सुदूरपश्चिमका नौ जिल्लामा सुरक्षाकर्मी परिचालन - Sainokhabar

सुदूरपश्चिमका नौ जिल्लामा सुरक्षाकर्मी परिचालन

साइनो समाचारदाता

कञ्चनपुर । नेपालको सबैभन्दा पश्चिम प्रदेश सुदूरपश्चिमले नौ वटै जिल्लामा उच्च सतर्कता अप्नाइएको छ । मुलुकभर लकडाउन भएसंँगै सुदूरपश्चिमभर बिहानैदेखि सुरक्षाकर्मी परिचालन भएका छन् । कञ्चनपुर, कैलालीका साथै पहाडी जिल्लामा समेत अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई हिँडडुल कम गर्न तथा यातायात, व्यापार तथा बजार बन्द गर्न स्थानीय प्रशासनले लकडाउन गरेका छन् ।

सोमबार कञ्चनपुर र कैलालीमा नेपाल–भारत सीमानाका बन्द गरिए पनि उच्च सतर्कताका साथ नेपालीलाई स्वास्थ्य परीक्षण गरी भित्र्याइएको थियो । बिहान भने कञ्चनपुरको सीमावर्ती बजार वनबासा र कैलालीको गौरीफण्टा नाकामा सयौंँ नेपाली अलपत्र परेका छन् । उनीहरुलाई नेपाल आउन दिइएको छैन । पश्चिममा कैलालीका त्रिनगर, खंक्रौला नाकाका साथै कञ्चनपुरको ग्डडाचौकी, बेलौरी, डडेल्धुराको जोगबुढा, बैतडीको झुलाघाट र दार्चुलामा भारतसित जोडिएका महाकालीका चार पुलबाट आवागमन रोकिएको छ । सुदुरपश्चिमका विभिन्न जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई अनावश्यक रुपमा घर बाहिर ननिस्कन आग्रह गर्दै यहाँका बजार, व्यवसाय र कलकारखाना बन्द गर्न निषेधाज्ञा जारीसमेत गरेका छन् ।

पहाडी जिल्ला डडेल्धुरा, दार्चुला र बैतडीलगायत जिल्लामा समेत लकडाउनको प्रभाव देखिएको छ । सुदूरपीश्चम प्रदेशमा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायले स्वास्थ्य परीक्षणका लागि हरेक जिल्लामा दर्जैनौँ सहायता कक्ष सञ्चालनमा ल्याएका छन् । बैतडीको डिलाशैनी गाउँपालिकामा दुई, दोगडा केदारमा एक, सुर्नया गाउँपालिकामा तीन, पुच्यौडीमा पाँच र दशरथ नगरपालिकाको झुलाघाटमा स्वास्थ्य कक्ष स्थापना गरिएको छ भने बैतडी जिल्ला प्रहरी कार्यालय परिसर र जिल्ला अस्पतालमा आइसोलेशन कक्षसमेत निर्माण गरिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी प्रमुख नूरहरि खतिवडाले कोरोना भाइरस सङ्क्रमणको जोखिम भएकाले लक डाउन गरिएको बताए । डडेल्धुरामा आज बिहानदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरिने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए। बाजुरामा विशेष गरेर तराईका जिल्लाबाट जिल्लामा गएका सर्वसाधारणको स्वास्थ्य परीक्षणमा जोड दिइएको छ । डोटी जिल्लाले पनि मङ्गलबारदेखि लागू हुने गरी जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । अछाम र बझाङ्गमा पनि आवश्यक तयारी, स्वास्थ्य परीक्षण र सचेतनामलक कार्यक्रमलाई स्थानीय तह र प्रशासनले जोड दिएका छन् । दार्चुलामा पनि भारतसित सीमा जोडिएका महाकाली नदीमा अवस्थित चार पुलबाट आवागमन पूर्ण रुपमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले केन्द्रको निर्णयानुसार जिल्लाको सीमानाका बन्द गरिएको जनाएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: