बहुधार्मिक मार्गमा लम्कँदै चुम्लुङको जहाज - Sainokhabar

बहुधार्मिक मार्गमा लम्कँदै चुम्लुङको जहाज

अमित थेबे मिहाङ

प्रारम्भः

किरात याक्थुङ चुम्लुङ (कियाचु) नेपालले भर्खरै २०७६ फागुन १६ र १७ गते आफ्नो राष्ट्रिय चुम्लुङ बैठक सम्पन्न गरेको छ । लिम्बुवानको बिर्तामोडमा चुम्लुङले करिब साढे दुई दर्जन निर्णयहरू पारित गरेर सार्वजनिक पनि गरिसकेको अवस्था छ । निर्णय सार्वजनिक भएलगत्तै सबैभन्दा पेचिलो प्रतिक्रियाहरू भने धर्मको विषयमा आइरहेको छ । अहिले याक्थुङ समाजमा सबैभन्दा बढी धर्म र सँस्कृतिकै मुद्दाले प्रधानता पाएको छ ।

१. के छ निर्णयमा ?

चुम्लुङले गरेको निर्णय सबैभन्दा बढी आउन लागेको जनगणनामा केन्द्रित देखिन्छ । १२ औँ राष्ट्रिय जनगणना वि.सं. २०७८ मा हुँदैछ । ०४६ भदौ १७ गते चुम्लुङ स्थापना भएको हो । त्यस्तै, अन्य चार जातीय संस्थासँग मिलेर चुम्लुङले ०४८ जनगणनादेखि धर्मको महलमा किरातु लेखाउँदै आएको छ । राष्ट्रिय चुम्लुङले ०७८ मा पनि किरात धर्म लेखेर निरन्तरता दिने निर्णय गरेको छ । ३० बुँदेको सिरानमा लेखिएको छ, आगामी राष्ट्रिय जनगणना २०७८ मा जातरजातिको महलमा लिम्बु, भाषाको महलमा लिम्बु, थरको महलमा आआफ्नो थर, धर्मको महलमा किरात लेख्न लेखाउन यो राष्ट्रिय चुम्लुङ सम्पूर्ण लिम्बुहरूलाई हार्दिक अनुरोध गर्दछ । यसअघि, चौबिसे धनकुटामा सम्पन्न २२ औँ राष्ट्रिय बैठकले पनि किरात धर्म लेखाउन उल्लेख गरेको छ ।

२. किन र कसरी हुँदैछ विवाद ?

याक्थुङ जातिमा पछिल्लो समय धर्मको बहस चरमविन्दूमा पुगिरहेको छ । चौथो ठूलो धर्मका रूपमा किरात लेखिदै आए पनि अहिले याक्थुङ(लिम्बु) समुदाय धर्मको विषयले रन्थनिएको छ । पछिल्लो समय मौलिकताको विषयका आधारमा दुई कित्ता प्रष्ट देखिन्छ । ०३६ सालमा स्थापना भएको किरात धर्म तथा साहित्य उत्थान सङ्घ र फाल्गुनन्द समाजले किरात धर्मको नेतृत्व गरिरहेको छ । त्यस्तै, ०७४ मा सङ्गठित भएको युमा साम्यो महासभाले युमा धर्मको वकालत गरिरहेको छ । किरात धर्मले युमा साम्योलाई पन्थको रूपमा स्वीकार्न चाहेको छ । तर, मौलिक धर्मका रूपमा युमा धर्मरसाम्यो रहेको भन्दै महासभाले लारूम्बामा अभ्यास भइरहेको कर्मकाण्ड र सँस्कारलाई हिन्दू प्रभावित जोसमनी पन्थ या शैव सम्प्रदायको संज्ञा दिएको छ । यसबीच, चुम्लुङले किरात धर्मको वकालत गरिरहेको छ ।

३. धर्मको विवादको चुरो

याक्थुङ समुदाय नेपालको ११ औँ ठूलो जाति हो । नेपालमा करिब साढे चार लाख जनसंख्या रहेको याक्थुङ समुदायमा पहिचानको प्रश्न सबैभन्दा घनीभूत रूपमा उठ्ने गरेको छ । राजनीतिक स्वायत्तताको आन्दोलनमा याक्थुङ सबैभन्दा क्रियाशील छ । लिम्बुवान आन्दोलन त्यसैको उदाहरण हो । पहिचानको एउटा आयाम साँस्कृतिक पहिचान पनि हो । सँस्कृति र आचरणहरूको पुञ्ज या समष्टिगत रूप धर्म हो । फेरि, याक्थुङ समुदाय खाजोङ(कर्मकाण्डरसँस्कार)मा आधारित समुदाय पनि हो । ५० देखि ६० को दशकसम्म चुम्लुङले पनि किरात धर्म भन्दै आएपनि परम्परागत सँस्कार सँस्कृतिलाई नै प्राथमिकता दिँदै आएको थियो । तर, पछिल्ला नेतृत्वहरूले धर्मलाई गम्भीरतापूर्वक लिएर हाकाहाकी निर्णय लिएपछि विवाद सुरु भयो । राजारानीको बैठक(२०७५)ले परम्परागत संस्था फेदाङ्मा, साम्बा, येबारयेमा र सेवा साम्बालाई समान मानेर किरात धर्मको पक्षमा उभिने निर्णय गरेपछि समुदायभित्र तिक्तता बढेको छ । वि.सं. १८७५ को नीति मान्ने र स्मृति मान्ने, वि.सं. १९८८ को सत्यधर्म मुचुल्कापछि याक्थुङ समाज अन्देखा विभाजनमा गइसकेको थियो । भलै दुवै पक्षले आआफ्नो ठाउँमा कर्मकाण्डको अभ्यास गरिरहेका थिए ।

४. धर्मबारे के भन्छ संविधान ?

गोरखाली राजा पृथ्वीनारायण शाहको असली हिन्दुस्तान, जङ्गबहादुर राणाको मुलुकी ऐनले नेपाललाई हिन्दूहरूको मुलुक करार गरेको थियो । संवैधानिक रूपमा नेपाल वि.सं. २०६५ जेठ १५ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष मुलुक घोषणा भयो । जनसाङ्ख्यिक हिसाबले अझै पनि हिन्दू धर्मावलम्बीहरू बहुमत छन। तर, संवैधानिक हिसाबले मुलुक धर्मनिरपेक्ष भएको छ । ०७२ को संविधानले पनि यसैलाई सदर गरेको छ । भाग-१ को धारा ४ मा भने प्रष्टीकरणमार्फत् सनातनी पालादेखिको धार्मिक साँस्कृतिक चलन तथा स्वतन्त्रता भनेर धर्मनिरपेक्षको व्याख्या गरेको छ । हिन्दूहरूले सनातनलाई प्रारम्भको आफ्नो धर्म बुझ्दछ । ठीक यस मेसोमा आदिवासी समूहहरूले आफ्नो परम्परागत र आदिम समयको सँस्कार, मूल्यमान्यता र आस्था बुझ्दछ । याक्थुङ समुदायमा अहिले चर्किएको बहसको विन्दू पनि यहीँ हो ।

५. चुम्लुङको नीतिगत अस्थिरता

सिद्धान्तः चुम्लुङ आदिवासी याक्थुङ लिम्बु समुदायको जातीय सामाजिक सङ्गठन हो । ३० वर्षको दौरानमा उसले आफूलाई अधिकारमुखी र आन्दोलनकारी शक्तिका रूपमा पनि उभ्याएको छ । नेपाल आदिवासी जनजाति महासङ्घले आफ्नो घटक संस्थाका रूपमा चुम्लुङलाई मानेको छ । भाषिक आन्दोलन, स्वायत्तताप्राप्तिको आन्दोलन, आदिवासी जनजाति अधिकारको आन्दोलनको मामिलामा चुम्लुङ अन्य जातीय संस्थाभन्दा अगाडि छ । तर, पछिल्लो समय घरभित्रकै संवेदनशील मुद्दामा छिप्लिँदै गइरहेको छ ।

लिम्बुवानप्राप्तिको कार्यनीतिक नारा लिएर चुम्लुङ आन्दोलित भएको २०६३ को महाधिवेशनदेखि हो । संयुुक्त लिम्बुवान मोर्चा नेपाल, सङ्घीयता कार्यान्वयन लिम्बुवान सङ्घर्ष समिति, आदिवासी जनजाति संयुक्त सङ्घर्ष समिति, संयुक्त लिम्बुवान सङ्घर्ष समिति, लिम्बुवान किरात सङ्घर्ष समितिसम्म आइपुग्दा लिम्बुवान प्राप्तिको आन्दोलनमा खोट लाउने ठाउँ छैन । तर, धर्मको बहस भइरहेको बेला चुम्लुङ मौन या तटस्थ रहेको भए विवादले सिर्जनात्मक रूप लिन्थ्यो । आखिरमा याक्थुङ समुदायले राज्यबाट सुविधा धर्मको जनसंख्याका आधारमा नभएर समुदायको सङ्ख्याका आधारमा लिने हो । समावेशी समानुपातिको आधार जातीय जनसंख्या हो । आस्था होइन ।

वि.सं.२०७१ बैशाख ११ देखि १३ गते चुम्लुङ नेपालको आयोजनामा लिम्बुवानको धरानमा भएको प्रथम अन्तर्राष्ट्रिय लिम्बु सम्मेलनले धर्मबारे बहस गरेको थियो । १५ राष्ट्रहरूको याक्थुङहरूको सहभागिता भएको सम्मेलनले धर्मबारे निर्देशनात्मक घोषणापत्र जारी गरेको थियो । पहिलो बुँदामै सनातनी मूल्यमान्यतामा आधारित याक्थुङ मुन्धुमले निर्दिष्ट गरेको सँस्कार सँस्कृति र कर्मकाण्ड मान्ने भनेर सम्मेलनले धर्मबारे सहजतापूर्वक ट्ङ्ग्याएको छ । धर्म व्यक्तिको आस्था र नैसर्गिक अधिकारसँग सम्बन्धित कुरा हो । चुम्लुङ सबै राजनीतिक र साँस्कृतिक आस्था, पेशा, पृष्ठभूमिको प्रतिनिधित्व गर्ने संस्था हो भने धर्मको विषयमा तटस्थ रहनुपर्छ ।

६. अबको विकल्प

धर्मनिरपेक्ष भए पनि नेपाल हिन्दू मूल्यमान्यताबाट निर्देशित संविधान र कानूनबाट शाषित देश हो । ०७२ को संविधान गैरहिन्दू आदिवासी जनजाति समुदायमैत्री छैन । बाँझिएका ऐन कानूनहरू प्रशस्तै छन् । संविधान संशोधनको मुद्दा अहिले चर्को रूपमा उठिरहेको पनि छ । साझा साँस्कृतिक आन्दोलनका लागि पनि चुम्लुङले सबै आस्थाहरूलाई ख्याल गरेर अघि बढ्नुपर्छ । जाति र भाषाको स्थिति निर्णायक तत्व हो । धर्म त मान्छेले स्वेच्छिक हिसाबले परिवर्तन पनि गर्न सक्छ । तर, रक्त सम्बन्ध र साँस्कृतिक अनुवांशिकताचाहिँ सक्दैन । चुम्लुङ याक्थुङ इतिहाससँग रक्त सम्बन्ध राख्ने समूहरूको सङ्गठन हुनुपर्छ ।

यदि, धर्मबारे नबोलेर धरै नपाउने स्थिति हो भने तटस्थ नीति या बहुधर्मको अवधारणा लिनुपर्ने हुन्छ । उदाहरणका लागि नेवार समुदाय । जहाँ बौद्ध र हिन्दू धर्मावलम्बीहरू समान छन् । नेवास्देय दबु, नेवास् मङ्क खलस्ले धर्म बारे उर्दी जारी गर्दैन । भाषा र सँस्कृतिले जोडिरहेको छ । मगर समुदायमा समेत हिन्दू, बौद्ध र बोन धर्म लेखाउनेहरू छन् । याक्थुङहरूको आफ्नै मात्रै जातीय धर्म हुन सक्ने जिकीर युमा साम्योवादीहरूको छ । यहूदी, शिख धर्म पनि जाति या सम्प्रदायकै धर्म हो । ुकिरातु मान्नेहरू हुन् या युमा धर्म मान्ने धार्मिक सहिष्णुताचाहिँ राख्नुपर्छ । आस्थालाई आँकडामा हेर्नुहुन्न । उसो त विश्वको ठूलाठूला धर्महरू भनेका इसाई र इस्लाम नै हुन । विश्वको धर्मको कुरा गर्ने हो भने प्रकृतिपूजक धर्म मान्नेहरू गौण रूपमा छन् ।

चुम्लुङले धर्मको नाममा भन्दा पनि समुदायको साँस्कृतिक मूल्यमान्यता, मौलिक दर्शन, कर्मकाण्ड, भाषिक साँस्कृतिक जागरण, प्राग-ऐतिहासिक मुन्धुमी स्थलहरूको संरक्षणमा ध्यान दिनु श्रेयस्कर हुन्छ ।

सम्बन्धित खवर

%d bloggers like this: