित्यमा आँसु र बियोगको बिलाप होइन, उन्मुक्तिको लागि भण्डाफोर गरिएको आवाज मुखरित भएको हुनु पर्‍यो। हाम्रा पात्रहरुलाई नश्लिय शत्ताको विरुद्धमा निरन्तर लडि रहेको कर्मठ र स्वाभिमानी योद्धा बनाएर चिहान सम्म पुगेर ब्युत्ताएर ल्याएको हुनु पर्‍यो, नत्र भए आजको राज्य सत्ताले हामीलाई ” ए, कवि कलाकार हो ! हामी ऐले सङ्घीय गणतन्त्र र समृद्ध नेपाल निर्माणका लागि जुटि रहेका छौ। तपाईहरुका निम्ति अरबका जग्गा खाली छन्, कृपया तेता गएर कविता लेख्नु होस्” भन्ने छन्। तेस बेला हाम्रो लागि यो भन्दा निम्छरो र घटिया आरोप के हुन सक्ला। हामी समाज निरपेक्ष छैनौ। सत्ताको भजन कृतन र महिमा मन्डन होइन, तिमेरका घुच्चुकमा हान्न बन्चरो उध्याएर ढुकी रहेका छौ भन्ने सन्देश दिने हुनु परो। आजलाई कुकुर कविता आन्दोलनको मेलोबाट एति नै…….बाँकी अरु त के भन्न सकिन्थ्यो र- अग्लो बारीको काङ्लाबाट लड्न आँटेको सुङ्गुरलाई हे युमामाङ् ! भन्न सकिन्छ तर कुद्दै गएर च्याप्पै खुट्टामा समाएर तान्न त सकिन्दैन है।

नोगेन- सेवारो।

सम्बन्धित खवर

%d bloggers like this: