तेस्रो सताक्षी गोल्डकपः मच्छिन्द्रलाई अर्को सफलता - Sainokhabar

तेस्रो सताक्षी गोल्डकपः मच्छिन्द्रलाई अर्को सफलता

साइनो समाचारदाता

दमक । तेस्रो सताक्षी गोल्डकपको उपाधि मच्छिन्द्र क्बले जितेको छ । झापाको झिलझिलेमा भएको खेलमा थ्रिस्टार फुटबल क्बललाई पराजित गर्दै मच्छिन्द्रले उपाधि चुमेको हो । उपाधिसँगै नगद ६ लाख रुपैयाँ प्राप्त गरेको छ ।

आइतबार झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा भएको फाइनल खेलमा थ्रि स्टार फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै मच्छिन्द्र क्लब च्याम्पियन भएको हो । उपविजेताथ्रि स्टारले ३ लाखमा चित्त बुझायो । लिग सकिएको एक सातापछि सताक्षी गोल्डकपको तेस्रो संस्करणमा उनीहरु मोफसलको पहिलो उपाधिका लागि खेलेका थिए । खेलको तेस्रो मिनेटमा पाएको पेनाल्टी गोल नै मच्छिन्द्रलाई जितका लागि निर्णायक बन्यो । खेलको दोस्रो मिनटमा मच्छिन्द्रका अडेलाजा सोमिडेलाई पेनाल्टी एरियाभित्र थ्रि स्टारका अशोक खवासले लडाएपछि मच्छिन्द्रले पेनाल्टी पाएको थियो । त्यस्तै, नवौँ मिनेटमा विशाल राई ‘बि’ को प्रहार थ्रि स्टारका गोल किप्पर पूर्ण चेम्जोङले बचाए । २३ औँ मिनेटमा पेनाल्टी एरिया नजिकबाट थ्रि स्टारका लालरामको पहार बार छेवैबाट बाहिरियो । ३९ औँ मिनेटमा अशोक खवासको पासमा लालरामको हेडर बाहियिो । ४३ औँ मिनेटमा मच्छिन्द्रका गाल किप्पर विशाल श्रेष्ठ बिट भएको मौका लालरामले गरेको प्रहार रक्षक देवेन्द्र तामाङले गोल लाइन नजिकबाट उत्कृष्ट क्लियर गर्दै बराबरी हुनबाट जोगाए ।

खेलको ४६ औँ मिनेटमा रेजिन सुब्बाको पासमा विमल घर्ती मगरको प्रहार आकाशियो । ६१ औँ मिनेटमा दिपेश घलेको प्रहार आकाशियो । ६६ औँ मिनेटमा आन्द्रेसको हेडर रिबाउन्ड हुँदा विशाल राई ‘बि’ को प्रहार गोल किप्पर चम्जोङले पञ्च गरेर बचाए । ७४ औँ मिनेटमा मिक्चेनको फ्रिकिक प्रहार मच्छिन्द्रका खेलाडीको बारमा लागर फर्कियो । फाइनल खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका देवेन्द्र तामाङ भए । उनले नगद १० हजार पाए । प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्ट थ्रि स्टारका कप्तान विक्रम लामा भए । उनले नगद ५० हजार प्राप्त गरे । हाइ स्कोरर थ्रि स्टारकै सञ्जोग राई भए । प्रतियोगिताभरि दुई गोल गरेका उनले नगद २५ हजार पाए । प्रतियोगिताको उत्कृष्ट गोल किप्पर विजेता टिमका विशाल श्रेष्ठ, बेस्ट डिफेन्स मच्छिन्द्रका पिटर सेगुन, बेस्ट मिडफिल्ड थ्रि स्टारका रुपेश केसी, बेस्ट फरवाड मच्छिन्द्रका रेजिन सुब्बा र बेस्ट कोच विजेता टिमका प्रवेश कटवाल घोषित भए । उनीहरुले जनही २० हजार रुपैयाँ पाए । उदयीमान खेलाडीका रुपमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबका सञ्जीत राईलाई नगद २० हजार रुपैयाँ प्रदान गरियो । उनीहरुलाई प्रमुख अतिथि अखिल नेपाल फुटबल क्लब ९एन्फा०का अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, आयोजक अध्यक्ष रमश लावतीलगायतले नगद, ट्रफी तथा मेडल प्रदान गरेका थिए । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको आयोजक सतासीधाम स्पोर्टिङ क्लबका उपाध्यक्ष फुर्वा तामाङले बताए ।

सम्बन्धित खवर