पूर्व मन्त्रीको घरमा आतंककारीले बम प्रहार गरेको प्रचण्डको दाबी, किन विप्लप समूहले बम प्रहार गर्यो ? - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

पूर्व मन्त्रीको घरमा आतंककारीले बम प्रहार गरेको प्रचण्डको दाबी, किन विप्लप समूहले बम प्रहार गर्यो ?

फाइल तस्बिरःफाइल तस्बिर।

साइनो समाचारदाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरी क्षति पुर्‍याएको दाबी गरेका छन् ।

बाँस्कोटा पार्टीका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य समेत हुन् । बुधबार प्रेस विज्ञप्ति निकालेर प्रचण्डले भक्तपुर मध्यपुर नगरपालिका वडा नम्बर १ लोकन्थलीस्थित निजी निवासमा आतंककारी समूहले बम विस्फोट गरेको उल्लेख गरेका हुन्।

‘बाँस्कोटाको निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्‍याएको छ। म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भ्रत्सना गर्दछु,’ प्रचण्डले भनेका छन्, ‘घटनामा संलग्न अपराधीहरूलाई नियन्त्रणमा लिन र कडा कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’
बम विष्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ।

घटनास्थलमा भेटिएको उक्त पार्टीको पर्चामा बाँस्कोटालाई किन कारबाही भनेर १० बुँदा लेखिएको छ। उक्त समूह नजिक रहेको इरातोखबर अनलाइनले पर्चाको पूर्ण विवरण छापेको छ। विप्लव समूहले मन्त्री हुँदा बाँस्कोटाले विभिन्न परियोजनामा घुस मागेको र अर्का्तिर आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउने काम गरेकाले कारबाहीस्वरूप विष्फोट गरिएको बताएको छ।

विप्लव समूहले पर्चामा बाँस्कोटामाथि लगाएका १० आरोप यस्ता छन्ः

१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले।

२. २४ अर्बको स्याटेलाइट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टाचार गरेकाले।

३. १९ अर्बको फोरजी सेवा विस्तारका दौरान करोडौं रकमको दुरूपयोग गरेकाले।

४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौं कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका खेलेकाले।

५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा(सुविधाका नाममा करोडौं हिनामिना गरेकाले।

६. सरकारको प्रवक्ता पदको दुरूपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले।

७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासीवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले।

८. राष्ट्र, जनता र क्रान्तिका विरूद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले।

९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले।

१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले।

सम्बन्धित खवर