दादुरा र रुबेला विरुद्धको खोप सुरु - Sainokhabar

दादुरा र रुबेला विरुद्धको खोप सुरु

साइनो समाचारदाता

पथरी । सन् २०२३ सम्ममा दादुरा रुबेला निवारण गर्ने उद्देश्यले फागुन ६ गतेदेखि अभियान थालिएको छ। फागुन ६ गतेदेखि २४ गतेसम्म अभियान थालिन्दैछ ।

मोरंगमा दुई चरणमा अभियान थालिएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले रंगेली, रतुवामाई, सुनबर्षी, कानेपोखरी, कटहरी, जहदा, धनपालथानमा फागुन ६ देखि १४ गतेसम्म प्रथम चरणमा अभियान सञ्चालन हुनेछ । दोस्रो चरण अन्तरगत विराटनगर, उर्लाबारी, बेलबारी, सुन्दरहरैचा, लेटांग, बढीगंगा, ग्रामथान, मिक्लाजुंग र केराबारीमा अभियान थाल्नेछ । अभियान फागुन १६ देखि २४ गतेसम्म सञ्चालन हुदैछ ।

मोरङको पथरी शनिश्चरे नगरपालिकामा दादुरा र रुबेला विरुद्धको खोप तथा पोलियो विरुद्धको औषधि खुवाउने कार्यक्रम बुधबारदेखि सुरु भएको छ । नगर प्रमुख दिलीपकुमार राईले जन्मेको ९ महिनादेखि ५ वर्षभित्रका बालबालिकालाई खोप लगाउने र औषधि खुवाउने अभियानको सुरुवात गरेका छन् । विद्यालयहरुमा केन्द्र बनाएर सञ्चालित कार्यक्रममा पहिलो दिन वडा नम्वर १ को एभरेष्ट, भूपु सैनिक, १० को जालपासिंहदेवी, हिरक, ५ को सहिद रामलक्ष्मण विद्यालयमा खोप लगाउने र औषधि खुवाउने काम गरिएको स्वास्थ्यकर्मी जगत मगरले जनाए । खोप लगाउने र औषधि खुवाउने कार्यक्रममा वडाका पायक पर्ने ३८ वटा विद्यालयहरुलाई केन्द्र बनाएर कार्यक्रम अघि बढाइएको छ । खोप लगाएपछि बालबालिकालाई खोप कार्ड समेत प्रदान गरिएको छ । दादुरा रुबेला एकप्रकारको भाइरसबाट हुने समस्याको निवारणका लागि १६ गतेसम्म अभियान सञ्चालन गरिने छ । ३ वर्ष अघि पूर्ण खोप सुनिश्चिताको मापदण्ड पुरा गरेको नगरमा एकैसाथ दादुरा रुबेलाको खोप र पोलियोको समेत औषधि खुवाइने कार्यक्रम तय भएको हो । ८० प्रतिशत हाराहारीमा खोप लगाएको अवस्था रहिरहेको नगरमा जन्मेको ९ महिनादेखि ५ वर्षभित्रका ५ हजार ५ सय ८९ बालबालिकालाई दादुरा रुबेलाको खोप र ६ हजार ६ सय ३० बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य बनाइएको छ ।

सरकारले सन् २०१९ सम्ममा दादुरा निवारण गर्ने लक्ष्य हासिल गर्न नसकेपछि दादुरा रुबेला खोप अभियान थाििलएको हो । सन् २०१८ देखि रुबेला रोग नियन्त्रण भएको छ भने दादुरा रोग निवारण उन्मुख छ । नियमित खोप तथा अभियानहरुमा बालबालिकालाई दादुरा–रुबेला खोप दिईएको कारण हाल नेपालमा विगतमा भन्दा दादुरा रुबेलाको रोगीहरुको दर ९५ प्रतिशत् ले घटेको छ । यद्मपी, अझैसम्म यो रोग हाम्रो देश लगायत विश्वमा पूर्णरुपमा निवारण भई सकेको छैन । हाम्रै देशको केहि ठाउँहरुमा हाल पनि दादुरा र रुबेलाको रोगीहरू देखा परिरहेको कारण यो रोगको संक्रमण फैलन सक्ने सम्भावना अझै रहन्छ । अभियानमा देशभरका ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाइन्छ । नेपाल सरकारले आगामी फागुन र चैत महिनामा दादुरा रुवेला खोप अभियान शुरु गर्दैछ । ३० लाख बालबालिकालाई खोप दिइन लागिएको छ । यस अघि दादुरा–रुबेलाको खोप लगाएको भएतापनि यो अभियानमा दादुरा–रुबेला खोपको थप एक मात्रा नछुटाई लगाउनु पर्दछ ।

सम्बन्धित खवर